१७ बैशाख २०८१, सोमबार

 

‘गणतन्त्रका नेताहरूकै कामले राजतन्त्रको अस्तित्व बढाइरहेको छ’

पछिल्ला दिन देशका विभिन्न स्थानमा प्रदर्शन भए । ती प्रदर्शनमा राजतन्त्रका पक्षमा चर्का नाराबाजी सुनिए । केही दिनअघि राजधानी काठमाडौंमै पनि राजावादीहरू सडकमा उत्रिए ।

यति बेला गणतन्त्र आएको डेढ दशक बित्दै छ तर गणतान्त्रिक पद्धतिहरू अझै पूर्ण रूपमा कार्यान्वयन भइसकेका छैनन् । यही मौकामा राजतन्त्रका पक्षधरहरू फेरि सलबलाएका छन् ।

राजसंस्था पुनःस्थापना माग गरिएका स्वर पहिले पनि अलिअलि सुनिन्थे । तर अहिले त्यो अलि चर्को सुनिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले विगतदेखि नै राजतन्त्रका पक्षमा वकालत गर्दैै आएको छ । यसै सेरोफेरोमा सोही पार्टीका केन्द्रीय सदस्य देवीप्रसाद कँडेलसँग गरिएको कुराकानी :

थुप्रैपटक विभाजित भइसकेको राष्ट्रिय प्रजातन्त्र पार्टी अहिले आएर फेरि एक भएको छ । यसपालिचाहिँ विवाद साँच्चिकै मिलेको हो कि मिलेजस्तो देखिएको मात्र ?

राष्ट्रिय प्रजातन्त्र पार्टीमा वैचारिक मतभिन्नता देखिएको होइन । केही केन्द्रीय नेताहरूको पदीय स्वार्थका कारण बेलाबखत टुटफुट भएको हो ।

अहिले आमनेपालीको चाहना र देशमा राजतन्त्रको आवश्यकता रहेको बुझेकाहरूले राप्रपा वैकल्पिक शक्ति भएर आउनुपर्ने पक्षमा दबाब दिएपछि फेरि एकता भएको छ ।

पार्टीमा फर्किनुभएका सबैजसो नेता सनातन हिन्दु राज्य र राजसंस्थाप्रति कटिबद्ध हुनुहुन्छ । विगतको गल्तीबाट सबै नेताले पाठ सिक्नुभएको छ । अब यो दिगो नै हुन्छ ।

अहिले सडकमा राजसंस्थाको पक्षमा प्रदर्शन भइरहेको छ । यसको सन्देश के हो ?

विगतमा विदेशीको इसारामा राजनीतिक परिवर्तन गरियो । राजतन्त्रलाई जबरजस्ती पाखा लगाइयो । त्यो कुनै नेपाली जनताको आकांक्षाअनुरूप भएको थिएन ।

त्यसको विपक्षमा रापप्राले फरक मत राख्दै आएको थियो । जुन परिवर्तनका लागि माओवादी सशस्त्र द्वन्द्व, जनआन्दोलन भएका थिए, त्यसको प्रतिफल प्राप्त नभएपछि स्वस्फूर्त रूपमा जनता सडकमा देखिएका हुन् ।

अहिले हाम्रो देशमा इतिहासमै नभएको नेकपाको शक्तिशाली सरकार छ । तर ओम्नी काण्ड, यती होल्डिङ्स, औषधि खरिद, बालुवाटार जग्गा प्रकरणलगायत भ्रष्टाचारका काण्डले यो सरकार जनतामाझ आलोकप्रिय हुँदै छ ।

रापप्रामा आस्था राख्ने मात्र नभएर नेपाली कांग्रेस, नेकपा र अन्य दलमा आस्था राख्ने मान्छे पनि अहिले खुला मनले ‘राजा आऊ देश बचाऊ’ भन्दै नारा लगाइरहेका छन् ।

पार्टी अध्यक्ष कमल थापाले आगामी चुनावसम्म रापप्रालाई देशकै अग्रणी शक्ति बनाउने घोषणा गर्नुभएको छ । यो कसरी सम्भव छ ?

हामीले राजसंस्थालाई स्वतन्त्र संस्थाका रूपमा राख्नुपर्छ भनेका छौं । राष्ट्रपति स्वतन्त्र भएर निर्णय लिन सक्नुभएको छैन ।राष्ट्रपति तटस्थ रुपमा बस्ने गरिमामय संस्था हो । त्यस्तो अभिभावक रुपमा कल्पना गरेको हाम्रो संविधानले राष्ट्रपतिलाई तर अहिले कुनै दलको मुख्य नेता जस्तो भएको छ राष्ट्रपति यस्ले हाम्रो देशको छवि अन्तराष्ट्रिय रुपमा धुमिल र प्रदुसित भएको छ ।

त्यसैले अहिले राजसंस्थालाई स्वतन्त्र संस्थाका रूपमा राखियो भने त्यसले भोलि स्वतन्त्र रूपमा निर्णय लिन सक्छ । राजसंस्थालाई ‘बायस’ गर्ने दलहरू अहिले पतनको बाटोमा गइरहेका छन् ।

जनतामा वितृष्णा जागेको छ । यही कारण विभिन्न सहरमा आन्दोलन भइरहेको छ । आन्दोलनमा हाम्रो पार्टीका केन्द्रीय तहका नेताहरू पुग्नुभएको छ । यो सुरुवाती चरण हो ।

अहिले हाम्रो देशमा इतिहासमै नभएको नेकपाको शक्तिशाली सरकार छ । तर ओम्नी काण्ड, यती होल्डिङ्स, औषधि खरिद, बालुवाटार जग्गा प्रकरणलगायत भ्रष्टाचारका काण्डले यो सरकार जनतामाझ आलोकप्रिय हुँदै छ । रापप्रामा आस्था राख्ने मात्र नभएर नेपाली कांग्रेस, नेकपा र अन्य दलमा आस्था राख्ने मान्छे पनि अहिले खुला मनले ‘राजा आऊ देश बचाऊ’ भन्दै नारा लगाइरहेका छन् ।

सत्ताधारी र प्रतिपक्ष दलले राजसंस्थाले भन्दा फरक र राम्रो काम गरेका भए यसरी जनता सडकमा आउँदैनथे । उनीहरूकै कामले गर्दा राजावादी दलले आन्दोलनमा मेहनत गर्न परेको छैन ।

हामीलाई फाइदा भएको छ । विभिन्न ठाउँमा भइरहेको प्रदर्शनले नागरिक आन्दोलनको रूप लिइरहेको छ । त्यसको पूरै नेतृत्व राजावादी दलले लिन्छ ।

देशमा व्याप्त गरिबी, अशिक्षा, पछौटेपनजस्ता समस्याको कारण राजसंस्थालाई औंल्याउने जमात पनि ठूलै छ नि ?

केही सीमित नेताहरूको अवस्था परिवर्तन भयो । पहिले बिग्रेका कुराहरूको दोष राजसंस्थालाई दिइयो । तर अहिले जनताको जीवनस्तर झनै खस्कँदो छ ।

हामी परिवर्तन गर्छौं भनेर आदोलनमा होमिएका नेताहरू अहिले जनता भुलेर सत्तामोहमा लिप्त छन् । महामारीमा जनताको जीवनरक्षाका निम्ति काम गर्नुपर्ने सरकार कहाँ छ ? जनताले दिएको अभिमतको कदर भएको छैन ।

केही व्यक्तिहरू सडकमा उत्रिँदैमा सबै जनता राजतन्त्र चाहन्छन् भन्न मिल्छ र ?

गणतन्त्रका दलहरूले जनताको हकहित हुने काम गरिदिएको भए राजसंस्था साँच्चै नाममा मात्रै सीमित हुने थियो । खासमा उनीहरूकै कामले राजसंस्थाको अस्तित्व बढाइराखेको छ ।

अहिलेका गणतन्त्रका ‘राजा’ भन्नेहरूले नै राजसंस्थालाई मलजल गरिरहनुभएको छ । जनता के भन्न थाले भने ‘हामी पुरानो बाटोमा फर्किन चाहन्छौँ ।’ अहिले राजाको पक्षमा जनमत बढिरहेको छ ।

पहिले राजतन्त्र हुँदा पनि विश्व मानचित्रमा देशको हालत खासै सुध्रिन सकेको थिएन । अबचाहिँ राजतन्त्र आउँदैमा कायापलट हुन्छ भन्ने के ग्यारेन्टी ?

राजसंस्थाको इतिहास २ सय ४० वर्षको थियो । त्यति बेला राजसंस्था जनतामा गएर उनीहरूका समस्या बुझ्दैनथ्यो । वरिपरि घेरेर बसेकाहरूले ‘सरकार ठीक छ’ भनेपछि सबै चल्थ्यो ।

तर अहिले राजालाई जनताका गुनासा, समस्या अध्ययन गर्ने अवसर मिलेको छ । राजावादी दलहरूले पनि दुई तिहाइ बहुमत भएर मात्रै हुँदो रहेनछ भन्ने बुझेका छन् । अब देश र राजतन्त्र टिकाउने नीति चाँडै बन्छ ।

प्रस्तुती : विमल खड्का 

प्रतिक्रिया दिनुहोस्