प्रधानन्यायाधीश र प्रधानमन्त्रीबीच सोमबार बेलुकी भेट भएको भनी समाचार प्रकाशन गरेका दुई सञ्चारमाध्यमका सम्पादकलाई सर्वोच्च अदालतले कार्यालयमै बोलाएर माफी माग्न दबाब दिएको छ ।
समाचारको विषयलाई लिएर इमेज खबर डटकमका सम्पादक राजन कुइँकेल र नेपाल समय डटकमका प्रधान सम्पादक नारायण अमृतलाई मंगलबार सर्वोच्च अदालतबाट सोधपुछका लागि भन्दै बोलाइएको हो ।
अदालतले बोलाएपछि सम्पादकद्वय पत्रकार महासंघका पदाधिकारीलाई लिएर अदालत गएका थिए । सर्वोच्च अदालतका रजिस्ट्रार नारायण पन्थीले उनीहरूलाई समाचारको स्रोत पुष्टि गर्न आग्रह गर्दै समाचार हटाउन र क्षमा माग्न भनेका थिए ।
समाचारमा चित्त नबुझे अदालतले विज्ञप्तिमार्फत खण्डन गर्नुपर्ने या प्रेस काउन्सिलमा जानुपर्ने जवाफ दिँदै पत्रकारहरूले यसरी बोलाएर दबाब दिइनु उचित नभएको बताएका थिए ।
मंगलबार नै सर्वोच्च अदालतले प्रेस विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश र प्रधानमन्त्रीबीच भेट भएको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको थियो ।
उल्लिखित समाचार दुराशयपूर्ण र भ्रमपूर्ण रहेको बताउँदै सर्वोच्चले यो विषय पत्रकार आचारसंहिता विपरीत भएकाले ‘कानुनी दायरामा आउन सक्ने’ भनेको थियो ।
यसैबीच, समाचारको विषयलाई लिएर पत्रकारहरूलाई बोलाइएको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।
महासंघका महासचिव रोशन पुरीद्वारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रकाशितरप्रसारित समाचारको विषयमा चित्त नबुझे या गुनासो रहे त्यसउपर कानुनी उपचार खोज्ने वैधानिक विधि र स्थापित पद्धति छ ।
त्यसलाई बेवास्ता गर्दै मुलुकको न्यायपालिकाको सर्वोच्च संस्था सर्वोच्च अदालतबाट पत्रकारलाई बोलाएर सोधपुछ गरिनु प्रेस स्वतन्त्रता विरोधी कार्य हो ।’
महासचिव पुरीले भनेका छन्, ‘महासंघ संविधानले सुनिश्चित गरेको प्रेसको अधिकारको सम्मान गर्न सम्बन्धित निकायसँग आग्रह गर्दछ ।’



















































































































































































































