१७ बैशाख २०८१, सोमबार

 

‘अब फोटो खिचेरै जीवन चल्न सक्छ’

फोटो पत्रकार बन्ने रहर कसरी पलायो ?

मलाई सानै उमेरदेखि फोटो पत्रकारितामा रुचि थियो । म बागलुङ गएका बेला विश्वकै होचा व्यक्ति खगेन्द्र थापाको फोटो खिचेर कान्तिपुरमा छपाएँ । फोटो छापिएपछि मलाई थप ऊर्जा मिल्यो ।
त्यसपछि फोटोग्राफीसम्बन्धी तालिमहरू लिएँ । केही वर्ष मिडियामा काम गरेपछि मोडलिङ फिल्डतिर लागेँ । अहिले मलाई मानिसहरू मोडलिङ फोटोग्राफर भनेर चिन्छन् ।
बागलुङमा हुर्केको मान्छे म । मलाई क्यामरा प्रति रुचि थियो । क्यामराले कसरी फोटो खिच्छ भन्ने कुरामा मलाई ज्यादै जिज्ञासा थियो । मैले बागलुडमा क्यामरा लिएर साथीहरुसँग फोटो खिच्ने तरीका बारे सिक्न थाले । पछि यो अभिरुचिलाई काठमाडौंमा आएर आधुनिक ढंगले सिके ।

फोटो खिचेर जीवन चलाउन सकिन्छ ?
फोटो पत्रकारिताको भविष्य उज्ज्वल छ । केही समस्या पनि छन् । फोटो पत्रकार एक नभएसम्म अवरोध आइरहन्छ । यसलाई चिर्न सकियो भने जीवन फोटो खिचेरै चल्छ ।

आफूले खिचेका फोटो स्रोत नखुलाई कपी गरिएको गुनासो फोटो पत्रकारहरूबाट व्यापक सुनिन्छ नि ?
यो एउटा चुनौती नै भएको छ । मैले विभिन्न सञ्चारमाध्यमका साथीहरूलाई कपी नगरिदिनुस्, गरे पनि स्रोत खुलाइदिनुस् भन्ने गरेको छु । केही साथीहरूले त्यसलाई कार्यान्वयन गर्नुभएको छ । केही साथीहरूले फोटो छापेपछि रकम जम्मा पनि गरिदिनुहुन्छ ।

अहिले आफ्नै अनलाइन सुरु गर्नुभएछ । कस्तो छ अनुभव ?
धेरै वर्ष अरू मिडियामा काम गरेँ । अहिले आफ्नै अनलाइन छ । त्यहाँ अरू अनलाइनमा भन्दा फरक चिज भेटिन्छ । आफैंले खिचेका सिंगर, एक्टर र मोडलहरूका फोटा राखेको छु ।

नयाँ पुस्तामा फोटो पत्रकारिताप्रतिको आकर्षण कस्तो छ ?
अहिले प्रविधिले फड्को मारिसकेको छ । त्यसो भन्दैमा बुझ्दै नबुझी एकैपटक यो क्षेत्रमा आउनेहरूलाई गाह्रो छ । तर, फोटो भनेको के हो, क्यामेरा कसरी चलाउने, स्टरस्पिड भनेको के हो भन्ने ज्ञान लिएर आए उसले राम्रो गर्छ ।

तपाईंले गरेको पत्रकारिता देश र समाजका लागि कत्तिको उपयोगी भयो भन्ने लाग्छ ?
लामो समय पत्रकारितामा लागेँ, यो देश र समाजकै लागि हो । पुराना मोडल, एक्टर, सिंगरका धेरै फोटो मैले लिएको छु । ग्ल्यामरदेखि नर्मलसम्म कुनै फोटो खिच्न मलाई अप्ठ्यारो लाग्दैन । सबैसँग नम्र व्यवहार गरेका कारण अहिले म परिचित छु ।

अश्लील फोटोसुट गरेर चर्चामा आउने होड पनि छ नि ?
फोटो खिच्नुभन्दा पहिले नै छलफल हुन जरुरी छ । कस्तो खिच्ने, कुन ठाउँमा गएर खिच्ने भन्ने पहिले नै टुंगोमा पु¥याउनुपर्छ । अश्लील फोटोकै कारण चर्चामा आउँछु भन्नु मूर्खता हो । फोटो पत्रकारिताको पनि अचारसंहिता छ । फोटोसुट गर्नेहरूले नियम बिर्से भने यस्ता फोटो आउने गर्छन् ।

अन्त्यमा ?
म पत्रकारितामा आउँदा मोडलका फोटो छाप्ने चलन भर्खरै सुरु भएको थियो । त्यति बेला इतिहासमै पहिलोपल्ट प्रेगनेन्सी फोटो प्रकाशित भएको थियो, साप्ताहिकमा । नेपालका अनलाइनका कुरा गर्दा व्यक्तिवादी छन् । मानिसहरूको चरित्र हत्या गर्ने काम यिनैबाट भएको छ । यसलाई नियमन गर्न सरकारले चासो दिनुपर्छ ।

(उनी फोटो पत्रकार समूहका पूर्वअध्यक्ष हुन् ।)

प्रतिक्रिया दिनुहोस्