
बागलुङ नगरपालिका वडा नम्बर ९ मा खानी अनुसुन्धान गर्ने विदेशी कम्पनीले सही ढंगले काम नगर्दा खानी वरपरका १८ भन्दा बढी घर जोखिममा परेको छ ।अहिले आधुनिक प्रविधिको प्रयोग गरी बागलुङ नगरपालिका वडा नम्वर ९ तित्याङमा तामा उत्खननका लागि अध्ययनको काम भईरहेको छ ।
पुराना खानी र त्यहाँ देखिने धाउको सङ्केतका आधारमा बागलुङ नगरपालिकाले तित्याङमा खानी सञ्चालनको पहल थालेको थियो । पहिलो नगरसभाबाट तित्याङमा खानी सञ्चालनका लागि अध्ययन गर्ने निर्णय गरेको नगरपालिकाले खानी विभाग र सरोकारवाला सबै मन्त्रालयसँग पहल गरेर १ वर्ष देखि अध्ययनको काम गरिरहेको छ ।
कोरोना भाइरस कोभिड १९ बिच बागलुङ नगरपालिका वडा नम्बर ९ तित्याङमा तामा खानी उत्खनन् तथा अनुशन्धानको काम तिब्र गतिमा अगाडि बढिरहेको छ ।
स्थानियबासी र अनुसन्धान कम्पनी विच राम्रोसँग समन्वय हुन नसक्दा अनुसन्धानको क्रममा विष्फोटक पदार्थ पड्काउँदा घरहरू जोखिममा परेको स्थानीय तारा जिसीले गुनासो गरेका छन् ।चीनको जोम्बिङ माइनिङ कम्पनीले बम डिस्पोज गरेपछि स्थानियका घरहरुमा असर पुगेको छ ।
सुरुवातमा ड्रिलिङ मेसिनले सुरुङ खन्ने बताएपनि अहिले सुरुङ भित्र बम विस्फोट गरेको स्थानियहरुबासिको गुनासो छ । स्थानियका डेढ दर्जन घर चर्केका छन् । बम विस्फोट गर्दा गाउँनै हल्लिएको र घरहरु भत्किने अवस्थामा पुगेको भन्दै मानविय सुरक्षाको प्रत्याभूति गरिदिन माग गरेको बलबहादुर खड्काले भने ।
खानीमा अनुसन्धानको लागि कम्पनीले बम विस्फोट गर्दा खानी वरिपरिका घरहरू चर्किन पुगेका मात्रै छैनन् बस्ती समेत जोखिममा परेको स्थानीय रोशन जिसीले जानकारी दिए ।
स्थानीयहरुको घरको इन्स्योरेन्स गरिदिने र अनुसन्धानपछि खानी उत्खन्न गर्नुपरेमा बस्ती व्यवस्थापन गरिदिने सहमति भए पनि कम्पनीले सहमति अनुसार काम गरेको छैन ।
सुरुवात समयमा ड्रिलिङ मेसिनले खन्ने निर्णय भएपनि विचमा कडा चट्टान परेको कारण विष्फोटक पदार्थ प्रयोग गरेको जनाएको छ ।खानीमा विवाद उत्पन्न नभइ नियमित काम गर्न पाएमा केही महिना भित्र अनुसन्धानको काम सम्पन्न गरिने कम्पनीले जनाएको छ । खानीभित्र हाल १ सय ३५ मिटर सुरुङ खनेको छ ।
सुरुङ भित्रको ल्याब टेष्ट गरेपछि कम्पनीले तयार पारेको प्रतिवेदन खानी विभागलाई वुझाउने छ । उक्त प्रतिवेदनको आधारमा खानी विभागले उत्खन्नको लागि स्विकृती प्रदान गर्नेछ ।
खानी विभागले खटाएका भूगर्भशास्त्री, इन्जिनीयर, चीनबाट आएका अध्ययनकर्ता लगायतले यहाँको अवस्थाबारे अध्ययन गरिरहेका छन् ।तामाको अध्ययनका लागि नेपाल सरकारको अनुमतिमा यहाँ आएको कम्पनीले परीक्षण प्रतिवेदन तयार भएपछि खानी सञ्चालनको तयारीमा लाग्ने बताएको छ ।
पहिलो चरणको परीक्षणमा मात्रै झण्डै चार करोड खर्च गरेको कम्पनीले खानी सञ्चालनका लागि एक अर्बको हाराहारीमा लगानी हुने जनाएको छ ।