इनर ह्विल क्लब अफ बालाजुले कोरोना महामारी न्यूनीकरण र मानिसहरूबीच बढ्दो तनाब घटाउने उपायबारे अन्तरक्रिया आयोजना गरेको छ ।
लामो निषेधाज्ञाले मानिसहरू घरमै बस्नुपरेको, बालबालिकाहरू विद्यालय जान नपाएको, पेसा–व्यवसाय गरेर खानुपर्नेहरू अप्ठ्यारोमा परेको र कोरोनाको नकरात्मक समाचारजस्ता विषय अन्तरक्रियामा उठाइएका थिए ।
यसबाट परेको मानसिक असरबाट मुक्त हुन र अपनाउन सकिने वैकल्पिक जीवनशैलीबारे त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको मानसिक स्वास्थ्य विभागको सहकार्यमा अन्तरक्रिया आयोजना गरिएको इनर ह्विल क्लब अफ बालाजुकी अध्यक्ष सोनी श्रेष्ठले नयाँ विश्वलाई बताइन् ।
कार्यक्रममा विभाग प्रमुख प्रा. डा. सरोजप्रसाद ओझाले सहभागीहरूलाई प्रशिक्षण दिएका थिए । विश्वभरि नै कोरोनाले फैलाएको आतंक र नकारात्मक समाचारका कारण मानिसहरूले भोग्नुपरेको मानसिक तनाव, त्यसले दैनिक जीवनमा पारेको प्रभाव र त्यसबाट बच्ने उपायबारे उनले सुझाएका थिए ।
‘कोरोनाको दोस्रो लहरले जनमानसमा डर–त्रास र नकारात्मक असर पारेको छ, यस्तो बेलामा सकरात्मक सोच राखेर आफ्नो जीवनशैलीलाई स्वच्छ, मानवीय र सहयोगी बनाउनुपर्छ,’ उनले भने ।
महामारीको बेला नकारात्मक समाचारहरूले दिमागमा नकारात्मक असर पार्ने भएकाले त्यसबाट हटेर ध्यान, योग, व्यायाम गर्ने, राम्रो साहित्य पढ्ने, फिल्म हेर्ने, गीत–संगीत सुन्ने,पुरै समय निदाउने र पौष्टिकयुक्त खानेकुराहरू खानमा जोड दिनुपर्ने ओझाले बताए ।
कार्यक्रममा १ सय २१ जनाले भाग लिएका थिए । कार्यक्रममा इनर ह्विल क्लबका देशैभरिका सदस्यहरू, बागलुङ समाज कल्याण केन्द्र
काठमाडौं, बागलुङ समाज कल्याण केन्द्र महिला समूहका सदस्यहरूको सहभागिता रहेको क्लबकी अध्यक्ष श्रेष्ठले जानकारी दिइन् । उनका अनुसार अन्तरक्रिया जुम माध्यमबाट भएको थियो ।
इनर ह्विल क्लब अफ बालाजुले स्थापनाकालदेखि नै सामाजिक, शैक्षिक, धार्मिक, जनस्वास्थ्य, मानवीय क्षेत्रमा सहयोग गर्दै आएको छ ।
‘कोरोनासँगै भविष्यमा पनि विभिन्न रोगबाट बच्ने उपयुक्त परामर्शहरू उपलब्ध गराउनका लागि क्लबले विभिन्न विषयका विज्ञ चिकित्सकसँग अन्तरक्रिया र छलफल कार्यक्रम गर्नेछ,’ क्लबकी कोषाध्यक्ष कल्पना राजभण्डारीले बताइन् ।
क्लबले बालबालिका र जेष्ठ नागरिकहरुलाई उच्च प्राथमिकतामा राखेर सामाजिक सेवा गरी रहेको इनर ह्विल क्लब अफ बालाजुकी अध्यक्ष सोनी श्रेष्ठले नयाँ विश्वलाई बताइन् ।





























































































































































































