७ जेष्ठ २०८१, सोमबार

 

महासंघको स्टार्ट अप एन्ड इनोभेसन समितिको सभापतिमा आचार्य, उद्यम गर्न चाहने ५० वटा स्टार्टअपहरूको व्यवसायको लागि पुँजी जुटाइदिने

नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य रञ्जितराज आचार्यको सभापतित्वमा गठित स्टार्ट अप एन्ड इनोभेसन समितिले पूर्णता पाएको छ ।

समितिको सहसभापतिमा सिद्धान्तराज पाण्डे र सुमन शाक्य र सदस्यहरूमा प्रकाश देव पालिखे, नीरज खनाल, दीपेन्द्र चौलागाई, मौसमी श्रेष्ठ, सुमना श्रेष्ठ र स्वर्णा ताम्राकार छन् ।

साथै समितिको आमन्त्रित सदस्यमा तेन्जिङ सोनर गोम्सर र कविराज जोशी छन् । त्यसै गरी समितिको सल्लाहकारमा महासंघका पूर्व कार्यकारिणी समिति सदस्यत्रय ओम राजभण्डारी, सौरभ ज्योति र अनिल चित्रकार छन् ।

महासंघको सचिवालयमा आयोजित एक कार्यक्रमबीच महासंघका अध्यक्ष शेखर गोल्छाले समितिमा चुनिएका सदस्यहरूलाई औपचारिक पत्र हस्तान्तरण गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गोल्छाले नेपालको अर्थतन्त्रको महत्त्वपूर्ण हिस्सा साना तथा मझौला उद्यम व्यवसाय नै भएकाले यो क्षेत्रलाई कसरी माथि उठाउन सकिन्छ र कामका लागि बाहिरने युवा शक्तिलाई पर्याप्त रोजगारी सृजना गरी मुलुकभित्रै राख्न सकिन्छ भन्नेतर्फ महासंघको विशेष जोड रहेको स्पष्ट पारे ।

युवा जनशक्तिको बाहुल्य रहेको, जैविक विविधताले भरिपूर्ण र दुई विशाल अर्थतन्त्र भएका छिमेकी देशको बीचमा हाम्रो अवस्थिति नै हाम्रो समृद्धिको बलियो आधार भएको भन्दै उनले हामीसँग भएको अथाह सम्भाव्यताबाट वास्तविक रूपमै फाइदा उठाउनुपर्नेमा जोड दिए ।

यसका लागि स्टार्टअपमा आफूलाई स्थापित गरेका सफल उद्यमीहरूको सहयोग र सहकार्य महासंघले खोजेको उनको भनाइ थियो । महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले कोभिडका कारण अर्थतन्त्रमा निकै धेरै चुनौती थपिएकाले मुलुकभित्र रोजगारी सृजना, कामका लागि

बाहिरिनुपर्ने बाध्यताको अन्त्य, पढेलेखेको युवा वर्गलाई स्वदेशमै आकर्षित गर्नेतर्फ सबैको जोड हुनुपर्ने भन्दै महासंघले आफ्ना सबै समिति फोरमको परिचालनमार्फत मुलुकभित्र उद्योग व्यवसायको विस्तार, रोजगारी सृजनामा कार्य गर्ने बताए ।

समितिका सभापति आचार्यको अध्यक्षतामा बसेको समितिको पहिलो बैठकले नेपालमा स्टार्टअप सुरु गरेका उद्यमी व्यवसायीका वास्तविक समस्या तथा चुनौतीहरूका विषयमा छलफल गरी सरकारका तर्फबाट गर्नुपर्ने सहयोगका विषयमा सुझाव पेस गर्ने, नवीन

सोचमा आधारित रहेर उद्यम गर्न चाहने ५० वटा स्टार्टअपहरूको व्यावसायिक सफलताका लागि सुरुवाती पुँजी जुटाइदिने, सुरुवाती पुँजी स्टार्टअप समितिअन्तर्गत रहेको इन्भेस्टर फोरममार्फत जुटाइने, कविराज जोशीको संयोजकत्वमा उप‑समिति गठन गर्ने, प्रत्येक महिनाको पहिलो शुक्रबार आयोजना गर्ने निर्णय गरेको छ ।

त्यस्तै, महासंघको विद्यमान नेटवर्कमार्फतका विषयमा देशैभर सचेतनामूलक कार्यक्रम लैजाने, समितिका भावी कार्यक्रम तथा योजनाका विषयलाई छिट्टै पत्रकार सम्मेलनमार्फत जानकारी गराउनेलगायत निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्