
आफ्नो २९ वर्षीय छोराको शव गोडानजिकै राखेकी एक आमाको एउटा हृदयविदारक तस्बिर भारतमा भाइरल भएको छ । भारतको उत्तर प्रदेशमा पर्ने वनारस सहरको एउटा व्यस्त सडकमा छोरा विनीत सिंहको शवसँग चन्द्रकला सिंह थकित र भावविहीन अवस्थामा देखिन्छिन् ।
बढ्दो महामारी र भताभुंग हुने सँघारमा रहेको स्वास्थ्य प्रणालीको चेपुवामा परेका भारतीयहरूको आर्तनादको यो एउटा प्रतिनिधि तस्बिर हो । कोभिड–१९ महामारीको दोस्रो लहरसँग जुझिरहेको भारतका नराम्ररी प्रभावित राज्यमध्ये उत्तर प्रदेश एक हो । महामारीको सामना गर्न संघर्षरत बनारस प्रधानमन्त्री नरेन्द्र मोदीको निर्वाचन क्षेत्र हो ।
मृतकका काका जय सिंहले बीबीसी हिन्दीलाई बताएअनुसार सोमबार बिहान घरबाट चन्द्रकला आफ्ना छोरासहित बनारस विश्वविद्यालयसँग जोडिएको एउटा अस्पताल पुगेकी थिइन् । विनीतलाई मिर्गौलासम्बन्धी समस्या देखिएको थियो र केही समययता उनले बीएचयू अस्पतालका एक चिकित्सकसँग देखाउँदै आएका थिए ।
‘पछिल्लो पटक सोमबारका लागि उसले चिकित्सकसँग समय लिएको थियो,’ जय सिंहले भने । तर जब आमा र छोरा अस्पताल पुगे, उनीहरूलाई डाक्टर नभएको जानकारी दिइयो र आपत्कालीन सेवा दिने ट्रमा सेन्टर जान भनियो ।
चन्द्रकलाका अनुसार ट्रमा सेन्टरको प्रवेशद्वारमै विनीत ढले र अस्पतालका कर्मचारीले उनलाई भर्ना गर्न अस्वीकार गरे । विनीतलाई कोरोनाभाइरस संक्रमण भएको पाएपछि उनीहरूले भने, ‘यहाँबाट लग्नुस् ।’
‘मेरो बच्चालाई सास फेर्न गाह्रो भइरहेको थियो । हामीले अक्सिजन र एम्बुलेन्सका लागि हारगुहार गर्यौँ तर केही पाएनौँ,’ चन्द्रकलाले भनिन् । अस्पतालमा शय्या अभावका कारण एउटै शय्यामा दुई जनासम्म बिरामी राख्ने गरिएको छ । त्यहाँबाट चन्द्रकलाले विद्युतीय रिक्सामा राखेर नजिकैको अर्को अस्पतालमा छोरालाई लगिन् तर त्यो अस्पतालले पनि भर्ना गर्न अस्वीकार गर्यो । तेस्रो अस्पताल चहार्ने क्रममा विनीतको ज्यान गयो ।
विनीतको शव आमाको गोडानिर रह्यो । सहयोगका लागि याचना गर्दागर्दै थाकेकी चन्द्रकला छोराको मृत्यु घटनाले टुटेपछि शोकमा डुबिन् ।
छोराको मेडिकल रेकर्डहरू र फोन पनि चोरी भयो । पहिलो पटक स्थानीय दैनिक जागरण पत्रिकाले छापेको त्यो हृदयविदारक तस्बिर भारतमा व्यापक रूपमा सेयर गरियो । उक्त घटनाबारे समाचार लेखेका संवाददाता श्रवण भारद्वाजले विनीतको ज्यान गएको सडक ठ्याक्क बीएचयूअगाडि पर्ने र आसपास दर्जनौँ निजी अस्पताल रहेको बीबीसीलाई बताए ।
‘तर कुनै अस्पतालले पनि हामी हेर्छौं भनेन,’ उनले भने । कोरोनाभाइरस संक्रमणकै कारण विनीतको ज्यान गए वा नगएको अथवा कुनै लक्षण नदेखिएको उनको परिवारले बताएकाले उनलाई संक्रमण भएरनभएको स्पष्ट छैन । विनीतका काका जय सिंहले भने, ‘अस्पताल भर्ना गरिएको भए, उनलाई अक्सिजन दिइएको भए र मिर्गौलासम्बन्धी समस्याको उपचार गरिएको भए विनीतलाई बचाउन सकिन्थ्यो होला । बेवास्ताका कारण उनको ज्यान गयो । यस्तो बेवास्ताले धेरैको मृत्यु निम्त्याउन सक्छ ।’
हिजोआज बिरामीले भरिएका अस्पतालअगाडि भिडले कुर्दै गरेको, भर्नाका लागि पालो कुर्दै एम्बुलेन्सहरूको ताँतीका दृश्य भारतभरि देख्न सकिन्छ । विनीतले जस्तै बाटोमै कतिपयले ज्यान गुमाएका छन् । बीएचयू अस्पतालका एक अधिकारीका अनुसार अस्पतालले महामारीका कारण अन्य बिरामीलाई अनलाइनमार्फत मात्रै परामर्श दिइरहेको छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। शरद माथुरले आफूहरूले सक्दो गरिरहेको बताउँदै भने, ‘तर धेरै दबाबमा काम गर्नुपरेको छ । आपत्कालीन सेवा चाहिनेहरूलाई उपचार गरिँदै छ र गम्भीर भएकाहरू हामीकहाँ आइरहेका छन् । हरेक बिरामीको ज्यान नजोगिन पनि सक्छ ।’