१७ बैशाख २०८१, सोमबार

 

‘यहाँ राजाको तस्बिर टाँगिएको छ, त्यो एकदम ठीक कुरा भएको छ । तर त्यहाँ एउटा अर्को पनि तस्बिर हुनुपर्छ, एउटा हलो जोतिरहेको किसानको तस्बिर ।’ ( बीपीको अन्तिम अन्तर्वार्ता )

 बीपीको अन्तिम अन्तर्वार्ता

तपाईं नेपालमा कस्तो किसिमको आर्थिक व्यवस्था चाहनुहुन्छ ? र नेपालले आफ्नो विकास कसरी गर्न सक्छ भन्ने ठान्नुहुन्छ ?
म यससम्बन्धी मेरो विचार तपाईंलाई भनौंला । मेरो विचार उति स्पष्टसँग परिभाषित छैन । तर म त्यसतर्फ केही उज्यालो देख्छु । म त्यही उज्यालोतिर छामछुम गर्दै अघि बढ्दै छु ।

यसबारेमा अलि केही भन्न सक्नुहुन्थ्यो कि ?

म प्रधानमन्त्री छँदा एकपालि योजना आयोगको अफिसमा गएँ । योजनाविद्हरू बसिरहेको कोठाको भित्तामा राजाको एउटा तस्बिर टाँगिएको थियो । उनीहरूलाई मैले सम्बोधन गर्नु थियो तर मलाई ती योजनाविद्हरूलाई के भनौं भनेजस्तो भइरहेको थियो ।

ती सबै आर्थिक विशेषज्ञ थिए कि ?

अँ तिनीहरूमध्ये केही हार्वर्ड र केम्ब्रिज विश्वविद्यालयका उत्पादन पनि थिए । उनीहरूलाई मैले भनेँ, ‘यहाँ राजाको तस्बिर टाँगिएको छ, त्यो एकदम ठीक कुरा भएको छ । तर त्यहाँ एउटा अर्को पनि तस्बिर हुनुपर्छ, एउटा हलो जोतिरहेको किसानको तस्बिर ।’ उनीहरूलाई मैले यो पनि भनेँ, ‘तपाईंहरूले जहिले पनि विकासको योजना बनाउँदा त्यो झुपडीमा बस्ने किसानलाई सम्झनुहोस् र तपार्इंहरूले यहाँ बसेर बनाएको योजनाले राजालाई होइन कि त्यो किसानलाई के फाइदा दिन सक्छ भनेर आफैंसित प्रश्न गर्नोस् ।’

यो मेरो मौलिक विचार होइन, महात्मा गान्धीको विचार हो । म कुनै आर्थिक विशेषज्ञ होइन तर जुन विकासले ग्रामीण जनतालाई पछाडि छोडिदिन्छ त्यो विकास विकास नै होइन । मेरो विचारमा सहरको सुविधा मात्र हेर्ने र गाउँको बेवास्ता गर्ने विकास विकास हुँदै होइन । किनभने नेपाल गाउँ नै गाउँले बनेको देश हो ।

नेपालको गरिबी भन्नु पनि गाउँमै छ । गाउँ र गाउँलेहरूको अवस्थाबारे तपाईंलाई केही थाहा छैन भने गरिबीको समस्या बुझ्नेपट्टि पहिलो पाइलो सार्न सक्नुहुन्न । बडो उत्कृष्ट एवं जटिल प्रविधि भएका विकसित देशहरूबाट विकासको धारणा आयात गर्नु नै हाम्रा योजनाविद्हरूको गल्ती हो । विकसित देशहरूमा ठूलो सहरीकरण भएको छ । उनीहरूकहाँ त गाउँ पनि सहरजस्तै छन् ।

उनीहरूको कृषिमा पनि बडो उच्चस्तरीय प्रविधि प्रयोग भइरहेछ । नेपाली योजनाकारहरूलाई विकासको नमुना यिनै देशहरूले प्रदान गर्छन् । यदि योजनाकारहरूको बुद्धिमा उचित किसिमको परिवर्तन आएन र उनीहरूले विकासको परिभाषालाई बदलेनन् भने हामीले विकास प्रक्रियाको सुरुआत पनि गर्न सक्ने छैनौं ।

त्यहीँबाट नै हाम्रो बाटो छुट्टिन्छ । म योजनाकारहरूलाई गाउँ र गाउँलेको पक्ष लिन अनुरोध गर्छु । गाउँलेहरूका सम्बन्धमा सोच्न र उनै गाउँलेहरूले प्रयोग गरिरहेको प्रविधिमा केही मात्र सुधार गरिएको प्रविधि प्रयोग गर्न अनुरोध गर्छु । जस्तो कि साधारण हलोको ठाउँमा विकासको हलो प्रयोग गर्ने तर ट्याक्टर प्रयोग गर्ने होइन ।

ठूला–ठूला मेसिन, बुलडोजर, जेट इन्जिनहरूको प्रयोग गर्ने होइन । विदेशबाट आयात गरिएका गाडीहरूमा विदेशबाटै आयात गरेको तेल हालेर विदेशमै तालिम पाएका प्राविधिकहरूद्वारा ठूलाठूला सडकमा दौडाउन किन पर्‍यो र ? निर्माणकै काममा पनि सिमेन्ट या फलामका छड प्रयोग नगरेर विदेशी निर्भरता घटाउन सकिन्छ । योजनाकारहरूले कृषि–उत्पादन वृद्धि गर्ने कुरामा र कृषिजन्य उद्योगहरूको विकासमा पूरा जोड दिनुपर्छ ।

तपाईंलाई थाहा छ, दुई वर्षअघि म घाँटीको बेथा लागेर बम्बईको जसलोक अस्पताल भर्ना हुनुपर्‍यो । त्यहाँका डाक्टरहरूसित म जनताका स्वास्थ्यको समस्याबारे छलफल गर्थें । कुनै–कुनै डाक्टर जनताको सेवा गर्ने भावनाले ओतप्रोत भएका थिए ।

उनीहरूलाई मैले सोधें, ‘म सरकारमा भएको भए जनताको स्वास्थ्यको अवस्थामा सुधार ल्याउन के गर्नुपर्ला ?’ उनीहरूले मलाई भने, ‘जम्मा ८० देखि ९० प्रतिशत रोगहरू पानीको खराबीबाट हुने गर्छन् ।’ त्यस कारण पानीको राम्रो हिफाजत गरियो भने अर्थात् जनतालाई सफा पिउने पानी दिन सकियो भने ८० प्रतिशत रोगहरूबाट उनीहरूको रक्षा हुन सक्नेछ ।

विदेशमा तालिमप्राप्त डाक्टरहरूले भरिएको जसलोक अस्पतालजस्ता अस्पताल पनि चाहिँदैनन् । पानीबाट आफ्नो समस्याको समाधान थाल्नोस्, कुनै कठिनाइ हुनेछैन । त्यस कारण मेरो सुझाव के छ भने पहिला हामीले ग्रामीण जनतालाई सफा र सुरक्षित पानी पिउने व्यवस्था मिलाइदिनुपर्छ ।

उनीहरूलाई आफ्नो गाउँ सफा राख्ने प्रेरणा दिने हो, महँगो अस्पताल बनाइदिने हैन । त्यसको खर्च बेहोर्न हामी गरिब जनता कदापि सक्दैनौं । तर स्वास्थ्यको मुख्यमुख्य आवश्यकता पूरा गर्न हामी सक्छौं । मैले भन्न खोजेको कुरा के हो भने विकसित देशको चकाचौध देखेर हामी नबहकिऔं र विकासको प्रश्नमा भावुक नहोऔं ।

विकासको काममा पहिला हामी गाउँको माटोले आफ्ना हात मैल्याऔं जुन माटोले नेपाल बनेको छ । भोलाजी, तपाईं यसलाई ग्रामीण सभ्यता या ग्रामीण संस्कृतिका रूपमा परिणत हुने कुरा भनेर मान्न सक्नुहुन्छ ।

 निश्चय ! तपाईंले भनेको कुरा सुन्दा मलाई पोल पोटको प्राथमिक साम्यवादको सम्झना भयो ।

अहँ होइन । पोलपोटको जस्तो होइन । पोलपोटले जबरजस्ती गर्छन् । साँच्चै भनूँ भने पोलपोटले सहरका जनतालाई सहरबाट बलजफ्ती निकालिदिए र गाउँतिर लघारे । नोम पेन्ह र अरू धेरै सहरबाट मानिस निकालिदिए । त्यो त भयंकर अप्रजातान्त्रिक कुरा हो ।

मैले तपाईंको कुरा बुझेँ । तपाईं प्रजातन्त्रमा जोड दिन चाहनुहुन्छ । अर्थात् तपाईं जे पनि प्रजातान्त्रिक तरिकाले गर्न चाहनुहुन्छ जुन कि जनताको स्वीकृति लिएर मात्र गरिन्छ र सबैभन्दा महत्त्वपूर्ण कुरो त्यही हो । होइन ?

हो । विकासको जुन नमुना अमेरिकाले देखाएको छ त्यसलाई मैले हेनरी फोर्डको नमुना भन्ने गरेको छु । यो नमुनालाई रूसले समेत ग्रहण गरेको छ । लेनिनले सत्ता लिँदा उनको विकास नमुना त्यही थियो ।

उनी सधैं भन्थे कि रूसले १०/२० वर्षमा अमेरिकालाई भेट्टाउनेछ । अचेल पनि रूसीहरू आफ्नो विकासलाई अमेरिकाकै विकाससित दाँजेर हेर्छन् । उनीहरूको विकास नमुना अमेरिकाले दिएको हो र त्यो नमुना अमेरिकालाई हेनरी फोर्डले दिएका थिए । अब हेर्नोस्, अमेरिकाको जनसंख्या संसारको पूरा जनसंख्याको जम्मा ६ प्रतिशत मात्र छ ।

हालको सम्पन्न अवस्थामा अमेरिकीहरूले संसारको प्राकृतिक स्रोत र प्रसाधनको ३०/३५ प्रतिशत भाग उपभोग गरेका छन् । त्यही नमुनाको पछि लागेर उसै किसिमले भोग गर्न थाल्ने हो भने भारत र चीनका जनतालाई मात्रै पनि संसारको साधनले पुग्दैन । भारत र चीनको जनसंख्या संसारको पूरा जनसंख्याको ६० प्रतिशत होला ।

त्यस कारण विकासको यो नमुना आफ्नै तर्कद्वारा अव्यावहारिक र अप्रासङ्गिक सिद्ध भएको छ । मलाई अमेरिकाको कोलम्बिया विश्वविद्यालयमा भाषण दिन बोलाएका थिए र त्यहाँ मैले यो कुरो अमेरिकीहरूलाई सुनाउँदा उनीहरू झसङ्ग भए । हाम्रा किसानहरू अथवा हरियाणा र पन्जाबका किसानहरू अमेरिकी किसानहरूभन्दा धेरै सक्षम र उत्पादनशील छन् भनेर मैले भनेँ ।

वास्तवमा सक्षम हुने भनेको के हो ? लगानी र उत्पादनको सुसम्बन्ध हुनुपर्छ । अमेरिकीहरूलाई मैले भनेँ, तपाईंका किसानहरू खेतमा भयंकर खर्च गरेर महँगो मल हाल्छन् तर प्रतिएकड अन्न उत्पादन भने हरियाणा र पन्जाबमा बढी हुन्छ, त्यसका लागि लगानी भने अमेरिकामा भन्दा कमै हुन्छ । नेपाली किसानले पनि आफ्नो सीमित सामग्रीको उपयोग गरेर तपाईंका किसानहरूले भन्दा बढी अन्न उत्पादन गर्न सक्छन् । तपाईंहरूको यहाँ इन्धनको नोक्सानीको समस्या छ ।

तपाईंहरूको अर्थतन्त्र तेलमा आधारित छ जो अक्षय छैन । तपाईंहरूले आफ्ना यन्त्रहरूलाई अर्कै किसिमका नबनाउने हो भने यो शताब्दीको अन्त्यसम्ममा तपाईंहरूको अर्थतन्त्र धराशायी हुनेछ ।

यन्त्रहरूलाई बदल्ने प्रक्रियामा तपाईंहरूका वैज्ञानिकहरू र तेस्रो विश्वका वैज्ञानिकहरू एउटै स्तरमा छन् । सौरशक्तिको प्रयोग गर्न ठूलो सफलता हासिल भएका खण्डमा अमेरिकाभन्दा भारत बढी सम्पन्न हुन सक्छ । किनभने अमेरिकाभन्दा भारतमा सौरशक्ति बढी उपलब्ध हुन सक्छ ।

तपाईं द्वन्द्वात्मक भौतिकवादमा विश्वास गर्नुहुन्छ ? अर्थात् इतिहासको भौतिकवादी विश्लेषणसित तपाईं सहमत हुनुहुन्छ ?

तपाईंको दोस्रो प्रश्नको पहिले उत्तर दिन्छु र भन्छु ‘अहँ ।’ सारांशमा म त्यसलाई अस्वीकार गर्छु यद्यपि त्यसमा कत्तिपनि सत्य छैन भनेर भन्दिनँ । मानिस बहुआयामिक प्राणी हो । मार्क्सले के गल्ती गरे भने मानिसलाई उनले एक आर्थिक प्राणीका रूपमा सृष्टि गरे जो आफ्नो आर्थिक जीवनसित मात्र सरोकार राख्छ ।

त्यसमा सत्य छैन भनेर म भन्दिनँ तर मानिसको त्यो एउटा अपूर्ण चित्र हो । मानिस आर्थिक प्राणी हो र त्योभन्दा बढी पनि केही हो । के कुरो बढी छ उसमा ? तपाईं भन्नुहोला मानिस ईश्वरको सृष्टि हो । हो, मलाई लाग्छ त्योभन्दा पनि बढी केही हो । मानिसका अनेकौं आयाम छन् । अर्को कुरो मानिस केवल भोजनको लोभले मात्र अभिप्रेरित भइरहँदैन ।

पेट मात्रै उसका सारा क्रियाकलापहरूको प्रेरक हैन । पेटभरि खान मात्र पाइन्छ भन्ने नाराले आजसम्म कुनै आन्दोलन भएको छैन । सन् १९१७ मा रूसमा जुन समाजवादी क्रान्ति भयो त्यो पनि रोटीका लागि मात्र भएको थिएन, त्योभन्दा केही उच्च कुराका लागि क्रान्ति भयो, समानताका लागि ।

मानिस केही मात्रामा इतिहासको उत्पादन हो भने केही मात्रामा इतिहासबाहिरका तत्त्वहरूको पनि उत्पादन हो । मानिस सृष्टि हुनुअघि पनि उसलाई चाहिने कुराहरू प्रकृतिले दिइरहेको थियो । जस्तो पानी, खानेकुराहरू, घाम, हावा इत्यादि ।

एउटा भ्रम छ कि मानिसले समाज बनायो तर मानिस आउनुभन्दा अघि पनि समाज थियो । इतिहास भने मानिस आएपछि नै बन्न थाल्यो । जहाँसम्म मानिसको सरोकार छ, समय भन्ने कुरा पनि मानिस संसारमा आएपछि बनाइएको हो ।

तपाईं ऐतिहासिक निर्णयवादमा विश्वास गर्नुहुँदैन, हो ? अर्थात् सबै कुरा ऐतिहासिक नियतिले पूर्वनिर्धारण गरेको हुन्छ भन्ने कुरो मान्नुहुन्न ?

ऐतिहासिक नियतिमा विश्वास गर्ने हो भने अर्थात् सबै कुरो इतिहासले निर्धारण गरेबमोजिम नै हुने हो भने हाम्रा सारा प्रयत्न एउटा निरर्थक अभ्यास मात्र हुन जान्छन् । यो एउटा बडो चाखलाग्दो कुरो छ ।

माक्र्सको दर्शन अनुसार मानिसको मत स्वतन्त्र छैन, पूर्वनिर्धारित छ । अर्थात् मानिस जुन सामाजिक वर्गको सदस्य हुन जान्छ त्यसैबमोजिम उसको मनस्थिति निर्धारित हुन्छ भन्ने उनको राय छ । तर यो विडम्बना हो कि मार्क्स उसबेलाका सबैभन्दा ठूला पर्चाबाज थिए । यदि मानिसको मन स्वतन्त्र हुँदैन अथवा बदलिन सक्दैन या भनौं, पूवर्निर्धारित हुन्छ भने उनले कसको मन बदल्नलाई पर्चा लेखेका थिए त ?

प्रतिक्रिया दिनुहोस्