१७ बैशाख २०८१, सोमबार

 

हाम्रो पालामै सम्भव छ विकसित र सुन्दर बागलुङ नगर

म विकासलाई मानिसको आनीबानीसँग जोडेर हेर्छु । धेरै देशको विकासलाई नजिकबाट नियालेको पनि छु । देश विकासमा उद्योग, व्यापार, कृषि, पर्यटन र सेवामूलक क्षेत्रहरूको ठूलो योगदान रहन्छ । तर हाम्रो जस्तो देशमा एउटा महत्त्वपूर्ण हिस्सा भनेको वैदेशिक रोजगारीमा जाने युवा र उनीहरूले पठाउने रेमिट्यान्स पनि हो ।

रेमिट्यान्सको पैसामा मेहनत र पसिना मात्र छैन, कलिला युवाको रगत र प्राण पनि मिसिएको छ । विकास कुनै अमूर्त चिज होइन । यो भौतिक वस्तु मात्र पनि होइन । यसमा नागरिक र शासन प्रणालीको अपनत्व र भागीदारी चाहिन्छ । त्यसैले जनसहभागिता, उपभोक्ता समिति र दिगो विकासको अवधारणा आएको हो ।

तर हामीले यसको सदुपयोग गर्न सकेका छैनौं । नेतृत्व, जनता, शासन–व्यवस्था र विकास प्रशासन सँगसँगै जाने चिज हुन् । हामीले यसको वास्तविक रूपमा परीक्षण गर्न पाएका छैनौं । जनताको आर्थिक अवस्था, अपेक्षा र विकासको रफ्तारमा तालमेल मिलेको छैन । जनताको माग एकातिर, हाम्रो नगरको योजना अर्कातिर छ ।

धेरै जनप्रतिनिधिलाई के लागेको छ भने जनता भनेका लोकतन्त्रमा भोट हाल्नलाई मात्र हुन् । त्यसैले जति पनि विकासका परियोजना छन्, तीमध्ये केहीलाई छाडेर धेरैजसो नगरवासीको चाहनाभन्दा लाभहानिमा केन्द्रित भएको जनगुनासो छ । ०६२ को जनआन्दोलन यसका लागि थिएन ।

हामीले जनसहभागितामा आधारित लोकतन्त्र, पारदर्शिता, जवाफदेहिता र दिगो विकासको मुद्दा उठाएका थियौं । जुन २००७ सालको राजनीतिक उपलब्धिले पनि नेपाली समाजलाई दिन सकेको थिएन ।

त्यसैले बीपीले विकासको कुरा गर्दा किसान, उसको जमिन र उसका बस्तुभाउको विषयलाई जोड दिनुभएको हो । एउटा किसानका लागि भैंसी, गोरु र सानो खेत नै उसको संसार हो ।

एक युवकका लागि पढ्ने अधिकार र उसको जागिरको पारिश्रमिक नै ठूलो हो । त्यस्तै एक व्यवसायीलाई उसको व्यापार र उसको सानो पसल नै ठूलो हो ।

त्यो अरूसँग तुलना हुन सक्दैन । बागलुङ नगरपालिका प्रत्येक वडा र गाउँ जाँदा मलाई के लाग्यो भने जनता मेहनती छन् । आफ्नै मेहनत र परिश्रमको बलमा परिवारको वर्तमान र भविष्य बनाउन लागिपरेका छन् ।

उनीहरूको खासै ठूलो माग केही छैन । जनता चाहन्छन्– सरकारी कार्यालयमा छिटो सुविधा पाइयोस, अस्पताल र स्वास्थ्य–चौकीहरूमा गुणस्तरीय सेवा पाइयोस् । बजारमा वस्तु सहज र उपयुक्त मूल्यमा पाइयोस् । बाटो राम्रो होस् ।

आफ्नो उत्पादनको बजारमा सही मूल्य पाइयोस् । विद्यालय र क्याम्पसमा राम्रो पढाइ होस् । युवा चाहन्छन्– उनीहरूको योग्यताअनुसार काम पाइयोस् । शुद्ध पिउने पानी, सफा र सुन्दर नगर ।

यी सबै माग र आवाज आधारभूत खालका छन् । इच्छाशक्ति राख्ने र आफ्नो जिम्मेवारीका सबै काम इमानदार भएर गर्ने हो भने हामीले गर्न सक्ने धेरै छ । हामीले मोटरबाटो आएको ३० वर्ष हुँदा पनि सुविधासम्पन्न बसपार्क दिन सकेका छैनौं । हाम्रो नगर, समग्रमा बागलुङकै सडकको अवस्था हेर्दा सन्तोष गर्ने ठाउँ छैन ।

तत्कालीन मेयर ऋषिरामले ल्याएको रिंगरोडको काम अझ सम्पन्न गर्न सकेका छैनौं । बागलुङ नगरपालिका बेथिति, अनियमितता, अराजकता र भ्रष्टाचारले आक्रान्त हुँदा नगरबासीलाई घोर निराशाले छोपेको छ ।

जुन घोषणापत्र लिएर जनतामाझ गयौं, त्यसलाई हामीले भुलेकै हौं ? जनताका नाममा हामीलाई जे गर्ने पनि छुट छ ? के हामीले कल्पना गरेको संघीयता र विकेन्द्रीकरण यही हो ?

बागलुङको विकासले बागलुङ नगरलाई मात्र होइन, जिल्लाका सबै स्थानीय तहदेखि रुकुम हुँदै दाङ अनि तराईसम्म छु्न्छ । हामीले रात्माटादेखि बिहुँसम्म सडक पिच गर्न सरोकारवालासँग समन्वय नगर्दा त्यसको प्रभाव बागलुङ बजारको व्यापार, स्वास्थ्यलगायत क्षेत्रमा प्रभाव परेको छ । गलकोटमा बुटवलदेखि सामान आउँछ । बागलुङ नगरको व्यापार धेरै खुम्चिएको छ ।

जनप्रतिनिधि र विकास रणनीति

जनप्रतिनिधिको काम र कर्मचारीको काममा फरक छ । जनप्रतिनिधिको काम जनअपेक्षा साकार पार्ने विकासको सही रणनीति, आधुनिक विकास प्रशासनको खाका बनाउने, रोजगारी सिर्जना हुने खालको आर्थिक योजना बनाउने, जनताको माग र गुनासो सुन्ने हो ।

हामी आफैं अनुशासनमा बसेनौं भने को बस्छ, अनुशासन र नियम–कानुनमा ? हामीले अहिलेसम्म बागलुङ बजारमा सिटी हल, भूमिगत ढल, उपयुक्त पार्किङ, र फराकिलो सडक र पर्यटकीय गन्तव्यसम्म पुग्ने राम्रो पूर्वाधार बनाउन सकेका छैनौं । यसमा हामीले ध्यान दिनुपर्ने कुरा गाउँ र सहरबीचको सन्तुलन हो ।

हामीले सबै वडा कार्यालयहरुलाई सुविधा सम्पन्न बनाएर जनताको धेरैं माग वडा कार्यालयबाटै सम्बोधन हुने खालको बनाउँनु पर्छ ।वडालाई भौतिक पूर्वाधार र विकासको हिसाबले विशेष महत्व दिएर जनताको आधारभुत आवश्यकताहरु वडामै पुृरा हुने खालको नगरविकासको दिगो योजना ल्याएर लागु गर्नु पर्छ ।

हाम्रो मुख्य लक्ष्य विकास मात्र होइन, गरिबी निवारण पनि हो । हामी सधैं माग्ने मात्र होइन, दिने हैसियतमा पुग्नुपर्छ । सहरी विकास र ग्रामीण विकास अलग तर एकअर्कासँग जोडिएका विषय पनि हुन् । हाम्रो नगर विकास, मेलमिलापमा मात्र होइन, संस्कृति र बौद्धिक जागरणको केन्द्र पनि बन्नुपर्छ ।

मेरो विचारमा विकास आधुनिक तर संस्कृतिमा आफ्नैपन हुनुपर्छ । पुरानो बजार र नयाँ बजारको व्यवस्थापन फरक ढंगले गर्नुपर्छ । बजारलाई व्यवसायको केन्द्र बनाएर आवासीय क्षेत्र फरक ठाउँमा व्यवस्था गर्नुपर्छ ।

लमगाउँ, कुँडुले, रात्माटा, ओढारचौर, लामाचौर, तीनतले, सिगाना, मूलपानी, भकुन्डे, तित्याङलगायतलाई व्यवस्थित आवास क्षेत्रको रूपमा विकास गर्न सकिन्छ ।

हाम्रा खोला र नदीलाई पर्यटकीय क्षेत्रका रूपमा अगाडि बढाउन हामीले तिनका किनारमा रिसोर्ट, रेस्टुरेन्ट, कफी सप, ग्यालरी, पुस्तक पसल राख्न सक्छौं । धेरै धनी राष्ट्रहरूमा हामी जाँदा यसरी नै विकास अगाडि बढाएको देखेका छौं । मालढुंगाको पुल र अरू झोलुंगे पुलहरूमा हामीले यही सम्भावना खोज्नुपर्छ ।

देउराली चोकदेखि खहरेसम्मको बाटोलाई फराकिलो बनाउनुपर्छ । सार्वजनिक यातायात, निजी यातायात र मालवाहक सवारी गुड्न बाटो फरक हुनुपर्छ । मालवाहक सवारी गुड्ने बाटो नगरको मुख्य भाग र अरू सवारीसाधनलाई सहायक र भित्री बाटोबाट गुडाउने व्यवस्था गर्नुपर्छ । ट्राफिक सेवा र व्यवस्थापन उच्च प्रविधिमा आधारित हुनुपर्छ ।

रायडाँडा,भकुण्डे,तित्याङ,सिगाना गाउँलाई कृषि,फलफूल,शिक्षा,ग्रामीण पर्यटन र पशुपालन क्षेत्रको रुपमा अगाडि बढाउन सक्छौ । त्यसको लागि किसानहरुको अनुभव र अभ्यास योजना बनाउदा हामीलाई काम लाग्छ ।

यसको लागि गाउँ गाउँमा गएर जनता, महिला दिदी बैनीहरु र युवाहरुको चाहाना, सपना र आवश्यकताको बारेमा सुक्ष्म ढंगले अध्ययन र छलफल आवश्यक छ ।अरु गाउँहरुको पनि यस्तै संम्भावना र अवसर खोज्नु पर्छ ।

शैक्षिक पाठ्यक्रममा स्थानीय सभ्यता

हाम्रो पुर्खाको इतिहास र कालीगण्डकी सभ्यतालाई विद्यालयको पाठ्यक्रममा समावेश गर्नुपर्छ । शिक्षालाई पेसा–व्यवसायमा ढालेर त्यसलाई आजको आवश्यकता र चुनौती सामना गर्दै श्रम गरेर खान सक्ने उपयोगी र नैतिक रूपमा पूर्ण संस्कारयुक्त बनाउन सक्नुपर्छ ।

विद्यालयको शिक्षा बालविकासदेखि नै सृजनशील र श्रमप्रति उपयोगी बनाउनुपर्छ ताकि विद्यालय र क्याम्पस छोडेका विद्यार्थीले पनि काम गरेर खाने वातावरण बनोस् ।

हाम्रो नगरमा पञ्चायती व्यवस्थादेखिकै धेरै सरकारी भवन र जग्गा अव्यवस्थित रूपमा छन् । रातमाटामा रहेको भवन त्यतिकै खाली बसेको छ । राज्यको ठूलो धनराशि लगानी भएको भवन विनाप्रयोजन राखिनु ज्यादै दुःखद छ । त्यसको उपयोग गर्न सकेको भए राज्यको धेरै रकम जोगाउन सक्छौं ।

हामी किन मितव्ययी हुन सकेनौं ? हामी आफूलाई कम्युनिस्ट–ؘकांग्रेस भन्ने गर्छौं तर हामीमा सामान्य देशभक्तको जत्तिको चरित्र पनि देखिएन । यसरी हामी कसरी समाजवादमा पुग्छौं ? हाम्रो नेतृत्वले संविधानमा त समाजवाद–उन्मुख समाजको कल्पना गरेको छ ।

हामीले स्वास्थ्य, सञ्चार, सडक, खानेपानी, सिँचाइ, पशुपालन, फलफूल, जडीबुटी, कृषि, सहकारी, वनलगायत सबै क्षेत्रलाई जनताको आवश्यकताअनुसार आधुनिक बनाउनुपर्छ । जनताको जीवनस्तर माथि उठ्ने खालको नगर–योजना चाहिन्छ ।

कोरोना चुनौती र पर्यटकीय सम्भावना

कोरोनाको कहर हाम्रो देशमा पनि लामै रहलाजस्तो छ । यस्तो महामारीसँग जुध्न हामीले एउटै हेडक्वाटर बनाई अध्ययन–अनुसन्धान अगाडि बढाउनुपर्छ ।

यसका विज्ञ, वैज्ञानिक, निको भएका बिरामी र चिकित्सक–स्वास्थ्यकर्मीको अनुभव हामीलाई काम लाग्न सक्छ । भविष्यमा पनि यस्ता महामारीबाट मानव सभ्यतालाई बचाउन यस क्षेत्रमा ठूलो लगानी आवश्यक छ । म यस बेला ज्यान जोखिममा राखेर खटिने सबैप्रति उच्च सम्मान प्रकट गर्छु । उहाँहरू नहुँदा कोरोना रोकथाम र नियन्त्रण सम्भव छैन ।

यससँगै खेलकुद, साहित्य, कला, विज्ञान, संगीत र धर्मलाई हामीले नगरको विकास, उन्नति, प्रतिष्ठा र गौरवसँग जोड्नु पर्छ । हाम्रो नगरमा धेरै मन्दिर, कोट–धुरी र अन्य गन्तव्य छन् ।

यिनको सही उपयोग हुन सकेको छैन । पर्यटन क्षेत्रका साथीहरूले खाका बनाउन लगाई सबै गन्तव्यस्थलको दिगो विकास र प्रचारप्रसार गर्नुपर्छ । त्यसो भएमात्र त्यसको प्रतिफल सबैले पाउँछन् ।

कालिका भगवती र पञ्चकोटजस्ता धेरै सम्भावना बोकेका स्थलहरू छन् । यिनको जगमा ग्रामीण पर्यटन र होमस्टेले आफूलाई विकास साझेदारका रूपमा पाउनेछन् । व्यावसायिक संस्थाहरूसँग नगरले सार्वजनिक–निजी साझेदारीको कार्यक्रम ल्याएर उद्योग, व्यापार, वित्तीय अवस्था फस्टाउने वातावरण बनाउनुपर्छ । सीसी क्यामराको व्यवस्थापनदेखि वित्तीय सुरक्षाको अवधारणा ल्याउनुपर्छ ।

बलेवा विमानस्थल र त्यस क्षेत्रलाई हामीले पर्यटन,शिक्षा, कृषि, पशुपालन र विभिन्न जिल्ला जोड्ने मार्गको रुपमा विकास गर्न सक्छौ । त्यसको लागि जनताको मेहनत,अपनत्व र युवाहरुको सृजनशिलतालाई हामीले गाउँको विकासमा सदुपयोग गर्नु पर्छ ।

यी सबैको योगफलबाट मात्र हामीले आधुनिक र सभ्य बागलुङ नगरपालिका नयाँ पुस्तालाई दिन सक्छौं । हाम्रो देश विकसित र समृद्ध बन्ने यसै गरी हो । हाम्रो सपना अनि हरेक सरकारको लक्ष्य पनि यही हो ।

लोकतन्त्रको मूल मन्त्र जनताको सेवा अनि जनतासँगको संवाद हो । यति बेला हाम्रो दैनिक जीवनमा यो पद्धति कमजोर र निष्क्रिय अवस्थामा छ । अब मैले यसलाई तोडेर अगाडि बढ्ने कार्यक्रम ल्याएको छु ।

जनता र नगरवासीसँग हातेमालो गरेर सपना साकार पार्न लाग्नेछु । कुनै जनप्रतिनिधिले जनअपेक्षाअनुसार काम नगरी गलत बाटोमा हिँड्छ भने त्यसको खबरदारी गर्ने र जनताको विकासको सपना पूरा गर्ने जिम्मा हामीले आफ्नो काँधमा लिनुपर्छ ।

( श्रेष्ठ बागलुङका कांग्रेस जिल्ला समिति सदस्य,  बागलुङ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष र धौलागिरि बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका पूर्वसभापति हुन् । )

( मुकेशचन्द्र राजभण्डारीसँगको कुराकानीमा आधारित )

प्रतिक्रिया दिनुहोस्