५ जेष्ठ २०८१, शनिबार

 

धौलागिरि अस्पतालले काठेखोला, बरेङ र जैमिनीमा स्क्रिनिङ शिविर संचालन गर्ने

बागलुङ । धौलागिरि अस्पताल बागलुङले काठेखोला, बरेङ गाउँपालिका र जैमिनी नगरपालिकामा महिलाको पाठेघर खस्ने समस्या समाधानका लागि निःशुल्क शिविर संचालन गर्ने भएको छ ।

अस्पतालले शनिबार पत्रकार सम्मेलनको आयोजना गरि पहिलो चरणमा स्क्रिनिङ शिविर संचालन गर्ने शिविरमा पहिचान भएका बिरामीलाई उपचार तथा निःशुल्क अपरेशन गर्ने जनाएको हो ।

काठेखोला, बरेङ गाउँपालिका र जैमिनी नगरपालिकामा स्क्रिनिङ शिविर संचालन गरेर पहिचान भएका बिरामीको धौलागिरि अस्पतालमा निःशुल्क अपरेशन गर्ने स्त्रीरोग विशेषज्ञ डा रेखा शर्माले बताउनु भयो ।

शर्माका अनुसार अस्पतातले बैशाख ३० गते बरेङ गाउँपालिकामा , जेठ ५ गते जैमिनी नगरपालिकामा र जेठ १२ गते काठेखोला गाउँपालिकामा स्क्रिनिङ शिविर संचालन गर्न लागिएको हो ।

त्यस बाहेक शिविरमा फिस्टुला, निसन्तान दम्पत्तिको समस्या समाधान, महिनावारी गडवडी, पिशाबको समस्या तथा प्रजनन् स्वास्थ्यबारे परीक्षण, पाठेघरको मुखको क्यान्सर परीक्षण, स्तन क्यान्सरको जाँच हुने भएको छ ।

नीजि अस्पतालमा गएमा पाठेघरको अपरेशन लगायतका उपचारमा ठुलो रकम खर्च हुने गर्दछ ।

सरकारी अस्पतालमा भने सरकारले पठाइदिने प्रतिव्यक्ति १३ हजार र अस्पताल विकास समितिले थप गर्ने ६ हजार गरी १९ हजारको उपकरण र औषधी प्रयोगपछि अपरेशन गर्न सकिने गरी यो अवसर ल्याइएको अस्पताल विकास समितिका अध्यक्ष नारायण शर्मा पौडेलले बताउनु भयो

।गत वर्ष पनि विभिन्न स्थानमा भएका स्क्रिनिङबाट ३६ जनाको अपरेशन निःशुल्क गरिएको थियो ।

पत्रकार सम्मेलन अस्पताल विकास समितिका अध्यक्ष नारायण शर्मा पौडेलको अध्यक्षता, मेडिकल सुपरिटेण्डेन्ट डा रविरन्जन प्रधानको स्वागत र मेडिकल रेर्डर अधिकृत नवराज पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्