३ जेष्ठ २०८१, बिहीबार

 

बागलुङका महिला संगठनले भने– ‘संसद् विघटन असंवैधानिक हो, अविलम्ब पुनःस्थापना गरौं’

राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक गरेको संसद् विघटनको बागलुङस्थित महिला संगठन र महिला अगुवाहरूले विरोध जनाएका छन् ।
राष्ट्रपति भण्डारीले जेठ ७ गते मध्यराति गरेको विघटन असंवैधानिक रहेको भन्दै उनीहरूले संयुक्त वक्तव्य जारी गरेका हुन् ।

संसद् विघटनको सिफारिस गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले दिएको अभिमतको विरुद्ध जानुका साथै संविधान र गणतन्त्रमाथि खेलबाड गरेको आरोप पनि लगाएका छन् ।

नेपाल महिला संघ बागलुङकी अध्यक्ष शकुन्तला शर्मा, अखिल नेपाल महिला संघ क्रान्तिकारी बागलुङकी अध्यक्ष कुसुम बुढा, अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य गीता शर्मा, अखिल नेपाल महिला संघकी केन्द्रीय उपाध्यक्ष लक्ष्मी बाँस्कोटा र महिला शक्ति महासंघ

बागलुङकी अध्यक्ष मिमा गुरुङले मंगलबार वक्तव्य प्रकाशित गरेका हुन् । उनीहरूले संसदको अविलम्ब पुनःस्थापनाको मागसमेत गरेका छन् ।

‘प्रधानमन्त्रीले विश्वासको मत नलिई वा राजीनामा नै नदिईकन संविधानको धारा ७६ को उपधारा ४ को प्रयोग नै नगरी २०७८ जेठ ६ गते साँझ ७ गते बेलुका ५ बजेसम्म कोभिडको महामारीको बीचमा पर्याप्त समय नदिई राष्ट्रपतिबाट प्रधानमन्त्रीको नियुक्तिको आह्वान हुनु आफैंमा

अस्वाभाविक छ,’ वक्तव्यमा भनिएको छ, ‘वैकल्पिक सरकार बन्ने अवस्था हुँदाहुँदै सरकारले त्यसको सामना गर्न नसकी संसद् विघटन गर्नु जनता र लोकतन्त्रप्रति धोका हो ।’

उनीहरूले कोरोना कहरका बेला सरकारले नागरिकलाई बचाउन र गुणस्तरीय सेवा दिन आवश्यक तयारी नगर्दा धेरैले ज्यान गुमाउनुपरेको आरोप पनि लगाएका छन् । उनीहरूले कोरोनाबाट जनताको जीवनरक्षाका लागि तत्काल आवश्यक पहल थाल्न सरकारसँग माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्