२९ बैशाख २०८१, शनिबार

 

बैंकमा सुन थुप्रिएपछि आयात कोटा १० केजी घटाइयो

सरकारले सुनको दैनिक आयात कोटा २० केजीबाट १० केजीमा घटाएको छ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

अहिले बैंकमा २ सय ७५ केजी सुन थुप्रिएर बसेको बैंकर्स एसोसिएसनका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले बताए । माग न्यून हुँदा उक्त परिमाणको सुन बैंकमै थन्किएको हो ।

पछिल्लो एक सातामा ४५ केजी मात्रै सुन बिक्री भएको उनको भनाइ छ । जबकि सहज अवस्थामा दैनिक २५ केजीसम्म बिक्री हुने गरेको थियो । बैंकहरुले सुन दुबई, टर्की, स्विट्जरल्यान्ड लगायत देशबाट आयात गर्ने गरेका छन् । गत आर्थिक वर्षमा २४ सय ५२ केजी सुन आयात भएको भन्सार विभागको तथ्यांक छ ।

सो वर्ष १३ अर्बको सुन आयात भएको भन्सार विभागका सूचना अधिकारी शिशिर घिमिरेले जानकारी दिए । लगातार बढ्दै गएको सुनको मूल्य बुधबार प्रतितोला १ लाख १ हजार ४ सय रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बुधबार २ हजार १४.८५ डलर प्रतिऔन्स छ ।

वल्र्ड गोल्ड काउन्सिलले सन् २०२१ को अन्त्यसम्ममा सुन प्रतिऔन्स झन्डै ३ हजार डलरसम्म पुग्ने प्रक्षेपण गरेको छ । कोरोना महामारीका कारण विश्व अर्थतन्त्रमा पारेको असरका कारण सुन बजारमा लगानी गर्नेहरूको संख्या बढेकाले मूल्य बढेको हो ।

प्रतिक्रिया दिनुहोस्