२४ बैशाख २०८१, सोमबार

 

आयातमा कोटा प्रणाली खारेज गर्न सुनचाँदी व्यवसायीको माग

सुनचाँदी व्यवसायीहरूले सुन आयातमा लागू हुँदै आएको कोटा प्रणाली खारेज गर्न माग गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छासँगको भेटमा नेपाल सुनचाँदी व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीहरूले शुक्रबार कोटा प्रणाली खारेजीका लागि सुनचाँदी व्यवसायीले अगाडि सारेको मागमा आवश्यक सहयोग गर्न आग्रह गरेका हुन् ।

त्यस क्रममा सुनचाँदी व्यवसायीका तर्फबाट अध्यक्ष माणिकरत्न शाक्यले निर्बाध रूपमा व्यवसाय सञ्चालनको वातावरण बनाउनुपर्ने, निर्यात प्रवद्र्धनका लागि आवश्यक नीतिगत व्यवस्था हुनुपर्ने, स्वदेशमै सुनचाँदी तालिक केन्द्रहरू सञ्चालन गरिनुपर्ने, कच्चा सुन प्रशोधन केन्द्र समेत स्थापना गरिनुपर्नेलगायत विषयलाई कार्यान्वयनमा ल्याउन महासंघले सघाउनुपर्नेमा जोड दिए ।

महासंघ अध्यक्ष गोल्छाले सुनचाँदी व्यवसायीका समस्या समाधानका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । व्यवसायीका जायज मागमा महासंघले सदैव सहयोग गर्ने जनाउँदै उनले अहिलेको खुला बजारमा कोटा प्रणाली ठीक नभएको भन्दै सुनचाँदी व्यवसायीको आग्रहअनुसार त्यसलाई खारेज गर्न पहलकदमी लिने विश्वास व्यक्त गरे ।

आयातित सुन पुनः विदेश नजाओस् भन्नका लागि सीमा–नाका जोडिएका मुलुकमा भन्दा बढी भन्सार दर कायम गर्न सकिने व्यवसायीको सुझाव छ । पछिल्लो समय नेपालमा विभिन्न वाणिज्य बैंकहरूमार्फत दैनिक १० किलो सुन आयात हुँदै आएको छ ।

केही समयअगाडिसम्म दैनिक २० किलो आयात हुँदै आएकोमा कोरोना महामारीपछि सरकारले यसलाई दैनिक १० किलोमा सीमित गरेको हो । देशभर दैनिक सरदर ३० देखि ४० किलोसम्म सुनको माग हुने गरेको विभिन्न अध्ययनबाट देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्