
सानिमा जनरल इन्स्योरेन्स लिमिटेडको प्राथमिक सेयर (आईपीओ) मा पहिलो दिन नै मागभन्दा दोब्बर आवेदन परेको छ । बुधबार ६१ करोड २६ लाख ६८ हजार रुपैयाँबराबरको आवेदन परेको हो ।
सीडीएसका अनुसार साँझ ५ बजेसम्ममा २ लाख ६४ हजार ७ सय ३४ जनाले ६१ लाख २६ हजार ६८० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कुल २७ लाख ३० हजार कित्तालाई आधार मान्दा २।२४ गुणा बढी हो ।
कम्पनीले बुधबारदेखि ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्कासन गरेको छ । कुल कित्तामध्ये ४ प्रतिशत अर्थात् १ लाख २० हजार कित्ता सेयर कम्पनीका कर्मचारीका लागि छुट्ट्याइएको छ ।
त्यस्तै ५ प्रतिशत अर्थात् १ लाख ५० हजार कित्ता म्युचुअल फन्डहरूका लागि सुरक्षित गरिएको छ । बाँकी २७ लाख ३० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
यस आईपीओमा असोज २५ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । उक्त आईपीओको बिक्री प्रबन्धकमा एनआइसी एसिया क्यापिटल लिमिटेड रहेको छ ।