५ जेष्ठ २०८१, शनिबार

 

बागलुङको नीजि क्षेत्रलाई उत्साहित बनाउन वस्तुको निर्यातमा महासंघले सहयोग गर्छ : अध्यक्ष ढकाल

बागलुङ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले गण्डकी प्रदेशको आर्थिक र सामाजिक विकासको लागि नेपाल–चीन जोड्ने मुस्ताङको कोराला नाका पूर्णरूपमा सञ्चालनमा ल्याउन पर्ने बताउनु भएको छ ।

बागलुङ उद्योग वाणिज्य संघको ६० औँ वार्षिक साधारणसभा तथा सम्मान कार्यक्रमलाई सम्वोधन गर्दै अन्तरदेशीय व्यापार र पर्यटन प्रवर्द्धनका लागि सो उत्तरी नाका नियमित सञ्चालनका लागि पहल थाल्न सरकारको ध्यानाकर्षण गराउनु भएको हो ।

“कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग आयोजनालाई समयमै सम्पन्न गर्न सकिएमा कोराला नाकालाई सक्रिय र सहजरूपमा सञ्चालनमा ल्याउन सकिन्छ, यसतर्फ प्रधानमन्त्री र सरकारको विशेष ध्यान जानेछ भन्ने हाम्रो विश्वास छ”, अध्यक्ष ढकालले भन्नु भयो ।

त्यसको साथै समग्र धौलागिरि क्षेत्रको विकासको लागि मध्यपाहाडी लोकमार्ग र कालिगण्डकी करिडोरलाई पूर्ण रुपमा सञ्चालनमा ल्याउनु पर्ने बताउनु भयो ।

बागलुङमा स्थानीय उद्योगी व्यवसायीले उत्पादन गरेको वस्तु र सेवाहरुको गुणस्तर कायम गरि देशभित्र र बाहिर निर्यातको लागि आवश्यक पहल गर्न महासंघ तयार रहेको उहाँको भनाई थियो ।

बागलुङमा उत्पादन हुने आलु, भागो,मकै, बाँसको निगालोबाट बनेका वस्तुहरुलाई व्यवसायीकरण र निर्यातको लागि साना तथा मझौला व्यवसायी मिलेर काम गर्नु पर्ने बताउनु भयो ।

पञ्चकोटबाट मुक्तिनाथ हुँदै कोरोला नाका जोड्ने सडक निर्माणलाई उच्च प्राथिमकता राख्नको लागि स्थानीय पालिकाहरुले पनि पहल गर्न उहाँले भन्नु भयो ।

यो क्षेत्रमा आउने धार्मिक पर्यटकहरुको बसाई लम्ब्याउनको लागि व्यवसायीक पूर्वाधारमा लगानी गर्नु पर्ने बताउनु भयो।

विश्वका सनातन अनुयायीहरूको आस्थाको केन्द्र कालिका भगवती, भैरवस्थान, पञ्चकोट, श्रीरंगवैंकटेश मुक्तिनारायण मन्दिर, मालिका भगवती र मुक्तिनाथ मन्दिर रहेको भन्दै त्यस क्षेत्रलाई सांस्कृतिक, प्राकृतिक एवं धार्मिक सम्पदास्थलका रूपमा विकास गर्नुपर्ने अध्यक्ष ढकालले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्