१७ बैशाख २०८१, सोमबार

 

‘मर्जअघि सहकारीका विकृति नियमन गर्नुपर्छ’

किस्मतमणि श्रेष्ठ

अध्यक्ष, सदाबहार सहकारी

 

सहकारीसँगै समाजसेवामा पनि सक्रिय  हुनुहुन्छ, कसरी म्यानेज गर्नुभएको छ दुवैतिर ?

सहकारी व्यक्तिले नभई सिस्टमले सञ्चालन गर्ने कुरा हो । मैले उद्योग, व्यापार छोडिसकेको छु । सहकारीसँगै समाजसेवामा पनि समय दिइरहेकाे छु । सहकारीमा साथीहरूको साथ छ । समाजसेवामा परिवारसँगै साथीहरूले सघाउनुभएकाे छ ।

सरकारले अघि सारेकाे सहकारी मर्जको नीतिलाई कसरी लिनुभएकाे छ ?

सहकारीलाई सरकारले हेर्ने नीति र दृष्टिकाेण नै फरक छ । नीतिको कुरा गर्दा सहकारीलाई अर्थतन्त्रको महत्त्वपूर्ण हिस्सा भनिएकाे छ । तर दृष्टिकाेण त्यसअनुरूप छैन ।
सरकारले लिएको नीतिमा हामीले भनेका थियौं– कनिका छरेजस्तो, एकैघरमा ६–७ वटा सहकारीलाई सम्बन्धन नदिनू । भोलि सहकारीको भविष्य के हुन्छ भन्ने नै थाहा छैन, यसरी सम्बन्धन किन दिनु ? सहकारीभित्र विभिन्न प्रकारका विकृति छन् । त्यसलाई सरकारले नियमन गरेपछि हामी मर्जमा जान तयार छौँ ।

दृष्टिकोणकै कुरा गर्दा त सदस्यका पैसा खाएर भागेका सहकारी सञ्चालक पनि छन् नि ?

सहकारीमा सबै एकैनास हुँदैनन् । नराम्रा चिन्तन भएकाहरू पनि छन् । तिनकाे पहिचान गर्न सक्नुपर्छ । नजिकका मान्छे भनेर सहकारीमा मिसाउने, अनि पछि तिनैबाट गलत काम हुने गरेका छन् । ऋण लैजाँदा जीहजुरी गर्ने, तिर्ने बेला ‘पैसा खाइदिन्छु र ?’ भन्ने खालका पनि छन् । देशमा ३५ हजार ५ सय ५४ सहकारी छन् । तिनमा ६५ लाखभन्दा बढी सेयर सदस्य छन् । सहकारी र सदस्यलाई टाट पल्टाएर भाग्नेहरू केही मात्र छन् ।

गरिबलाई ऋण दिँदा धितो चाहिने, धनीलाई नचाहिने किन ?

योजनासहित आए हामी धितो नराखेर पनि ऋण दिन्छौँ । योजना छैन भनेचाहिँ धितो खोज्छौँ । धनी–गरिब भन्ने छैन

ब्याजमा पनि एकरूपता छैन नि ?

पहिलेजसो पनि चल्थ्यो । अहिले सरकारले १६ प्रतिशतभन्दा ब्याज लिन नपाउने गराएको छ । ६ प्रतिशतभन्दा बढीको निक्षेप र कर्जामा फरक पार्न नपाउने नियम छ । तर हामीले १० वर्षपहिले ४ प्रतिशतभन्दा बढी फरक नपर्ने गरी काम गरेका थियौँ । कतिपय सहकारी १ कडा १ हजार प्रतिशत ब्याज (मिटरब्याज) लिने पनि छन् । त्यस्तालाई सरकारले  कारबाही गर्नुपर्छ । ३५ हजारमध्ये आधा सहकारीका डबल खाता छन् । एउटा केही रकम देखाउने, अर्को साधारण खाता । सहकारी स्वायत्त संस्था भए पनि सरकारले छुट्ट्याएका सीमित १० वटा काेषमा भर पर्नुपर्ने अवस्था छ । अनि सेयरधनीलाई के दिने ? त्यसैले छुट्टै खाता सञ्चालन हुन्छन् ।

तपाईंकै सहकारीकाे अवस्थाचाहिँ के छ ?

सुरुवाती अवस्थाका साथीहरूलाई ब्याज केही महँगो भएको छ । उनीहरूले अहिलेसम्म ब्याज दिएका छैनन् । न त रिन्यु गर्न आएका छन् । भूकम्पपीडित, असहायजस्ता व्यक्तिलाई ११ प्रतिशत ब्याजमा ऋण दिने गरेका छौँ । त्यस्तै कर्मचारीलाई १२ प्रतिशत, विदेश जानेलाई १४ प्रतिशत छ ।

बचत तथा ऋण सहकारी र बहुउद्देश्यीय सहकारीमा के फरक छ ?

चार–पाँच जनालाई रोजगारी दिन्छु भनेर खोले त्यो बहुउद्देश्य सहकारी हुन्छ  । सीमित आर्थिक कारोबार र आफ्ना सदस्यबाट पैसा उठाएर सदस्यलाई ऋण दिने सहकारी बचत तथा ऋण हो ।

अरू कुन–कुन क्षेत्रमा आबद्ध हुनुहुन्छ ?

एसिया मानवअधिकार संस्कृति विकास मञ्च भन्ने संस्थामा आबद्ध छु । १५ वर्षअघि कोरियामा रहेका नेपाली साथीहरूले खोलेको संस्था हो । म पनि कोरिया बसेकाे थिएँ । यो संस्थामार्फत अप्ठ्याराेमा परेकाहरूलाई उपचार र काउन्सिलिङ गर्दै आएका छाैं । सकरात्मक सोचले काम गरे जोकोहीले पनि सहयोग गर्छन् ।

प्रतिक्रिया दिनुहोस्