१७ बैशाख २०८१, सोमबार

 

बाढीपीडित महिलालाई समाजसेवी श्रेष्ठले बनाइदिइन् घर

समाजसेवी मन्दिरा श्रेष्ठले एकल महिलाका लागि घर बनाइदिएकी छन् । उनले बेनी नगरपालिका–५ पुलाचौरकी ६१ वर्षीया नन्दकली दर्जीका लागि आवासको व्यवस्था गरिदिएकी हुन् ।

गत साउनमा आएको बाढीले दर्जीको घर बगाइदिएको थियो । बाढीले असहाय बनेकी महिलालाई सहयोग गर्न पाउँदा खुसी लागेको मन्दिराले बताइन् ।

‘मलाई बेनी बजारका अनोद भाइले दर्जीका बारेमा बताएपछि घर बनाउने अभियानमा लागेकी हुँ,’ उनले भनिन् ।

यो अभियानमा उनलाई पति मथुराप्रसाद श्रेष्ठले पनि सघाएका छन् । आफू जन्मेको जिल्लाकी महिलालाई सहयोगको प्रस्ताव आएपछि पत्नी र छोरा अनमोलसँग सल्लाह गरेर घर बनाउने अभियानमा सघाएको समाजसेवी मथुराप्रसादले बताए ।

श्रेष्ठ परिवारले दर्जीलाई आय आर्जनका लागि सहयोग पुगोस् भनेर १५ वटा कुखुरा र एउटा बाख्रा पनि प्रदान गरेको बेनीका समाजसेवी अनोद श्रेष्ठले जानकारी दिए ।

‘दर्जीको दैनिक जीवन सहज ढंगले चलोस्, कसैलाई हात फैलाउन नपरोस भनेर आय आर्जनका लागि सहयोग गरेकी हुँ,’ मन्दिराले भनिन्, ‘सबैले समस्यामा परेका व्यक्तिहरूलाई मिलेर सहयोग गर्न सके धेरै पीडितको जीवनमा थोरै भए पनि खुसी दिन सकिन्छ ।’

दर्जीलाई घर हस्तान्तरण कार्यक्रममै मन्दिराले १७ पुरुष र २६ महिला गरी ४३ जना ज्येष्ठ नागरिकलाई स्वेटर र ज्याकेट पनि वितरण गरेकी थिइन् ।

साथै उनले प्रगति आमा समूह चिप्लेटीलाई सामुदायिक भवन निर्माणका लागि १० हजार र स्थानीय युवा क्लबलाई खेले सामग्री उपलब्ध गराइन् । श्रेष्ठ परिवारले मानवीय, धार्मिक, शैक्षिक र सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्