१७ बैशाख २०८१, सोमबार

 

‘दस वर्षभित्रमा ताराखोला नमुना गाउँपालिका बन्नेछ’

प्रकाश घर्ती अध्यक्ष ताराखोला गाउँपालिका, बागलुङ 

‘समृद्ध ताराखोला’ को नारालाई मूर्तरूप दिन के–कस्ता प्रयास भएका छन् ?

संघीयतापछि पहिलो जनप्रतिनिधिका रूपमा हामीले काम गरिरहेका छौं । काम गर्दा विभिन्न अप्ठ्यारा त आइहाल्छन् । संघीयता कार्यान्वयनको चरणमा जाँदा स्थानीय सरकारका रूपमा काम गर्ने अवसर मिल्यो । हामी कानुनी राज्यमा भएकाले त्यहाँभित्र रहेर विभिन्न कानुन निर्माण ग¥यौं ।

सीमित जनशक्तिका बीच पनि जिम्मेवारीपूर्वक काम गरिरहेका छौं । सुरुवाती अवस्थामा अलि असहज थियो तर बिस्तारै सहज हुँदै गएको छ । जनताका जुन खालका अपेक्षा थिए ती पूरा गर्ने वातावरण बनेको छ । यसलाई निरन्तरता दिएर ५ देखि ८ वर्षसम्म आत्मनिर्भर गाउँपालिका बनाउँछौं ।

तपाईं निर्वाचित भएपछि स्थानीयले महसुस हुने गरी के परिवर्तन पाए ?

एकाइसौं शताब्दीमा पनि घोडा–खच्चडले सामान ढुवानी गर्नुपर्ने अवस्था थियो । त्यसलाई मध्यनजर गर्दै कच्ची सडक भए पनि गाउँपालिकाका प्रत्येक टोलसम्म जोड्ने काम भएको छ ।

बाहै्र महिना सवारी चल्ने बनाउन प्रदेश सरकारबाट विनियोजित रकमले गलकोटबाट ताराखोलाको १० किलोमिटर सडक कालोपत्र गर्ने काम अघि बढेको छ । संघीय सरकारको सहयोगमा रिजालचोक, अमरभूमि हुँदै गाउँपालिकासम्म सडक कालोपत्र गर्न छलफल भएको छ । यही आर्थिक वर्षभित्र डीपीआरको काम हुन्छ ।

स्वास्थ्य– स्वास्थ्य चौकीलाई स्तरोन्नति गरिएको छ । स्वास्थ्य चौकी नभएको टोलमा स्वास्थ्य एकाइ स्थापना गरी जनतालाई सुविधा दिने काम भइरहेको छ ।

करिब ११ करोड रुपैयाँ लागतमा ५ शय्याको अस्पताल बनाउन ठेक्का प्रक्रिया अघि बढेको छ । एक जना एमबीबीएस डाक्टर र दुई जना स्टाफ नर्ससहितको जनशक्ति व्यवस्थापन भएको छ । कोभिडका लागि खटिएको जनशक्तिलाई निरन्तरता दिनुपर्छ भनेर संघ र प्रदेश सरकारमा छलफल गरेका छौं ।

शिक्षा– गाउँपालिकामा उच्च शिक्षा, प्राविधिक शिक्षा पढ्ने व्यवस्था थिएन । त्यसका लागि हामीले कुनकुन क्रियाकलाप सञ्चालन गर्दा शैक्षिक गुणस्तर सुध्रन्छ भनेर होमवर्क डायरी कार्यक्रम, सिकाइ अनुदान एवम् विद्यालयमा आवश्यक दरबन्दीका लागि प्रदेश सरकारसमक्ष आग्रह गरेका छौं ।

अहिले ताराखोलाको नेपाल मावि नमुना विद्यालयका रूपमा छ । त्यहाँ प्राविधिक धारको पनि व्यवस्था छ । थप एउटा प्राविक धारको शिक्षालयका लागि सम्बन्धित विभागमा छलफल गरिरहेका छौं । गरिबीका कारण उच्च शिक्षा र प्राविधिक शिक्षाबाट वञ्चित भएकालाई छात्रवृत्तिको व्यवस्था गरेका छौं । गाउँपालिकाभित्रका केही विद्यार्थी डाक्टर पढ्दै छन् । गाउँपालिकाले केही कार्यविधि बनाएर उनीहरूलाई पनि छात्रवृत्ति व्यवस्था गरेको छ ।

खानेपानी– संघीय र प्रदेश सरकारको सहकार्यमा ‘एक घर एक धारा’ बनाउने अभियान चलिरहेको छ । करिब धेरै ठाउँमा खानेपानीको व्यवस्था भइसकेको छ । यस्तै, विद्युत्–सेवा सबैको घरघर पुगेको छ । त्यसलाई थप व्यवस्थित बनाउने योजनामा छौं ।

गाउँपालिकालाई आत्मनिर्भर बनाउन के योजना छन् ?

हामीले विद्युत्सँगै कृषिलाई जोड दिएका छौं । बाख्राको पकेट क्षेत्र निर्माण गरेका छौं । त्यसमा कम्तीमा २० घर जोडिनेछन् । एकीकृत कृषि नमुना फार्मअन्तर्गत पाँचवटै वडामा त्यो खालको कार्यक्रम सञ्चालन गरेका छाँैं । जसले कृषिकर्मबाट आम्दानी गरिरहेको छ उसलाई पालिकाले सहयोग गर्ने गरेको छ ।

अहिले ७ हजारभन्दा बढी ओखरका बोट ट्रायलका रूपमा लगाएका छौं । यहाँको सबैभन्दा मुख्य कुरा भनेको स्लेट ढुंगा हो । त्यसका विषयमा विभिन्न बहस भइरहेको छ । बुझाइमा ढुंगा खानीभन्दा फरक ढंगको हुँदो रहेछ ।

खानी भन्दा फरक अर्थ लाग्ने हुँदा अलि समस्या भएको छ । गाउँपालिकाभित्र व्यक्तिहरूका जग्गामा ढुंगाखानी छन् । तिनलाई उत्खनन गर्ने गरी वातावरण ऐन पास गरेर उद्योग सञ्चालनका लागि वातावरण तयार गरेका छौं ।

धेरै ढुंगा उत्खननका लागि उद्योगीहरूले प्रस्ताव हाल्नुभएको छ । कानुनअनुसार रहेर त्यहाँ रोजगारी पनि सिर्जना हुने गरी जोड दिएका छौं । ढुंगा सार्वजनिक, राष्ट्रिय वन र व्यक्तिका जग्गामा छन् । त्यो उत्खन गर्दा कसैलाई हानि हुँदैन ।

यो आर्थिक वर्षमा औद्योगिक ग्रामका संरचना निर्माण गर्न पाए अर्को वर्ष दुईवटाजति उद्योग सञ्चालन होलान् कि भन्ने सोच छ । यहाँका रैथाने उत्पादन आलु, भाँगोलाई पनि ‘प्रमोट’ गरी आत्मर्निभर बन्ने चरणमा गाउँपालिका छ ।

द्वन्द्वकालमा प्लाटुन कमान्डर हुनुहुन्थ्यो, अहिले जनताको प्रतिनिधि हुनुहुन्छ । दुई जिम्मेवारीमा के अन्तर रहेछ ?

जनयुद्ध गर्दा निःस्वार्थ भावले समाजका विकृति–विसंगति हटाउँदै सुन्दर समाज निर्माण गर्नुपर्छ भनेर राजनीतिमा लागेका हौ । राजनीतिमा लाग्दाखेरि पारिवारिक र समाजबाट धेरै प्रश्न आए । हामी सत्यकै पक्षमा हिँडेका छौं भनेर लागियो ।

अहिले पनि हामी सही बाटोमा हिँडेका रहेछौं भन्ने लाग्छ । शक्ति, पदभन्दा पनि जनताको सेवामा कसरी लाग्न सकिन्छ भन्नेतिर राजनीति हुनुपर्छ । जनताका समस्यालाई कसरी समाधान गर्न सकिन्छ भनेर सोच्नुपर्छ ।

अध्यक्ष बोलिसकेपछि आजको भोलि काम हुन्छ भन्ने मनोविज्ञान पनि छ । तर भिजनसहित निरन्तर लागे पूरा हुन्छ भन्नेमा विश्वस्त छु । विरोध गर्नभन्दा काम गर्न गाह्रो छ, त्यही भएर जनयुद्ध र जनप्रतिनिधिमा फरक छ ।

अन्त्यमा ?
अहिले गाउँपालिकाको प्रशासकीय भवन बन्दै छ । अस्थायी अस्पताल बहुउद्देश्यीय सभाहलबाट सञ्चालन भएको छ । सभाहल पनि छिट्टै उद्घाटनको चरणमा पुगेका छौं । गाउँपालिकास्तरीय खेलमैदान निर्माणको चरणमा छ । त्यस्तै जनयुद्धको आधार–इलाका भएकाले संग्रहालय पनि बन्दै छ ।

पर्यटनसम्बन्धी कार्यक्रममा नेपालका सातवटा नमुना योजनामध्ये ताराखोला गाउँपालिका सूचीकृत भएको छ । अब संघीय सरकारसँग मिलेर गाउँपलिकामा पर्यटनसम्बन्धी के–कस्ता क्रियाकलाप हुन सक्छन्, छलफल गछौं ।

सोही अनुसार डीपीआर तयार हुन्छ । आगामी वर्षदेखि बहुवर्षे योजना निर्माण गरेर त्यसलाई कार्यान्वयन गर्नेछौं । सातदेखि १० वर्षभित्र पर्यटन, शिक्षा एवं स्वास्थ्य क्षेत्रमा नमुना गाउँपालिका बन्नेछ ।

प्रतिक्रिया दिनुहोस्