कोभिड–१९ को प्रकोपपछि हाल विश्वमा यसविरुद्धको खोप बनाउने होडबाजी चलेको छ । पछिल्लो समय विभिन्न देशका विभिन्न विज्ञान तथा अनुसन्धान संस्था र औषधि निर्माण कम्पनीहरूले आफ्नो खोप सफल भएको दाबी गरिरहेका छन् ।
यसैबीच चीनमा पनि पाँचवटा खोपको अन्तिम चरणको परीक्षण र बाँकी ९ वटाको परीक्षण भइरहेको चिनियाँ अधिकारीले बताएका छन् । अन्तिम चरणका खोपहरू सफल भइसकेको चिनियाँ अधिकारीको दाबी छ ।
हाल चीनमा फ्रन्टलाइनमा खटेका स्वास्थ्यकर्मीदेखि वृद्धवृद्धा र उच्च जोखिम क्षेत्रमा यस्ता खोप दिइएको छ । यसै क्रममा बेइजिङमा एक नेपाली डाक्टरले पनि कोभिड–१९ विरुद्धको चिनियाँ खोप लगाएका छन् ।
विगत ७ वर्षदेखि बेइजिङ युनाइटेड फेमिली हस्पिटलमा कार्यरत जनरल सर्जन डा. विकास राईले कोभिडविरुद्ध चिनियाँ खोप लगाएका हुन् ।
उनले कोभिडविरुद्धको खोपको पहिलो डोज अक्टोबरको अन्तिममा र दोस्रो डोज नोभेम्बर १६ मा लगाएका हुन् । उनले काम गर्ने सो अस्पतालमा सेप्टम्बरको अन्तदेखि नै कर्मचारी तथा स्वास्थ्यकर्मीलाई तेस्रो चरणको परीक्षण खोप दिन सुरु गरिएको थियो ।
खोप लगाएका झन्डै सय प्रतिशत कर्मचारीमा कुनै प्रतिकूल वा गम्भीर असर देखिएको छैन । ‘यो तेस्रो चरणको परीक्षण खोप लगाएका ९६,९७ प्रतिशत बढी कर्मचारीलाई कुनै साइड इफेक्ट देखिएको छैन, मात्र एक–दुई जनालाई सामान्य रुघा तथा पखाला लागेको भन्ने सुनेँ,’ डा राईले अनुभव सुनाए ।
‘मैले दोस्रो डोज नोभेम्बर १६ मा लगाएको हुँ, पहिलो डोज लगाएको १३ दिनपछि मात्र दोस्रो डोज लगाउन मिल्छ,’ उनले थपे, ‘अब डिसेम्बर १६ मा यो भ्याक्सिनले मेरो शरीरमा काम ग¥योरगरेन भन्ने थाहा हुन्छ ।’
डाक्टर राईका अनुसार शरीरमा एन्टीबडीको विकास भयो भने खोप सफल मानिन्छ । सो नतिजा दोस्रो या अन्तिम डोज लगाएको तीस दिनपछि मात्र थाहा पाउन सकिन्छ ।
उनले भने, ‘अस्पतालले जानकारी दिएअनुसार हाम्रो अस्पतालमा सबै कर्मचारी गरी एक हजार जनालाई यो खोप दिइएको छ, तीमध्ये ९८ प्रतिशतमा एन्टीबडी डेभलप भएको छ, यसकारण यो खोप सफल छ ।’
एन्टीबडी भएपछि संक्रमणको सम्भावना न्यून हुन्छ । तर बाँकी २ प्रतिशतमा कसरी एन्टीबडी डेभलप नभएको भन्ने जिज्ञासामा डाक्टर राई भन्छन्, ‘यो जिनको कुरा हो, मानिस सबैमा एकैनासको जिन हुँदैन, यसरी मानिसमा भिन्नभिन्न जिन हुने भएकाले नै खोपको परीक्षण भइरहेको हो र विश्वका विभिन्न देशमा परीक्षण गर्नुको कारण पनि यही नै हो ।’
यसैबीच परराष्ट्र मन्त्रालयका प्रवक्ता चाओ लिच्येनले एक पत्रकार सम्मेलनमा हाल संयुक्त अरब इमिरेट्स, ब्राजिल, पाकिस्तान, पेरुलगायत देशमा कोभिडविरुद्धका विभिन्न खोप परीक्षण भइरहेको बताएका थिए ।
डा.राईले कोभिडविरुद्ध साइनोभ्याक खोप लगाएका हुन् । यो खोप चाइना नेसनल फर्मास्युटिकल ग्रुप ९साइनोफार्म० ले अनुसन्धान तथा उत्पादन गरेको हो ।
चीनको चच्याङ प्रान्तका केही सहर मा विदेश जाने तथा आवश्यक ठानिएका व्यक्तिहरूलाई गत अक्टोबर महिनामै यो खोप दिइएको थियो ।
स्थानीय सञ्चार माध्यमका अनुसार उक्त खोप तेस्रो चरणको परीक्षणमै सर्वसाधारणलाई समेत उपलब्ध गराइएको हो । साइनोफार्मका अध्यक्ष लिऊ चिङचनले नोभेम्बर १८ मा बताएअनुसार करिब दस लाख मानिसले यो खोप लगाइसकेका छन् ।
ती कसैमा यसको प्रतिकूल असर देखिएको छैन । हाल साइनोभ्याकसँगै कम्तीमा पाँचवटा चिनियाँ खोप तेस्रो चरणको परीक्षणमा छन् । त्यसबाहेक अरू ९ वटा खोपको पनि परीक्षण भइरहेको सम्बन्धित अधिकारीले बताएका छन् ।























































































































































































