४ कार्तिक २०८३, मंगलवार

 

जापानमा क्रियाशील तीन संस्थाले अस्पताल र दुई पालिकालाई पठाए ७ लाख ३७ हजारको स्वास्थ्य सामग्री

जापानमा क्रियाशील तीन नेपाली संस्थाले धवलागिरि अस्पतालसहित गलकोट नगरपालिका र ताराखोला गाउँपालिकालाई अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् ।

गलकोट समाज जापान क्षेत्रीय समिति टोकियो, घुम्टे युवा परिवार जापान शाखा र जापानस्थित हार्मोनी प्रिस्कुल इन्टरनेसनलको संयुक्त सहकार्यमा संकलित ती सामग्री आइतबार अस्पताल र पालिकाका स्वास्थ्य शाखालाई हस्तान्तरण गरिएको छ ।

गलकोट समाज बागलुङका अध्यक्ष राज थापाले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी रानामगर र ताराखोला गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक उदित थापा मगरलाई सामग्री प्रदान गरेका थिए ।

सीमित स्रोतसाधनका बावजुद कोरोनाविरुद्ध संघर्षरत अस्पताल र स्वास्थ्य संस्थालाई उपचार एवं व्यवस्थापनमा सघाउ पुर्‍याउन सञ्चालित अभियानबाट संकलित रकमबाट स्वास्थ्य सामग्री र उपकरण खरिद गरी पठाइएको गलकोट समाज जापान क्षेत्रीय समिति टोकियोका अध्यक्ष रमेशकुमार खत्रीले बताए ।

‘आगामी दिनमा पनि यसरी नै गल्कोट समाज जापान, गल्कोट समाज जापान क्षेत्रीय समिति टोकियो, घुम्टे युवा परिवार जापान शाखा र जापानमा रहेका गल्कोटका अन्य सामाजिक संस्थाहरूबीच सामाजिक क्रियाकलाप तथा मानवीय सेवा गर्ने वातावरण सिर्जना होस् भन्ने विश्वास लिएका छौं,’ उनले भने ।

कोरोना माहामारी रोकथाम गर्न अत्यावश्यक पीसीआर परीक्षण किट, एन्टिजेन परीक्षण किट, सर्जिकल मास्क, मेडिकल मास्क, पल्स अक्सिमिटर, थर्मोमिटर, फेस सिल्डलगायत सामग्री सहयोग गरिएको हार्मोनी प्रिस्कुल इन्टरनेसनलका प्रिन्सिपल प्रदीप थापाले बताए ।

अस्पताल र दुई पालिकाका स्वास्थ्य शाखामा गरी कुल ७ लाख ३७ हजारबराबरको सामग्री पुगेको घुम्टे युवा परिवार जापान शाखाका अध्यक्ष दिलबहादुर थापा ‘रामु’ले जानकारी दिए ।

गल्कोट समाज जापान क्षेत्रीय समिति टोकियो र घुम्टे युवा परिवार जापान शाखा दुवै संस्थाका सचिव दिनेश थापाका अनुसार आर्थिक सहयोग अभियानमा २९ जना स्वतःस्फूर्त रूपमा जोडिएका थिए ।

कोरोना महामारीले देश आक्रान्त बनेको, संक्रमितले उपचार नपाएको, अक्सिजनसहित स्वास्थ्य सामग्रीरउपकरणको अभाव रहेको खबर सुनेपछिआफूहरू सामग्रीको जोहो गर्नतर्फ लागेको उनको भनाइ छ ।

महामारीसँग जुधिरहेको आफ्नो देशप्रतिको कर्तव्य सम्झेर प्रवासी नेपालीले पठाएको सहयोग अमूल्य रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रानामगरले बताए ।

‘अस्पताललाई प्राप्त सहयोगको सदुपयोग हुनेछ,’ उनले भने । गलकोट समाज बागलुङका अध्यक्ष थापा, घुम्टे युवा परिवार मल्म, गलकोटका अध्यक्ष थम्मन थापालगायतले जापानबाट सहायता ल्याउन आवश्यक समन्वय र पहल लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung