१७ बैशाख २०८१, सोमबार

 

‘नगरवासीको दैनिक जीवनसँग जोडिने विकासले मात्र आर्थिक समृद्धिमा टेवा पुग्छ’– सुवेदी

छविलाल सुवेदी- बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत 

बेनी नगरपालिकाले आर्थिक, सामाजिक, वातावरणसम्बन्धी सरोकारका साथै विपद् व्यवस्थापन, पूर्वाधार र सुशासनलाई मुख्य प्राथमिकतामा राखेको छ । नगरको आवधिक र दिगो विकासका लागि जनसहभागिता र जनचाहनाअनुसार विकासको काम अगाडि बढ्न लागेको छ ।

हामीले वडाबाट आएको योजना, सुझाव र नगरवासीको चाहनाअनुसार विकासका मुख्य आधारहरू सडक, स्वास्थ्य, शिक्षा, खानेपानी, सञ्चार, कृषि, ऊर्जा, पर्यटन, व्यापार, नागरिक प्रशासन, सुशासन र सेवा प्रवाहलाई आधारभूत आवश्यकताका रूपमा राखेका छौं ।

नगरपालिकाका सबै १० वटा वडा कार्यालय जोड्ने गरी सडक सुधार र कालोपत्र गर्ने योजना कार्यान्वयनको चरणमा छन् । स्थानीयका घरमा खरलाई विस्थापित गरी जस्ताको छाना राख्ने काम अन्तिम चरणमा पुगेको छ ।

यसका लागि ६१ लाख रुपैयाँ विनियोजन भएको थियो । हामीले कोरोना रोकथाम र नियन्त्रणका लागि फागुनदेखि कार्यक्रम बनाएर चैतदेखि नै प्रभावकारी ढंगले काम गरेकाले नगरक्षेत्रभित्र कोरोना प्रकोपले धेरै असर पारेको छैन ।

जनचेतना, परीक्षणको दायरा, रोकथाम र नियन्त्रण तथा स्वास्थ्य सुरक्षा अपनाउने काममा सबै सरोकारवालासँग सहजीकरण, अनुभव आदानप्रदान, विज्ञको सल्लाह र रोकथामका लागि भएको सहकार्यका कारण नगरपालिकाले धेरै क्षति बेहोर्न परेन ।

पछिल्लो चरणमा समुदायमा कोरोना फैलिन लागेको आभास भएपछि सबैको सजगता र कमीकमजोरीको समीक्षा गरियो । परीक्षणको दायरा बढाएर, मुख्य नाकाहरूमा स्वास्थ्य–सुरक्षाको व्यवस्था गरियो ।

अस्पताल र स्वास्थ्य संस्थाहरूलाई जवाफदेही बनाउन र ‘फ्रन्टलाइन’मा रहेका चिकित्सक, स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, सुरक्षाकर्मी तथा पत्रकारको सुरक्षा र काम–कारबाहीमा एकरुपता ल्याइएकाले कोरोनाको थप प्रकोप फैलिन पाएन ।

यसका लागि हामीले नगरपालिकाबाट १ करोड ५० लाख छुट्ट्याएर कोरोना प्रकोप व्यवस्थापन कोष कडा गरेका थियौं । यो बजेट स्वास्थ्य सामग्री खरिद, क्वारेन्टाइन र अस्पताल व्यवस्थापन तथा जनचेतना अभिवृद्धिमा खर्च गरियो । प्रदेशबाट सुुरुमा क्वारेन्टिन व्यवस्थापन भनी १० लाख प्राप्त भएको थियो ।

हामीले त्यति बेला २० बेडको आइसोलेसन रुम तयारी हालतमा राखेका थियौं । बेनी नगरपालिकाले नगरसभामा कुल ५८ करोड ५५ लाख ४३ हजार २ सय ६४ रुपैयाँबराबरको आयव्यय प्रस्तुत गरेको थियो । चालूतर्फ ३६ करोड ६१ लाख तथा पुँजीगततर्फ १९ करोड ४० लाख रुपैयाँ विनियोजन गरिएको थियो ।

यो बजेटमार्फत विकास र प्रशासन खर्चलाई उच्च प्राथमितामा राखेर काम गरिरहनुभएको छ हाम्रा नगरप्रमुख हरिकुमार श्रेष्ठ ।जनआकांक्षा र बजेटको तालमेल मिलाउन त्यति सजिलो छैन । गाउँ र सहरका जनताको चाहना र आवश्यकता फरकफरक छन् ।

युवाको अपेक्षा अलि धेरै र छिटो होस् भन्ने छ । यस मनोविज्ञानलाई बुझेर सन्तुलित तरिकाले विकासका आयोजनाहरू अगाडि बढाउँदा आर्थिक बजारमा राम्रो प्रभाव पार्नेदेखि रोजगारी सिर्जना हुने खालका मुख्य आयोजनालाई प्राथमिकतामा राखिएको छ ।

विकास मूलतः भौतिकजस्तो देखिए पनि यो मानवीय हुन्छ । नगरवासीको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको विकास भए मात्र त्यसले गरिबी निवारण र आर्थिक समृद्धिमा टेवा पुग्छ । हाम्रो मुख्य ध्यान नगरवासी हुनुपर्छ ।

उनीहरूको इच्छा र सपना नै विकासको कार्यक्रममा प्रतिविम्बित हुने हो । उनीहरूको सहभागिता र नेतृत्व भए मात्र नगरले आफ्नो लक्ष्य प्राप्त गर्छ । विश्वमा जति पनि देश छन्, उनीहरू यसै गरी विकसित भएका हुन् ।

जापान, दक्षिण कोरिया, चीन, सिंगापुर, भारत, भुटान, थाइल्यान्डले पनि आधारभूत जग बलियो बनाएर आफूलाई विश्व र एसियाको बलियो राष्ट्रका रूपमा चिनाए ।

त्यसैले हाम्रा वडाहरूको मुख्यमुख्य सामथ्र्य पहिचान गरी त्यसलाई माथि उठाउने, लगानी गर्न लगाउने, नपुगे थप लगानी भित्र्याउन राष्ट्रिय पुँजीपतिहरूलाई यस क्षेत्रमा आकर्षित गरेर हाम्रो सम्भावनालाई आकार दिनुपर्छ । यस्ता विशेष क्षेत्रहरूको अध्ययन र तिनको विकासले नै नगर र प्रदेशको विकास हुने हो ।

हाम्रा विकास प्रयास कति उपयोगी र प्रभावकारी भए, समीक्षा गर्नुपर्ने बेला आएको छ । विकास आयोजनाको अनुगमन र रेखदेखलाई हामीले विशेष महत्त्व दिएका छौं । हाम्रो विकास चाहना साकार पार्न हाम्रो क्षमता पनि बढाउनुपर्छ । हाम्रो आर्थिक हैसियत माथि नउठेसम्म हामीले सोचेका सबै आवश्यकता प्राप्त गर्न सक्दैनौं ।

यसका लागि संघ र प्रदेशका गौरवका आयोजनाहरूलाई हाम्रो नगरक्षेत्रसँग जोड्न सहकार्य आवश्यक छ । हाम्रो नगर नेतृत्वले यस विषयमा सरोकारवालालाई सही समयमा बुझाएर संघ र प्रदेशका मुख्य योजना ल्याउन सके यसको लाभ अरू स्थानीय तहले पनि पाउने थिए । यसका लागि राजस्वको दायरा बढाएर बढी असुली हुने संयन्त्र विकास गर्न जरुरी छ ।

आधुनिक प्रविधिको प्रयोग गरेर नगरका उद्योगी र व्यवसायीको मनोबल उच्च बनाउन जरुरी छ । कोरोना कहरले व्यापार–व्यवसायमा ठूलो संकटको बादल छाएको छ ।

यसका लागि सबै मिलेर राहत प्याकेज ल्याउन पर्छ । हाम्रा नगरप्रमुख हरिकुमार श्रेष्ठले सातौं नगरसभामार्फत आगामी आर्थिक वर्ष २०७७,०७८ का लागि जुन नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गर्नुभएको छ त्यसको लक्ष्य हासिल गर्ने गरीकन हामी सिंगो नगरपालिका अभियानमा जुटेका छौं ।

अहिलेसम्मको नीति–कार्यक्रममध्ये सातौं नगरसभाको कार्यक्रममा हामीले समीक्षा र संश्लेषण गरी काम अगाडि बढाएका छौं । प्रस्तुत बजेटमध्ये पूर्वाधार विकासतर्फ नगरले ५ करोड १५ लाख, सामाजिकतर्फ १ करोड ८६ लाख, आर्थिकतर्फ १ करोड २५ लाख, वन तथा विपद् व्यवस्थापनमा ९० लाख र सुशासन तथा संस्थागत विकासमा ३७ लाख रुपैयाँ विनियोजन गरेका थियौं ।

जुन निष्कर्षसाथ नगरको विकासका आयोजना कार्यान्वयनका चरणमा छन् । कतिपय सम्पन्न भएका छन् । यसले थोरै भए पनि सन्तुष्टि दिएको छ । मुख्य आयोजनाको परिणामले नै नगरको भविष्य कस्तो हुने, त्यसले आकार निर्धारण गर्नेछ ।

नीति तथा कार्यक्रममा नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रण, कृषि, पर्यटन तथा पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको छ । श्रेष्ठले आगामी आवका लागि आर्थिक, सामाजिक, वातावरण र विपद् व्यवस्थापन, पूर्वाधार, सुशासन, सेवा प्रवाह, अनुगमन एवं मूल्यांकनसम्बन्धी वार्षिक नीति तथा कार्यक्रम पेस गर्नुभएको थियो ।

उपमेयर सन्जु बरुवालले नगरसभामा कुल ५८ करोड ५५ लाख ४३ हजार २ सय ६४ रुपैयाँबराबरको आयव्यय प्रस्तुत गर्नुभएको छ । नगरपालिकाले चालूतर्फ ३६ करोड ६१ लाख विनियोजन गरेको छ भने पुँजीगततर्फ १९ करोड ४० लाख रुपैयाँ विनियोजन गरेको छ ।

यसैगरी बेनपाको १, ४, ६ र १० नम्बर वडालाई प्रतिवडा ५५ लाख, २, ३, ५ र ९ नम्बर वडालाई ६० लाख र ७ तथा ८ नम्बर वडालाई ५० लाखका दरले बजेट विनियोजन गरिएको छ ।

नगरसभाले आन्तरिक आयतर्फ ४ करोड ३ लाख २५ हजार रुपैयाँ संकलन गर्ने प्रस्ताव गरेको थियो । यसमध्ये सम्पत्ति, व्यवसाय दर्ता, घर तथा जग्गा बहाल, सवारीसाधन, विज्ञापन, मनोरञ्जनसहित अन्य करबाट गरी १ करोड ७६ लाख २५ हजार रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ । नगरपालिकाले चालूतर्फ ३६ करोड ६१ लाख र पुँजीगततर्फ १९ करोड ४० लाख रुपैयाँ विनियोजन गरेको छ ।

समपूरक कोष २ करोड ५४ लाख ४३ हजार २ सय ६४ रुपैयाँ छ । नीति तथा कार्यक्रममार्फत नगरपालिकाको केन्द्रदेखि वडा कार्यालयसम्मको सडकलाई प्राथमिकतामा राखी बाह्रै महिना सञ्चालन हुने व्यवस्था मिलाइने उल्लेख गरिएको छ जसलाई मुख्य कार्यक्रम भनेर अगाडि बढाएका छौं ।

नदी, खोला, ताल तथा जलाधारको संरक्षण गरी पर्यावरणीय सन्तुलन कायम गरिनेछ भने नगरक्षेत्रमा कृषिक्षेत्रको आधुनिकीकरण र विविधीकरण गर्दै व्यावसायिकीकरणलाई जोड दिने नीति–कार्यक्रम छ । त्यसै गरी ‘एक वडा, एक युवा क्लब, एक खेलमैदान’ कार्यक्रममार्फत युवा तथा बालबालिकाहरूको क्षमता विकास गर्ने कार्यक्रम छ ।

(बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवेदीसँगको कुराकानीमा आधारित)

प्रतिक्रिया दिनुहोस्