नेकपा एमालेका नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले गर्न लागेको कारबाहीविरुद्ध बुधबार दायर गरेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । रिटको पेशी भने आइतबारका लागि तोकिएको सर्वोच्च अदालत स्रोतले जनाएको छ।
प्रधानमन्त्री केपी ओलीले कारवाही प्रक्रिया अघि बढाएपछि त्यसलाई रोक्न एमालेका नेता नेपाल र झलनाथ खनाल समूह बुधबार सर्वोच्च अदालत पुगेका थिए। ओलीले गरेको कारबाही प्रक्रिया पार्टी विधान र कानुनविपरित भएको भन्दै उनीहरू सर्वोच्च गएका थिए। निवेदन बुधबार भने दर्ता भएको थिएन ।
यसअघि ओलीले मंगलबार नेपाल समूहका २७ जना संघीय संसद र कर्णाली प्रदेशका ५ जना गरी ३२ सांसदलाई स्पष्टीकरण सोधेका थिए। नेकपा एमालेका नेपालसहित केही सांसदले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिइसकेका छन्।
नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई यसअघि पनि स्पष्टीकरण सोधिएकोमा उनीहरुलाई पुनः स्पष्टीकरण सोधिएको हो । उनीहरु चारजनाले ३ दिनभित्र र बाँकीलाई २ दिनभित्र जवाफ पेश गर्न भनिएको छ।


















































































































































































































