
नेपाल कम्युनिष्ट पार्टी (एमाले) उपाध्यक्ष युवराज ज्ञवालीले ओली पक्षले एकलौटी ढंगले गरेको निर्णय आफूहरुलाई मान्य नहुने बताएका छन् । शुक्रवार प्रधानमन्त्रीनिवास बालुवाटारमा केन्द्रीय कमिटी बैठक डाकेर प्रधानमन्त्री ओलीले महत्त्वपूर्ण निर्णय गराएका हुन् ।
उपाध्यक्ष ज्ञवालीले भने‘ जुन निर्णय सुन्नमा आएको छ, यो अवैधानिक हो राजनीतिक रूपले गलत हो’ ‘यो कुनै पनि हालतमा मान्य हुन सक्दैन । यस्तै हो भने नयाँ ढंगले सोच्नुपर्छ ।’
शुक्रवार बसेको बैठकले एमालेको महाधिवेशन आगामी मंसिर २ देखि ६ गतेसम्म गर्ने निर्णय गरेको छ । बैठकले पाँच मन्त्रीसहित २३ जना पूर्व माओवादी नेताहरुलाई केन्द्रीय समितिमा मनोनयन गरेको छ ।
एमाले बैठकले विभागहरुको जिम्मेवारी पनि तोकेको छ । जस अनुसार स्कूल विभागको प्रमुखमा केपी शर्मा ओली, संगठन विभाग प्रमुखमा विष्णु पौडेल, प्रचार विभाग प्रमुखमा प्रदीप ज्ञवाली र संसदीय विभाग प्रमुखमा सुवास नेम्वाङ तथा विदेश विभाग प्रमुखमा राजन भट्टराईको जिम्मेवारी पाएका छन् ।
बैठकले पार्टी प्रवक्ताको जिम्मेवारी प्रदीप ज्ञवालीलाई दिने निर्णय गरेको छ ।
त्यस्तै सातै प्रदेशका इन्चार्ज र सहइन्चार्ज पनि तोकिएका छन् । प्रदेश १ मा सुवास नेम्वाङ, प्रदेश २ मा सत्यनारायण मण्डल, बागमती प्रदेशमा रामबहादुर थापा बादल, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल, कर्णालीमा मणि थापा र सुदूरपश्चिममा लेखराज भट्ट इन्चार्ज तोकिएका छन् ।