संक्रमितको संख्या बढेपछि बागलुङ नगरपालिका–४ उपल्लाचौर क्षेत्रका केही टोल सिल गरिएको छ । नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालका अनुसार श्रीनगर टोलदेखि उपल्लाचौरस्थित डुङ्डुंगा, राइटरचोकदेखि कटरको बोट, आँखा उपचार केन्द्र, रेडक्रस हुँदै वडा कार्यालय क्षेत्रमा संक्रमण बढेको छ ।
यसबाट बजारका अन्य क्षेत्रमा पनि जोखिम बढेपछि टोलहरू सिल गरिएका हुन् । ती क्षेत्रमा कोही पनि प्रवेश गर्न नपाउने व्यवस्था मिलाइएको छ ।
प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की, नगरप्रमुख जनकराज पौडेल, स्थानीय सामाजिक अगुवासमेतको छलफलपछि ती क्षेत्रमा सिल गर्ने निर्णय गरिएको वडा अध्यक्ष ध्रुव केसीले नयाँ विश्वलाई बताए ।
संक्रमण समुदायमा फैलिएको टोलहरुमा सिल गरिएको र अन्य टोलहरुमा निषेधज्ञा लागु भएको वडा अध्यक्ष केसीले जानकारी दिए ।
‘वडा कार्यालयले पनि सिल नगरे अन्यत्र सर्ने सम्भावना रहेको सिफारिस गरेपछि तारबारले घेरेर उक्त क्षेत्र ठप्प पारिएको हो,’ खनालले भने । उनका अनुसार निषेधित क्षेत्रमा कोही पनि छिर्न नपाउने गरी चौबीसै घण्टा प्रहरी परिचालनसमेत गरिएको छ ।
नेपाली सेनाको २३ नम्बर वाहिनीमा छिर्नेहरूबाहेक उक्त सडक भएर गौरीधाम शिवमन्दिरतर्फ कोही जान पाउनेछैनन् । रेडक्रस, आँखा उपचार केन्द्र, जिल्ला समन्वयको आवास क्षेत्र, वडा कार्यालय र कटरको बोटसम्म कोही जान नपाउने गरी बन्द गरिएको नगरपालिकाका कर्मचारी ऋषिराम गोतामेले बताए ।
उनका अनुसार श्रीनगरटोलदेखि डुङ्डुंगा जाने सडकको बस्तीमा मात्रै २२ घरमा ३१ भन्दा बढी संक्रमित छन् । सिल गरिएको क्षेत्रमा मात्रै १ सयभन्दा बढी संक्रमित रहेको नगर स्वास्थ्य शाखा प्रमुख खनालले बताए ।
‘संक्रमण र फैलावटको दर बढिरहेकोले टोल सिल गर्नैपर्ने भयो,’ उनले भने । सिल भएको समयमा स्वास्थ्य शाखाका अत्यावश्यक सेवा मात्र सञ्चालन हुनेछ । उपभोग्य सामग्री पनि वडाबाटै व्यवस्थापन गराएर घरका मानिस बाहिर नआउने व्यवस्था मिलाउन लागिएको वडाध्यक्ष केसीले बताए ।
वडा नं ४ मा होम आइसोलेसनमा ५१ जना रहेको छन् भने एक जना बागलुङ नगरपालिकाको रात्माटामा रहेको आइसोलेसनमा उपचार भइ रहेको नगर स्वास्थ्य प्रमुख राम प्रसाद खनाले जानकारी दिए ।





























































































































































































