४ श्रावण २०८३, सोमबार

 

बढ्दै ‘इथिकल ह्याकर’को कमाइ

ह्याकरहरूले सन् २०२० मा विभिन्न सफ्टवेयरमा भएका खराबी औँल्याएर झन्डै चार करोड डलर कमाएका छन् । कतिपय कम्पनीले आफ्ना सफ्टवेयरमा आएका खराबी पत्ता लगाइदिएबापत उनीहरूलाई पुरस्कार दिने गरेका छन्। त्यस्ता पुरस्कारको सहजता गरिदिने ‘ह्याकर वन’ नामक संस्थाका अनुसार यस्ता त्रुटिबारे सम्बन्धित कम्पनीलाई बताइदिएपछि नौ जना ह्याकर प्रत्येकले १० लाख डलर पुरस्कार पाए। त्यसरी सुरक्षाका निम्ति ह्याक गर्नेहरूलाई ‘ह्वाइट ह्याट’ वा ‘इथिकल ह्याकर’ पनि भनिन्छ।

दुई वर्ष अगाडिदेखि मात्र यस्ता त्रुटि वा खराबी खोज्ने काम थालेका एक रोमानियाली पुरुषको आम्दानी २० लाख डलर नाघ्यो। यूकेका धेरै कमाउने ह्याकरले गत वर्ष झन्डै चार लाख डलर कमाए। ह्याकर वन संस्थाका अनुसार महामारीले यी ह्याकरहरूलाई काम गर्न धेरै समय उपलब्ध गरायो। उसले गराएको एक सर्वेक्षणमा ३८५ सहभागीले कोभिड–१९ महामारी सुरु भएदेखि ह्याक गर्न धेरै समय पाएको बताएका थिए।

धेरैजसो ह्याकरहरू ह्याकिङमा पूर्णकालीन नभएर अंशकालीन हुन्छन्। अनि उनीहरू अमेरिका, आर्जेन्टिना, चीन, भारत, नाइजेरिया तथा इजिप्टसहित विभिन्न देशमा बस्छन्। ह्याकरहरूले पुरस्कारमा पाउने रकमको परिमाण उनीहरूले पत्ता लगाएका खराबीको गम्भीरतामा भर पर्छ। करिब १४० डलरदेखि निकै धेरै रकम उनीहरूले पाउन सक्छन्।

क्यालिफोर्नियामा अवस्थित ह्याकर वनले उसको मञ्च प्रयोग गर्न ह्याकरहरूसँग केही शुल्क लिन्छ। ब्रिटिस ह्याकर केटी प्याक्स्टन–फेर म्यान्चेस्टर मेट्रोपोलिटन विश्वविद्यालयमा प्राध्यापन गर्छिन्। तर उनी फुर्सदको समयमा सफ्टवेयरका खराबी खोज्ने गर्छिन्।

पैसा राम्रै पाइने भए पनि यो तत्काल धनी हुने गतिविधि भने नभएको उनी बताउँछिन्। ‘मैले १२ महिनामा करिब १२ हजार पाउन्ड कमाएँ होला,’ उनले बीबीसीलाई भनिन्, ‘मैले केवल पैसा कमाउन मात्र समय खर्चिरहेकी छैन। मैले यी सफ्टवेअर वा एप्लिकेसनहरूलाई थप सुरक्षित पार्न सघाइरहेकी पनि छु। त्यसैले मेरो निम्ति यो चुनौती तथा केही राम्रो गर्ने अवसर दुवै हो।’

अर्को त्यस्तै मञ्च हो, यस ‘वी ह्याक’। यो फ्रान्समा छ । यसका २२ हजार ह्याकर सदस्यहरूले सन् २०२० मा अघिल्लो वर्षभन्दा दोबर संख्यामा बगहरू पत्ता लगाएको उसले बताएको छ। ‘नयाँ जोखिमहरूका माझ कम्पनीहरूको आर्थिक जीवन साइबर सुरक्षामा भर पर्दै गएको छ जसले गर्दा बग पत्ता लगाउँदा पुरस्कार दिइने व्यवस्था नै एक किसिमले सूचना सुरक्षा अधिकारी बनेको छ,’उक्त मञ्चका प्रमुख कार्यकारी गियोम भासा हुयेरले बताए।

अर्को संस्था बगक्राउडले गत १२ महिनामा उसको मञ्चमा खराबीहरू औँल्याउने काम ५० प्रतिशतले बढेको जनाएको छ। विगत पाँच वर्षमा पुरस्कारका निम्ति बग पत्ता लगाउने व्यावसायिक कार्यक्रमहरू निकै लोकप्रिय भएका छन्। तर विज्ञहरू भन्छन्, ‘यसमा धेरै भर पर्नु भनेको प्रणालीमा धेरै खराबी रहेको भन्ने बुझिन्छ।’ सुरक्षा अनुसन्धानकर्ता भिक्टर गिभर्सले द नेदरल्यान्ड्समा रहेको जीडीआई फाउन्डेसन चलाउँछन्। उनले पैसाका निम्ति कहिल्यै आफूले बग वा खराबी पत्ता लगाउने काम नगरेको सुनाए।

‘हामी त्यस्तो पुरस्कारको दौडमा सामेल हुँदैनौँ किनभने धेरैजसो कम्पनीहरूले उनीहरूका प्रणालीका निश्चित पाटोमा मात्र अनुसन्धान गर्न अनुमति दिन्छन्,’ उनले भने, ‘हामी त जहाँ खराबी हुन सक्छ, त्यहाँ खोज्न चाहन्छौँ र आफ्नो स्वतन्त्रता कायम राख्न चाहन्छौँ ।’

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung