३ जेष्ठ २०८१, बिहीबार

 

बागलुङ समाज कल्याण केन्द्र बागलुङमा नयाँ कार्यसमिति, ‘महिलाहरू हरेक क्षेत्रमा नेतृत्व लिने गरी अघि बढौं’ –उपाध्यक्ष श्रेष्ठ

बागलुङ समाज कल्याण केन्द्र काठमाडौंकी उपाध्यक्ष रसुमिला श्रेष्ठले महिलाहरू आर्थिक, सामाजिक र सांस्कृतिक रूपमा सक्षम र सबल भए मात्र परिवार बलियो र सफल हुने बताएकी छन् ।

केन्द्रको बागलुङ समितिको प्रथम साधारणसभालाई सम्बोधन गर्दै उनले महिलालाई शैक्षिक, व्यावसायिक र सामाजिक हिसाबले मात्र अगाडि बढेर नपुग्ने, हरेक क्षेत्रमा नेतृत्व लिने र परिणाम दिन गरी अगाडि बढ्नुपर्नेमा जोड दिइन् ।

‘बागलुङ समाज कल्याण केन्द्र काठमाडौंको इतिहासमै म पहिलोपटक अध्यक्ष हुन लागेको छु, यसका लागि मैले ठूलो संघर्ष र अथक मेहनत गरेकी छु,’ उनले भनिन्, ‘घर, परिवार र समाजमा अगाडि बढ्न अहिले महिलाहरूलाई अवसर र चुनौती दुवै छ, यसको समयमै सदुपयोग गर्नुपर्छ ।’

समाजका गरिब, असहाय र कमजोर महिलाहरूलाई देशको मूलधारमा ल्याउन सबैले मुख्य योगदान दिने बेला आएको श्रेष्ठले बताइन् । ‘हामी सबै जागेर समग्र महिला र समाजका लागि केही गरेर देखाउने र आफूलाई प्रमाणित गर्ने समय हो यो,’ उनले भनिन् । कार्यक्रममा सचिव जुनु श्रेष्ठले प्रगति प्रतिवेदन र कोषाध्यक्ष निरु जोशी श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्याक्रममा एकता सहकारीका सचिव महेशचन्द्र राजभण्डारी, नेवा मिसा दबुकी अध्यक्ष सोमना शाक्य, शंखधर सहकारीका अध्यक्ष रतन मलेपती, नागरिक समाजका संयोजक काजी गाउँले श्रेष्ठ, समाजसेवी देवबहादुर श्रेष्ठ, सत्य साई केन्द्र बागलुङ अध्यक्ष चयनदेवी श्रेष्ठ, राष्ट्रिय सुस्त मनस्थिति कल्याण सस्थाका उपाध्यक्ष मनमाया श्रेष्ठ, नेपाल भाषा मंका खलका अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, बागलुङ महिला समाज कल्याण केन्द्र बागलुङकी अध्यक्ष कुमारी श्रेष्ठलगायतले मन्तव्य व्यक्त गरेका थिए ।कार्यक्रममा ९२ वर्षिय पुतली शाक्यलाई नगद सहित सम्मान गरिएको थियो

कार्यक्रम कुमारी श्रेष्ठको अध्यक्षता ,सहसचिव मनकामना श्रेष्ठको स्वागत र सचिव जुनु श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो ।
साधारण सभाले कुमारी श्रेष्ठकै अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ ।

कार्यक्रममा बागलुङ समाज कल्याण केन्द्र काठमाडौंकी उपाध्यक्ष श्रेष्ठले केन्द्रको बागलुङस्थित समितिको कोष निर्माणका लागि २५ हजार र सत्य साई केन्द्रका लागि त्यति नै रकम प्रदान गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्