६ जेष्ठ २०८१, आईतवार

 

हल खोल्न माग गर्दै जब अभिनेत्रीले मञ्चमै लुगा फुकालिन्

एक फ्रान्सेली अभिनेत्रीले फ्रान्समा भएको ‘सेसर अवार्ड्स’ भनिने पुरस्कार वितरण समारोहमा कोरोना महामारीका बेला सरकारले संस्कृतिलाई टेवा पुर्‍याउन थप सहयोग गर्नुपर्ने माग गर्दै नग्न विरोध प्रदर्शन गरेकी छन्। ५७ वर्षीया कोरिन मासियरो ओस्करको फ्रान्सेली संस्करण मानिने सेसर अवार्ड्स समारोहमा रगत लतपतिएको लुगाबाहिर गधाको मुखौटोयुक्त पहिरनसहित मञ्चमा पुगेकी थिइन् । फ्रान्समा तीन महिनाभन्दा बढी समयदेखि सिनेमा–घर बन्द छन्।

उक्त समारोहमा उत्कृष्ट फिल्म पुरस्कार अल्बेयर डुपोन्टेलको त्रासदीपूर्ण हास्य चलचित्र ‘अडेयु लेस कन्स’ अर्थात् ‘मूर्खहरूलाई बाइबाई’ भन्ने चलचित्रले पाएको थियो। गम्भीर रोग लागेकी महिलाले आफ्नो बच्चाको व्यग्र खोजी गरेको कथा बोकेको सिनेमाले सातवटा सेसर पुरस्कार प्राप्त गरेको थियो। त्यसमा उत्कृष्ट निर्देशनको पुरस्कार पनि थियो ।

उत्कृष्ट विदेशी सिनेमा डेनमार्कको ‘अनदर राउन्ड’ भन्ने थोमस भिन्टरबर्गले निर्देशन गरेको सिनेमा ठहरियो जसमा मित्रहरूले आफ्नो रगतमा मदिराको एक स्थायी तह कायम राखेर आफ्नो जीवनस्तर सुधार्ने कुरा देखाइएको छ।

मासियरोलाई शुक्रबार सामाजिक दूरी कायम गरी आयोजना गरिएको समारोहमा ‘बेस्ट कस्ट्युम’अर्थात् सबभन्दा राम्रो पोसाक शीर्षकमा दिइने पुरस्कार प्रदान गर्न निम्त्याइएको थियो। समारोहमा सहभागी हुन लगाएको बाहिरी पोसाकमा ‘संस्कृति छैन त भविष्य छैन’ भन्ने नारा लेखिएको थियो। तर मञ्चमा पुगेपछि मासियरोले सबै लुगा फाल्दै उपस्थित पाहुनालाई स्तब्ध पारिदिएकी थिइन्। फ्रान्सका प्रधानमन्त्री जाँ कास्टेक्सलाई प्रत्यक्ष सम्बोधन गर्दै उनको पिठिउँमा नारा लेखिएको थियो , ‘हामीलाई कला फिर्ता देऊ जाँ।’

अरू अभिनेता र निर्देशकले पनि कार्यक्रममा त्यस्तै माग गरेका थिए। ‘हाम्रा छोराछोरी कपडाको पसल जान पाउने तर सिनेमा जान नपाउने, यो बुझिनस्कनु भयो,’ स्टेफन डिमस्टियरले ‘स्क्रिनप्ले’ पुरस्कार थाप्दै भने। सांस्कृतिक प्रदर्शनीस्थलहरू बन्द गरेको विरोधमा गत डिसेम्बरमा सयौँ अभिनेता, नाट्य निर्देशक, संगीतकार, फिल्म प्राविधिक र आलोचकले पेरिसमा विरोध प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्