गत साता ढोरपाटन नगरपालिका–१ का ३५ वर्षीय युवाको उपचारका क्रममा मृत्यु भयो । उनको मृत्युपछि मात्रै संक्रमण पुष्टि भएको थियो ।
कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेकालाई घरमा पुगेर परामर्श दिँदै बागलुङका स्वास्थ्यकर्मी । आवश्यक परेमा घरघरमा पीसीआर गर्ने योजना बनाएको उनीहरूले बताए ।
मृत्यु भएका ती युवाको घरमा बाबुआमा, पत्नी, छोराछोरी, काकाको घरका सबै जनामा ज्वरो आयो । रुघाखोकी देखियो । मृतकका बाबु बढी सिकिस्त छन् । घरमा सबै बिरामी परेपछि १३ दिनको काजक्रिया ३ दिनमा छोटियो ।
बुर्तिवाङमा प्राथमिक स्वास्थ्य केन्द्र छ । जिल्ला अस्पताल बनाउने तयारी भएको दशक बित्यो । अस्पताल नबनेपछि यहाँ सेवा सुविधा, उपकरण र जनशक्ति अभाव छ ।
केन्द्रमा अहिले पनि ७ जना जटिल समस्या भएका संक्रमित उपचार गराइरहेका छन् । रिपोर्ट नआएका ३ जना इमर्जेन्सीमा राखिएको केन्द्रका प्रमुख डा.मिलन मल्लले बताए ।
‘स्वाब पठाएको ७ दिनमा पनि रिपोर्ट आएको छैन, सिकिस्त बिरामीलाई उपचार गरिरहेका छौं,’ मल्लले भने, ‘तीन स्वास्थ्यकर्मीमा समेत संक्रमण देखिएकाले एक दुई जनाको भरमा उपचार गर्नुपरेको छ ।’
जनशक्ति अभावमा बजार क्षेत्रमा बिरामी भएकालाई पनि परीक्षणको दायरामा ल्याउन नसकिएको उनले बताए । यहाँ जेठ लागेपछि मात्रै कोरोना परीक्षण थालिएको हो । त्यसअघि नै यहाँका तीन जनाले कोरोनाकै कारण ज्यान गुमाइसकेका थिए ।
‘कम्तीमा २ देखि ३ सय एन्टिजेन परीक्षण गर्न सकियो भने मात्रै कोरोनाको वास्तविक अवस्था थाहा होला,’ उनले भने, ‘जिल्ला अस्पतालभन्दा बढी काम गर्नुपर्छ, तर सामग्रीविहीन हुँदा समस्या पारेको छ ।’
वैशाख २५ पछि यहाँका ६ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । बुधबार बेलुकी पनि इमर्जेन्सीमा भर्ना भएका वृद्धको कोरोना संक्रमण पुष्टि हुनासाथ मृत्यु भएको छ ।
बिहीवार बिहान कन्ट्याक्ट ट्रेसिङमा परेका बडिगाड गाउँपालिका–८ का ४२ वर्षका युवाको उपचारमा लैजाने क्रममा मृत्यु भएको छ । उनको पीसीआर भएको थिएन ।
संक्रमितको समयमै पहिचान बढाउन एन्टिजेन किट मगाएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताए । ‘
अस्पतालको मान्यता दिन प्रदेश र संघीय सरकारमा धेरै पटक पहल भएको छ, तर काम भएन,’ उनले भने, ‘अस्पताल बनेको भए घरघरै बिरामी पर्दा उपचारमा सदरमुकाम आउनुपर्ने बाध्यता हट्ने थियो ।’
यहाँ करारमा राखिएका जनशक्तिको भरमा केन्द्र सञ्चालित छ । ‘भवनको अभाव छैन, जनशक्ति र उपकरण भएमा सेवा थप्दै जान सकिन्छ,’ मल्लले भने, ‘जिल्ला अस्पताल नभएकोले बागलुङबासीले निःशुल्क औषधि सेवासमेत पाउन सकेका छैनन् ।’
तस्वीर : ढोरपाटन पोष्ट













































































































































































































