
साउदी अरबमा लागू गरिएका प्रतिबन्धात्मक व्यवस्थाहरू अझै केही दिन लागू हुने भएका छन् । कोरोना भाइरसको महामारी थप फैलिन नदिने उद्देश्यले लागू गरिएको प्रतिबन्ध थप तीन साता लागू हुने भएको हो ।
सरकारले आइतबार प्रतिबन्धात्मक व्यवस्थाहरूको अवधि थप गरिएको घोषणा गरेको थियो । साउदी अरबमा भीडभाड गर्न, धेरै जना सहभागी भएर मनोरञ्जनात्मक कार्यक्रम गर्न प्रतिबन्ध लगाइएको छ । चलचित्र प्रदर्शन गर्न, होटल तथा रेस्टुरेन्ट, क्याफेहरू सञ्चालन गर्न पनि रोक लगाइएको छ ।
आन्तरिक मामिला मन्त्रालयले कोरोना भाइरसको महामारीको खतरा अझै नटरेकाले प्रतिबन्धात्मक व्यवस्थाहरूलाई निरन्तरता दिनुपरेको स्पष्ट पारेको छ । नयाँ व्यवस्था स्थानीय समयअनुसार आइतबार राति १० बजेदेखि लागू भएको छ । कोरोनाभाइरसको संक्रमण न्यूनीकरण गर्न २० देशबाट साउदी अरब आउन पनि प्रतिबन्ध लगाइएको छ । तर साउदी अरबकै नागरिक, कूटनीतिज्ञहरू, स्वास्थ्यकर्मीहरू र उनीहरूका परिवारलाई भने कडा मापदण्ड पालना गरेर साउदी अरब प्रवेश पाउने व्यवस्था गरिएको छ ।