२१ बैशाख २०८१, शुक्रबार

 

‘सरकारले अनुकूल वातावरण बनाइदिए कपडामा विदेशको भर पर्नै पर्दैन’

पुख्र्यौली पेशा अंगाल्दै आएका सुकुन्द प्रधान २०४३ सालमा काठमाडौं छिरे । बागलुङबाट व्यवसायमा लागेका प्रधान बुटवल हुँदै काठमाडौं आएका हुन् ।

व्यवसायकै क्रममा २०४७ सालमा नेपाल व्यापार संघको महासचिव भएका प्रधान क्रमशः २०५२ सालमा उपाध्यक्ष, २०५८ सालमा अध्यक्ष भएर महासंघको नेतृत्व सम्हालिसकेका छन् ।

वर्तमान समयमा संघको सल्लाहकार संयोजकका रुपमा रहेका उनी सहकारी क्षेत्रबाट देशको अर्थतन्त्रलाई कसरी माथि उकास्न सकिन्छ भनेर लागिपरिरहेका छन् । यिनै विषयमा केन्द्रीत रहेर उनीसँग गरिएको कुराकानी :

000

कपडा व्यवसाय मेरो पुख्र्यौली पेसा हो । मैले ७ वर्षको हुँदादेखि यो व्यवसायबारे जान्न–बुझ्न पाएँ । त्यस बेला म स्कुल जान्थेँ । बिहान–बिहान मेरा बाजे तमाखु खानुहुन्थ्यो ।

उहाँले नै मलाई कपडा नाप्न सिकाउनुभयो । म सानो तर मिटर लामो हुन्थ्यो । बल्ल–बल्ल हात तन्काएर कपडा नाप्थेँ । नाप्दानाप्दै रोकिए बाजे तमाखु खाने नलीले हान्नुहुन्थ्यो ।

हामी पहिले चेतुवा कपडा बेच्थ्यौं । गाउँतिरका मान्छेलाई २–४ मिटर कपडा बेच्ने काम गथ्र्यौं । बाजेबाट सुरु भएको पेसालाई बुबाले पनि निरन्तरता दिनुभयो ।

मलाई बुबाले १७ वर्षको हुँदा बुटवल पठाउनुभयो । उमेर सानै भए पनि मैले होलसेलको व्यापार सुरु गरेँ । तत्कालीन सांसद सूर्यप्रसाद प्रधान मेरो ठूलो बुबाको छोरा हुनुहुन्थ्यो ।

उहाँले मलाई होलसेल व्यापार कसरी गर्ने भनेर सिकाउनुभयो । १८ वर्षको उमेरमा मलाई बम्बई लैजानुभयो । उहाँको साथमा दुई वर्ष बिताउँदा मैले व्यापारसम्बन्धी धेरै कुरा जानेँ । त्यहाँ बसेर धेरै परिश्रम गरेँ ।

२०४३ सालमा काठमाडौं छिरेँ । काठमाडौंमै व्यापार सुरु गरेँ । राम्रै चल्यो । त्यसपछि म व्यापारकै सिलसिलामा चाइना पुगेँ । म पुगेको सहरमा नेपालीहरू कोही थिएनन् । चिनियाँहरूको भाषा नबुझ्ने भएकाले मलाई साह्रै दुःख भयो । ट्वाइलेट जानसमेत भाषा जानेको मान्छेलाई फोन गरेर सोध्नुपथ्र्यो ।

पहिलोपटकको चाइना बसाइमा मैले बिस्तारै धेरै कुराहरू सिकेँ । दोस्रोपटक जाँदा त त्यहीँ आफ्नो अफिस नै खोल्ने भइसकेको थिएँ । त्यहाँ एउटा मारवाडी भाइले मेरो व्यवसाय हेरिदिने गथ्र्यो ।

छोरा पढाइका लागि लन्डन गएको थियो । ऊ फर्केपछि उसैलाई त्यो अफिसको जिम्मेवारी दिएँ । छोराले १० वर्ष चीनमा बसेर व्यापार ग¥यो । अहिले नेपालमै केही गर्छु भनेर कपडाकै व्यापार सुरु गरेको छ । छोरा रेडिमेड कपडाको व्यवसाय गर्छ, म अहिले काँचो कपडाको व्यवसाय गर्छु ।

नेपालीहरूको छनोट

नेपालीहरूमा पनि विभिन्न ब्रान्डका कपडा प्रयोग गर्नेहरू छन् । जसले सस्तो सामान खोज्छ, उसलाई त्यस्तै सामान ल्याइदिनै प¥यो । तर धेरै मान्छेहरू ‘बी’ ग्रेडको माल भन्दै आउँछन् । ‘ए’ ग्रेडको कपडा धेरैले लगाउन सक्दैनन् ।

मेरो एउटा साथी थियो । उसले जिन्स पाइन्ट किन्न गाउँको एक रोपनी जग्गा बिक्री गरिदिएको थियो । त्यसपछि विशाल बजारमा आएर ४ हजार पर्ने जिन्स पाइन्ट किनेको थियो ।

उसले त्यतिखेर प्रयोग गरेको जिन्स पाइन्ट अहिले ५ सयदेखि एक हजारसम्ममा बन्छ । नेपालमा प्रयोग गरिने सस्तो सामानहरू यहीँ बन्छन् । बाहिरबाट ल्याउनै पर्दैन ।

नेपाल सरकारले अझै पनि अनुकूल वातावरण बनाइदिने हो भने कपडाका लागि अरू देशमा भर पर्नै पर्दैन । सबैजसो कपडा यहीँ बनाउन सकिन्छ तर लगानी, ब्याजको कुरा आउँछ । गार्मेन्ट्सलाई लगानीको छुट छैन ।

अहिले बिस्तारै नेपालमा गार्मेट्न्स उद्योगको संख्या वृद्धि हुँदै छ । लकडाउनपछि युवाशक्तिहरूले नेपालमै काम गर्नुपर्छ भन्ने धारणा बनेको छ । उनीहरूले विदेशबाट कमाएको पैसाले मेसिन किनेर दिनमा १५ देखि २० वटा पाइन्ट सिलाए पनि महिनामा ५० हजार कमाउन सक्छ ।

विश्वभरि फैलिएको कोरोनाले कपडा व्यवसायमा पनि असर पा¥यो । रेडिमेड कपडा व्यवसायीले बजारबाट ल्याउनुपर्ने पैसा उठेन । तर अहिले बिस्तारै यो व्यवसाय लयमा फर्किंदै छ ।मेरो कुरा गर्दा म सस्तो र राम्रो कपडा खरिद गरेर नेपालका गार्मेन्ट्समा सप्लाई गर्छु ।

नेपाली बजार

नेपाली बजारमा भनेको सामान पाउन मुस्किल छ । रसुवागढी नाकाबाट पछिल्ला दिन सजिलै सामान आएको छैन । सन् २०१९ को अन्तिममा लोड गरेको सामान बल्ल काठमाडौं आइपुगेको छ ।

त्यही पनि कहिले खुल्ने र कहिले बन्द हुने गरिरहेको छ । नेपाल आउने एक हजार कन्टेनरमध्ये अहिले दिनको ४–५ वटा मात्रै भित्रिएका छन् । यसले व्यापारीहरूलाई क्षति पु¥याएको छ ।

बजारमा भनेको सामान पाउन मुस्किल छ । चाइनाबाट कम आउन थालेपछि अहिले भारतबाट सामान ल्याउन व्यापारीहरू लागिपरिरहेका छन् । तर चाइनाको तुलनामा भारतको सामान महँगो छ ।

यस्तो परिस्थितिमा नेपाल आफैंले किन उत्पादन गर्न सक्दैन भन्ने प्रश्न उठ्ला । तर कच्चा पदार्थ पनि तिनै देशबाट ल्याउने हो । सियोदेखि धागोसम्मै भारत र चाइनाबाट आउँछ ।

पछिल्ला दिन काठमाडौंका कपडा पसलहरूमा भिडभाड भए पनि सामान बिक्री भएको छैन । किनभने यो न जाडोको समय भयो न त गर्मीको । ग्राहकले न जाडोको समान किन्छ न गर्मीको । त्यसैले खासै व्यापार छैन ।

बजारमा बिक्री हुने कपडाहरूको कुरा गर्दा देख्दा उस्तै तर पसलमा महँगो, बाहिर सस्तोमा पाइने अवस्था छ । बाहिर राख्नेले क्वालिटीभन्दा पनि सस्तो सामानमा ध्यान दिएको हुन्छ । पसलमा राख्नेले भाडा, क्वालिटी अनि विज्ञापन सबै खर्च त्यसैमा जोडेको हुन्छ ।

सफल व्यवसायी कसरी बन्ने ?

व्यवसाय गर्ने मान्छे चलाख हुनुपर्छ । ग्राहकसँग बोल्न र उसलाई प्रभावित पार्न सक्नुपर्छ । व्यवस्थापन र पुँजीको कुरा पनि उठ्छ । जस्तै– मैले विभिन्न देशबाट सामान ल्याउँछु, त्यहाँ विश्वासको कुरा अडिएको छ ।

त्यसै गरी यसमा परिवारको पनि सहयोग चाहिन्छ । परिवारको सहयोग भयो भने व्यवसायमा सफलता हासिल गर्न सकिन्छ । मसँग काम गरेका धेरै जना आफ्नै व्यवसायमा लागेका छन् ।

यहाँबाट सिकेर आफूले व्यवसाय गरेका छन् । उनीहरूलाई मैले पनि सहयोग गरेको छु । युवा शक्ति खाली हात बस्नुहुन्न । व्यवसायमा लाग्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्