५ जेष्ठ २०८१, शनिबार

 

गभर्नरको सक्रियतासँगै बढ्दै क्यूआर कोडमार्फत भुक्तानी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी ‘क्यूआर कोड’ भुक्तानी बिस्तारमा निकै अग्रसर देखिएका छन् । उनी कार्यालयको काम अलिकति खुकुलो हुनेबित्तिकै कुनै न कुनै तरकारी बजार पुगेर क्युआरको उद्घाटन गरिहाल्छन् ।

शुक्रबारको दिन त उनले बैंकहरूले बिस्तार गरिरहेको क्यूआर भुक्तानीको उद्घाटनका लागि नै छुट्याएका छन् । ‘क्यासलेस गर्न नसकिए पनि लेस क्यास गर्न सकिन्छ भनेर हामी लागिरहेका छौं,’ कालिमाटी तरकारी बजारमा भेटिएका गभर्नरले बिजमान्डुसँग भने, ‘हेर्दै जाउँ, आउँदो एक वर्षभित्र देशभरका तरकारी बजारमा पुर्‍याउन सकियो भने ठूलो उपलब्धि हुनेछ ।’

क्यूआर भुक्तानी गर्दा विदेशमा कुनै पनि पैसा जाँदैन । अर्थात् भिसा र मास्टरकार्डको प्रयोग गर्दा निश्चित पैसा विदेश पठाउन पर्छ । त्यही भएर पनि गभर्नर यसका लागि उत्साहित देखिएका हुन् ।

गभर्नर अधिकारीले आइतबार चालु वर्षको मौद्रिक नीतिको अर्द्धवार्षिक समीक्षा गर्दै क्युआर कोडलगायतका विद्युतीय कारोबार प्रवर्द्धनका लागि आवश्यक थप नीतिगत व्यवस्था गर्ने घोषणा गरे ।

यसबाहेक विद्युतीय कारोबार प्रवर्द्धनका लागि वित्तीय साक्षरतामा गरिने निश्चित खर्चहरूलाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गणना गर्न सकिने व्यवस्था मिलाएका छन् ।

करिब डेढ महिनाअघि निजी क्षेत्रले तयार पारेको पूर्वाधारलाई गभर्नरले उपयोग गर्न बैंकहरूलाई हौस्याइरहेका छन् । नेपाल राष्ट्र बैंकको अग्रसरतामा वाणिज्य बैंकहरूले राजधानीका ठूला तरकारी तथा फलफूल बजारबाट क्यूआर कोड भुक्तानी सञ्चालनमा ल्याए ।

त्यसयता छोटो समयमै यसको प्रयोगतर्फ आकर्षण बढेको यो सेवा राख्ने व्यापारी र सेवाप्रदायक बैंकरहरूको भनाइ छ ।

गत पुस १० मा अधिकारीले नक्साल तरकारी तथा फलफूल बजार पुगेर क्यूआर कोडबाट भुक्तानी सेवा शुभारम्भ गरेका थिए ।

यसअघि पनि विभिन्न किसिमका खुद्रा व्यापार आउटलेटहरूका साथै होटल तथा रेस्टुरेन्टले पनि फाट्टफुट रूपमा क्यूआर कोडबाट भुक्तानी सुविधा सञ्चालनमा नल्याएका होइनन् ।

तर राज्यस्तरकै सक्रियतामा खुद्रा बजारमा सामूहिक रूपमा क्यूआर कोडबाट भुक्तानी सेवा कार्यान्वयनमा ल्याइएको यो नै पहिलो थियो ।

तरकारी बजारहरूमा नगद कारोबारलाई न्यून गर्दै विद्युतीय भुक्तानी विस्तारमा फोनपे र सानिमा बैंकको सहकार्यमा क्यूआर कोड भुक्तानी सुरु भएको थियो ।

राष्ट्र बैंकले वाणिज्य बैंकहरूको केन्द्रीय कार्यालय र शाखानजिक रहेका तरकारी तथा फलफूल बजारमा क्यूआर कोड भुक्तानी सेवा राख्न बैंकहरूलाई निर्देशन दिएसँगै यसले व्यापकता पाउँदै गएको छ ।

त्यसैको परिणामस्वरूप केही हप्तायता प्रायस् हरेक शुक्रबारजसो राष्ट्र बैंकका गभर्नरदेखि बैंकका उच्च तहका कर्मचारीहरू समेतको उपस्थितिमा तरकारी तथा फलफूल बजारहरूमा क्यूआर कोड भुक्तानीको थालनी भइरहेका छन् ।

नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दहालले बैंकहरूले सेवा सुरु गरेका स्थानमा क्यूआर कोडबाट हुने भुक्तानी बढ्ने क्रममा रहेको बताए । एकैपटकमा यसको प्रयोग नबढ्ने भएकाले उपभोक्ताहरूको बानी विस्तारै नगदरहित कारोबारमा बढ्दै जाने उनको विश्वास छ ।

‘अहिलेसम्मको विश्लेषण गर्दा तरकारी तथा फलफूल बजारसँगै अन्य व्यापारिक कारोबारमा क्यूआर कोडको प्रयोग बढ्दै जाने अवस्था छ,’ उनले भने, ‘बैंकर्स संघले अझै आक्रामक रूपमा क्यूआर कोड भुक्तानीको दायरा बढाउँदै लैजाने छ ।’

यस्तै, तरकारी तथा फलफूल बजारका सबै व्यापारीहरूले क्यूआर कोड भुक्तानी सेवा प्रयोगमा ल्याए यसको प्रभावकारितासँगै लोकप्रिय भुक्तानी माध्यम बन्न सक्ने व्यापारीहरूको भनाइ छ ।

तर, थोक बजारका व्यापारीहरूले बढी मात्रामा क्यूआर कोड भुक्तानी सेवा सुरु गरे पनि खुद्रा व्यापारीहरूले यसलाई प्रयोगमा नल्याउँदा केही बजारहरूमा यसको प्रभावकारिता नहुने उपभोक्ताहरूको गुनासो छ ।

उपभोक्ताहरूले बजारबाट किन्ने तरकारी तथा फलफूलको भुक्तानी क्यूआर कोडबाट गर्ने क्रम बिस्तारै बढ्दै गएको कालिमाटी तरकारी बजार समितिका उपनिर्देशक विनय श्रेष्ठले बताए ।

‘खुद्रा बजारमा भर्खरभर्खरै मात्र सुरु भएको विद्युतीय भुक्तानीमा अभ्यस्त भइरहेका ग्राहकले तरकारी किन्दा क्यूआर प्रयोग गर्ने गरेका छन्,’ उनले भने । कलंकी तरकारी बजारका सञ्चालक विजय केसीले पनि क्यूआरबाट भुक्तानी बढ्दै जाने देखिएको बताए ।

‘केही ग्राहकले मोबाइल डेटा प्रयोग गरेरै पनि क्यूआर कोडबाट भुक्तानी गर्ने गरेका छन् । तरकारी बजार परिसरमा भायनेटले निःशुल्क वाइफाई जडान गर्न लागेकाले क्यूआरबाट भुक्तानी गर्ने क्रम अझै बढ्ने देखिन्छ,’ केसीले भने ।

प्रतिक्रिया दिनुहोस्