प्रतिनिधिसभा विघटनसम्बन्धमा परेका निवेदनहरूमाथि शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ । यिनै मुद्दा हेर्न शुक्रबार बिहान प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नेतृत्वमा पाँच सदस्यीय संवैधानिक इजलास गठन गरिएको हो ।
इजलासका पाँच सदस्यमा गत फागुन २३ गते नेकपा फुटाएर एमाले–माओवादी अलग–अलग बनाउने फैसला सुनाएका न्यायाधीश बमकुमार श्रेष्ठ पनि छानिएका छन् ।
इजलासका अन्य न्यायाधीशमा दीपककुमार कार्की, आनन्दमोहन भट्टराई र तेजबहादुर केसी छन् ।सत्तारूढ नेकपाले आफ्नो पार्टीको नाम जुधाएर निर्वाचन आयोगमा दर्ता गराएको भन्दै नेकपाका नेता ऋषि कट्टेलले सर्वोच्च अदालतमा दुई वर्ष पहिले मुद्दा दायर गरेका थिए ।
सोही मुद्दामा फैसला सुनाउँदै फागुन २३ गते न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीले नेकपाको नाम रद्द गर्ने मागमा फैसला गर्दै केपी शर्मा ओली र पुष्पकमल दाहाल नेतृत्वको पार्टीलाई एमाले र माओवादीका रूपमा पुरानै हैसियतमा फर्काइदिएका थिए ।
उक्त निवेदनमा निवेदकको मागभन्दा बढी फैसला गरिएको भन्दै फैसला आएको थियो ।तिनै श्रेष्ठले अहिले संवैधानिक इजलासबाट संविधानको व्याख्या गर्ने महत्त्वपूर्ण जिम्मेवारी पाएका हुन् ।
दाङनिवासी न्यायाधीश श्रेष्ठ न्याय सेवाका पुराना र अनुभवी मानिन्छन् ।
न्याय सेवाको शाखा अधिकृतबाट करिअर सुरु गरेका उनले जिल्ला न्यायाधीश र पुनरावेदन अदालतको मुख्य न्यायाधीश हुँदै विगत चार वर्षदेखि सर्वोच्च अदालतमा न्यायाधीशको जिम्मेवारी सम्हाल्दै आएका छन् ।
सर्वोच्चमा उनी प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग निकटस्थ मानिन्छन् । विगतमा खासै चर्चा र विवादमा नआएका श्रेष्ठ फागुन २३ मा गरेको नेकपासम्बन्धी फैसलापछि भने विवादमा तानिएका थिए ।
















































































































































































