२२ बैशाख २०८१, शनिबार

 

धौलागिरि अस्पतालमा ‘पाहुना’ चिकित्सक ! हाजिर भएको ६ दिनमै हिँडिन् स्त्रीरोग विशेषज्ञ

स्त्रीरोग विशेषज्ञ डा. निशा खरेललाई स्वास्थ्य मन्त्रालयले भदौ १५ गते बागलुङस्थित धौलागिरि अस्पतालमा सरुवा ग¥यो । विशेषज्ञका रूपमा नियुक्त गरिएकी उनी अस्पताल हाजिर भइसकेकी थिइनन् ।

फेरि भदौ २५ मा मन्त्रालयको सचिवस्तरीय बैठकले उनलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सरुवा ग¥यो । तैपनि उनी असोज १ मा धौलागिरि अस्पतालमै हाजिर हुन आइन् ।

एक महिनादेखि स्त्रीरोग विशेषज्ञ नरहेकाले अस्पताल व्यवस्थापन समितिका पदाधिकारी नै उनलाई लिन गए । अस्पतालमा असोज १ मा उनको नियुक्ति ५१ नम्बरमा दर्ता भयो । तर, असोज ६ मा मन्त्रालयले उनको पोखरा नै सरुवा भएको जनाएपछि उनी बुधबार त्यतै लागेकी छन् ।

उनलाई सरुवा गर्दाका दुवै पत्रमा एउटै बेहोरा ‘मेडिकल काउन्सिलको विशेषज्ञ चिकित्सक दर्ता भएको प्रमाणपत्र प्राप्त भएपछि सोहीअनुसार हुने गरी’ लेखिएको छ ।

सरकारी शिक्षण संस्थामा चिकित्साशास्त्र छात्रवृत्ति छनोट तथा छात्रवृत्तिप्राप्त विशेषज्ञ चिकित्सक परिचालन कार्यविधि २०७२ अनुसार अध्ययनपूर्व भएको कबुलियतनामाकै आधारमा उनलाई धौलागिरि अस्पतालमा पदस्थापन गरिएको मन्त्रालयको पत्रमा छ ।

अस्पताल व्यवस्थापन समितिका सदस्य शालिकराम शर्माले दुर्गमको अस्पताल भनेर मन्त्रालयले गम्भीर लापरबाही गरेको आरोप लगाए । ‘विशेषज्ञ अस्पतालमा भएका दुई जनाको दरबन्दी कहिल्यै पूरा हुन पाएन,’ शर्माले भने, ‘हामी प्रादेशिक अस्पतालको बाटोमा छौं, मन्त्रालयले स्वास्थ्यचौकीझैं हेप्यो ।’ संघीय सरकारको नीति तथा कार्यक्रममा बागलुङमै २ सय शय्याको अस्पताल बनाउने उल्लेख छ ।

हाल यहाँ ५० शय्या छन् । दुई सय शय्या चलाउन दोब्बर जनशक्ति आवश्यक पर्नेमा भएको समेत फिर्ता लगिएकोमा उनले गुनासो गरे । अस्पतालमा अब डा. श्रीना श्रेष्ठ मात्रै स्त्रीरोग विशेषज्ञ छिन् ।

दैनिक ४ जनासम्मलाई शल्यक्रियामार्फत सुत्केरी गराउनुपर्ने र विशेषज्ञ नभएपछि जटिल अवस्थाका बिरामीलाई पोखरा रेफर गर्नुपर्ने बाध्यतामा अस्पताल छ । ‘कम्तीमा दुई जना विशेषज्ञ भएनन् भने धान्नै सकिन्न ।

शल्यक्रिया सेवा अवरुद्ध हुन्छ,’ अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. शैलेन्द्र पोखरेलले भने, ‘जटिल केस आयो भने एक्लो डाक्टरले केही गर्न सक्दैन ।’ मन्त्रालयदेखि विज्ञ चिकित्सकले पनि अस्पतालप्रति चासो नदिएको उनको आरोप छ ।

कोभिड–१९ नियन्त्रण तथा उपचारका लागि भन्दै खरेललाई पोखरा पठाइएको सूचना मन्त्रालयले दिएको पोखरेलले बताए । बागलुङमा पनि ४ सय कोरोना संक्रमित पुगेका छन् ।

हाल ७७ सक्रिय संक्रमितको उपचार भइरहेको छ । सात दिनमै नियुक्तिको निर्णय फेरिँदा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी रानामगर पनि आक्रोशित छन् ।

‘आफ्नो सरुवा अन्यत्रै भइसकेको छ भन्ने थाहा पाएर पनि तामझामका साथ हाजिर गर्न पनि आउनुपर्थेन,’ उनले भने, ‘हामीलाई नाटक देखाइयो ।’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले खरेलको आवश्यकता पोखरामा भएकाले त्यहीँ पठाइएको बताए । ‘उहाँको ठाउँमा अर्को डाक्टर पठाइएको छ,’ उनले भने, ‘त्यहाँ उहाँको आवश्यकता थिएन ।’

अस्पतालमा मेडिकल अधिकृतको पनि अभाव छ । १५ विशेषज्ञ र १० मेडिकल अधिकृत गरी २५ जना चिकित्सकको दरबन्दी रहेको अस्पतालमा अहिले मेसुसहित १० जना मात्रै विशेषज्ञ चिकित्सक छन् ।

मेडिकल अधिकृतको पद खाली छ । ‘भएका सबै मेडिकल अधिकृत परीक्षाका लागि गए, यहाँ कोही छैन,’ पोखरेलले भने, ‘विभागीय प्रमुख पनि छैनन् ।’ ओपीडीमा बस्ने मेडिकल अधिकृत नभएपछि तल्लो तहका स्वास्थ्यकर्मीले बिरामी जाँच्नुपर्ने बाध्यता छ ।

दैनिक ३ सय जनासम्म बिरामी आउने अस्पतालमा कोरोना संक्रमणविरुद्ध आइसोलेसन पनि सञ्चालनमा छ । यहाँ २५ शय्याको आइसोलेसन राखिएकाले स्वास्थ्यकर्मीले दिउँसो र रातिसमेत सेवा दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्