३ श्रावण २०८३, आईतवार

 

रुसी राष्ट्रपति पुटिनका आलोचक नाभाल्नीलाई थप साढे ३ वर्ष जेल सजाय

मस्कोको एउटा अदालतले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक एलेक्सी नभाल्नीलाई पहिलाको जेल सजायका बेला राखिएका सर्तहरू उल्लंघन गरेको भन्दै साढे तीन वर्षको जेल सजाय सुनाएको छ ।

गत महिना जर्मनीबाट रुस फर्किएलगत्तै पक्राउ परेका उनी त्यसयता हिरासतमै छन् । गत अगस्टमा घातक विष हमलामा परेका नभाल्नीको झन्डै ज्यान गएको थियो । उनले जर्मनीमा उपचार गराएका थिए ।

यससँगै मस्कोमा हिंसात्मक घटनाहरू भएका छन् । सामाजिक सञ्जालमा देखिएका भिडियोहरूमा प्रहरीले प्रदर्शनकारीमाथि बल प्रयोग गरेको र पक्राउ गरिरहेको देखिन्छ । नभाल्नीलाई पक्राउ गरेर थुनामा राखिएदेखि नै रुसभरका विभिन्न सहरमा दसौँ हजारले विरोध प्रदर्शन गर्दै आएका छन् ।

नभाल्नीले यसअघि नै घरमै नजरबन्दमा एक वर्ष बिताइसकेका छन् । उक्त अवधिलाई जेल सजायबाट घटाइनेछ । अदालतमा नभाल्नीले राष्ट्रपति पुटिनलाई ‘विष दिने व्यक्ति’ भनेका थिए । आफूमाथिको हमलाको दोष पनि उनैलाई लगाएका थिए ।

विरोध प्रदर्शन, थुप्रै गिरफ्तार

नभाल्नी पक्राउ परेसँगै उनका समर्थक विरोध प्रदर्शनमा उत्रिएका थिए । मस्कोको केन्द्र भाग र सेन्ट पिटर्सबर्गमा प्रहरीको बाक्लो उपस्थिति हुँदाहुँदै सयौं मानिस भेला भएका थिए । अनुगमनकर्ताका अनुसार मस्कोमा मात्रै ८ सयभन्दा बढीलाई गिरफ्तार गरिएको छ ।

नभाल्नीका वकिलले अदालतको निर्णयविरुद्ध पुनरावेदन दिने बताएका छन् । अदालतले सजाय सुनाएलगत्तै अन्तर्राष्ट्रिय समुदायको कडा प्रतिक्रिया आएका छन् । युरोपेली महादेशकै मानवअधिकारसम्बन्धी अग्रणी निकाय काउन्सिल अफ युरोपले अदालतको फैसलाले ‘विश्वसनीयतालाई उपेक्षा’ गरेको जनाएको छ ।

यूकेका विदेशमन्त्री डोमिनिक राबले फैसलालाई ‘खोटयुक्त’ भनी व्याख्या गरेका छन् । त्यस्तै जर्मनीका विदेशमन्त्री हाइको मासले फैसला ‘दृढ रूपमा स्थापित नागरिक स्वतन्त्रता र कानुनी शासनमाथि धक्का’ भएको बताए । अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिंकेनले नभाल्नीलाई बिना कुनै सर्त तत्काल रिहा गर्न आह्वान गरेका छन् ।

उनले ‘आफ्ना नागरिकको अधिकार कायम राख्न विफल’ भएको प्रति रुसलाई जवाफदेही बनाउन पनि आफ्ना साझेदारहरूसँग निकट रूपमा काम गर्ने बताएका छन् । रूसको विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले पश्चिमा देशहरूलाई प्रतिक्रिया जनाउँदै उनीहरूलाई आफ्नै समस्यामा केन्द्रित हुन भनेकी छन् । ‘सार्वभौम देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्न हुँदैन,’ उनले रुसी टिभीलाई भनिन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung