३ श्रावण २०८३, आईतवार

 

जगदम्बाले खोल्यो मास्क उद्योग

कोरोना संक्रमण तीव्र भएसँगै नेपालमा एन ९५ र केएन ९५ मास्क उत्पादन गर्ने उद्योग स्थापना भएको छ। सिमेन्ट र डन्डीमा लगानी गर्दै आएको जगदम्बा समूहले उद्योगै खोलेर मास्क उत्पादन थालेको हो ।

२० करोड लगानीमा स्थापित जगदम्बा मास्क उद्योगबाट अहिले परीक्षण उत्पादन भइरहेको छ। यो उद्योग रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–४ मा छ।

उद्योग सञ्चालक साहिल अग्रवालले केही दिनभित्रै उत्पादित मास्क बिक्री सुरु गर्ने जानकारी दिए। ‘हामीले कोभिड–१९ महामारी सुरु भएपछि स्वदेशमै उच्च गुणस्तरको मास्क उत्पादनको योजना बनाएका थियौं।

उद्योग स्थापनाका लागि आवश्यक पूर्वाधार तयार नै थियो,’ उनले भने, ‘विदेशी मास्कको दबदबा रहेको देखेपछि देशभित्रै उत्पादनका लागि हामी जुटेका हौं।’ अग्रवालले मास्क उत्पादनका लागि आवश्यक मेसिनरीहरू फास्ट ट्रयाकमा ल्याएकाले लकडाउनकै अवधिमा उत्पादन गर्ने अवस्थामा आइपुगेको बताए ।

‘कोभिड–१९ बाट बच्न मास्क अनिवार्य लगाउनुपर्ने अवस्था छ। यो अवस्थामा विदेशी मास्क ल्याउनुभन्दा यहीँ किफायती मूल्यमा उपलब्ध गराउने सोचका साथ उद्योग स्थापना गरेका हौं,’ उनले भने । अग्रवालले उद्योगबाट उत्पादन भएको मास्क विदेशीभन्दा सस्तो हुने जिकिर गरे।

‘अहिलेसम्म मास्कको ब्रान्ड नेम र मूल्य निर्धारण गरिसकेका छैनौं,’ उनले भने, ‘तर हाम्रो मूल्य विदेशीभन्दा सस्तो हुनेछ।’ यो उद्योगले एन ९५ र केएन९५ मास्क ३ करोड र सर्जिकल मास्क ५ करोड वटा उत्पादन गर्ने लक्ष्य बनाएको छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung