१ जेष्ठ २०८२, बिहीबार

 

कांग्रेस नेता कुँवरको पहलमा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्री

कांग्रेस नेता दोर्णकुमार कुँवरले केरोना संक्रमितको उपचार सहज बनाउन बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । उनले व्यक्तिगत पहल र दाताहरूको सहयोगमा सामग्री जुटाएर केन्द्रलाई दिएका हुन् ।

कुँवर आफैं पनि संक्रमित भएका थिए । उनका अनुसार ढोरपाटन नगरपालिका–५ अधिकारीचौरका पूर्वन्यायाधीश दयानाथ खरेल तथा कोरिया र सिंगापुरमा रहेका असीम घर्ती, वीरबहादुर गुरुङलगायतले एक–एक थान वेड साइड मोनिटर दिएका छन् ।

त्यस्तै नेता कुमार कुँवरले व्यक्तिगत खर्चमा ७५ थान भिटिएम र ५० थान एन्टिजेनसहित चार लाख मूल्य बराबरको स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।

ढोरपाटन–१ का वडाध्यक्ष तथा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष चित्रबहादुर भण्डारी र स्वास्थ्यकर्मीको उपस्थितिमा कांग्रेस नेता कुँवर र नेता जित शेरचनले स्वास्थ्य केन्द्रलाई सामग्री हस्तान्तरण गरेका हुन् ।

त्यस क्रममा नेता कुँवरले केन्द्रका लागि अत्यावश्यक वेड साइड मोनिटर मेसिन उपलब्ध गराएको दाताहरूलाई धन्यवाद दिए ।

जनताको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी विभिन्न सहयोगी दाताबाट र व्यक्तिगत खर्चमा स्वास्थ्य सामग्री जुटाई केन्द्रलाई सहयोग गरेको उनको भनाइ छ ।

कुँवरका अनुसार उनले व्यक्तिगत खर्चमै निसीखोला र ढोरपाटन नगरपालिकाका गरी १ सय ३१ जना नागरिकको पीसीआर परीक्षण गराइसकेका छन् ।

बागलुङ क्षेत्र नम्बर २ का ६ वटै पालिकामा गरी ६ सय थान भीटीएम किट पनि उपलब्ध गराएका छन् । ‘संक्रमण रोकथाम गर्न र बिरामीको सहज रूपमा उपचारका निम्ति सबैले सक्दो सहयोग गनुपर्छ,’ उनले भने ।

वडाध्यक्ष चित्रबहादुर भण्डारीले विषम परिस्थितिमा सबैले हातेमालो गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung