२९ बैशाख २०८२, सोमबार

 

प्रचण्डदेखि वैद्यसम्मलाई गोपाल किराँतीले लेखे यस्तो चिठी

माओवादी केन्द्रका अध्यक्ष गोपाल किराँतीले सबै पूर्व माओवादी पार्टी तथा समूहबीच एकता अभियान थालेका छन् । पूर्व माओवादीहरु एक हुनुपर्ने भन्दै अध्यक्ष किराँतीले माओवादीबाट विभाजन भएर बनेका सबै दलका शीर्ष नेताहरुलाई पत्राचार गरेका हुन्।

किराँतीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’, हाल जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष रहेका डा।बाबुराम भट्टराई र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई बेग्लाबेग्लै पत्र पठाएर पूर्व माओवादी एक हुन आग्रह गरेका हुन्।

उनले ठूलो शक्तिका रुपमा रहेको माआवादी टुटफुट र छिन्नभिन्न हुँदा अन्य गलत तत्त्वले त्यसको फाइदा उठाएको भन्दै एक भएर देश, जनता र समाजवादी आन्दोलनमा लाग्नुपर्ने बताएका छन् । उनले पूर्व माओवादीहरुको एकतापछि सम्पूर्ण कम्युनिस्टबीच पनि एकता गरेर अगाडि बढ्नुपर्ने प्रस्ताव गरेका छन् ।

‘क्रान्तिकारी माओवादीले भनेको जनगणतन्त्र, विप्लव नेकपाले भनेको वैज्ञानिक समाजवाद, नेकपा (माओवादी केन्द्र) ले भनेको ११ विशेषताको समाजवादी निर्वाचन प्रणाली तथा डा। बाबुराम भट्टराईहरुले भनिरहन भएको जनताको समाजवाद र प्रचण्डले भनिरहनु भएको समाजवाद वस्तुतः एउटै राजनीतिक कार्यक्रम हो, भन्ने हामीलाई लाग्दछ’ किराँतीको पत्रमा उल्लेख छ।

पत्रमा थप भनिएको छ, ‘अतः उपरोक्त सापेक्ष सम्बन्धित राजनीतिक कार्यक्रमका आधारमा माओवादी तथा पूर्व माओवादी र सम्पूर्ण कम्युनिष्टहरुबीच महाध्रुवीकरणको ठोस तथा यथासिघ्र पहलका लागि हाम्रो पार्टी केन्द्रीय समिति कमरेड समक्ष हार्दिक आग्रह गर्दछ।’

किराँतीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई सम्बोधन गरेर पठाएको पत्रमा पूर्व माओवादीबीच एकताको पहल गर्न र त्यसको नेतृत्व लिन आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung