क्यानडाले पनि आफ्ना नागरिकलाई कोरोना भाइरसविरुद्धको फाइजर खोप लगाउन स्वीकृति दिएको छ ।
क्यानाडाको स्वास्थ्यसम्बन्धी संस्था हेल्थ क्यानडाले उक्त खोपको अनुमति दिने विषयमा व्यापक अनुसन्धान भएको र सरकारले १६ वर्षभन्दा माथिको उमेरका नागरिकलाई लगाउन अनुमति दिइएको बताएको छ ।
अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सले क्यानडा सरकारले फाइजर खोपको प्रभावकारिता र यसको स्वास्थ्य सुरक्षाका सम्बन्धमा व्यापक मात्रामा खोजी र अनुसन्धान गरेको र त्यसपछि यो खोप लगाउन सुरक्षित देखिएको भन्दै सिफारिस गरेको उल्लेख गरेको छ ।
समाचारमा जनाइएअनुसार त्यहाँका स्वास्थ्य अधिकारीहरूले अर्को सातासम्म क्यानाडामा यो खोप आइपुग्ने र नागरिकलाई लगाउन थालिने जनाएका छन् ।
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रयुडेउले अर्को सातासम्म खोप क्यानडा आइपुग्ने जानकारी दिए । उनले सो खोपको प्रभावकारिताको अनुसन्धान भएको र क्यानडाका १४ वटा वितरक कम्पनीले उक्त खोप त्यहाँ वितरण गर्ने बताए ।























































































































































































