आईएमई फाउन्डेसनले कोभिड–१९ रोकथाम तथा संक्रमितको उपचारका लागि बागलुङका स्वास्थ्य संस्थाहरूलाई उपकरण तथा स्वास्थ्य सामग्री प्रदान गरेको छ ।
कोरोनाको दोस्रो लहर समुदायमा फैलिएको र मानवीय क्षतिसमेत बढी हुन लागेकोले फाउन्डेसनले कोरोना रोकथाम, नियन्त्रण र उपचारमा सरकारलाई थप सहयोग पुगोस् भनी बागलुङका नौवटा स्वास्थ्य संस्थालाई यो सहयोग उपलब्ध गराएको आईएमई समूहका प्रवक्ता राजु पौडेलले जानकारी दिए ।
उनका अनुसार अमलाचौर, पैयुँपाटा, नारायणस्थान, पैयुँपन्थाप, छिस्ती, राङ्खानी, जैदी, बरेङ र र कुस्मीसेरा स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य चौकीलाई एक–एक थान अक्सिजन कन्सन्ट्रेटर, मास्क, सेनिटाइजरलगायतको स्वास्थ्य सामग्री सहयोग गरिएको छ ।
‘हामीले पहिलो चरणमा यो सहयोग उपलब्ध गराएका हौं,’ उनले भने, ‘पछि आवश्यकता र प्राथमिकताका आधारमा थप सहयोग उपलब्ध गराइनेछ ।’
बागलुङ उद्योग वाणिज्य संघको आग्रहमा जिल्लामा कोरोना नियन्त्रण र रोकथामका लागि ग्रामीण क्षेत्रको स्वास्थ्य संस्थालाई सबल बनाउन फाउन्डेसनले स्वास्थ्य सामग्री उपलब्ध गराएको संघका अध्यक्ष युवराज राजभण्डारीले जानकारी दिए ।
संघको अनुरोधमा आईएमई फाउन्डेसनका संरक्षकसमेत रहेका नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले स्वास्थ्य सामग्री पठाएको महासंघका पूर्वकेन्द्रीय सदस्य निर्माण कुमार श्रेष्ठले नयाँ विश्वलाई बताए ।

यसअघि आईएमई ग्रुपका अध्यक्ष ढकाल र फाउन्डेसनका अध्यक्ष तथा ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले सरकारलाई तीन करोडबराबरको ८० थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेका थिए ।
यसबाहेक फाउन्डेसनले शुक्रराज सरुवारोग अस्पताल, टेकुमा करिब १ करोड २८ लाख लगानीमा अक्सिजन प्लान्ट स्थापनाको तयारी गरेको छ । प्लान्टको अर्डर भइसकेको प्रवक्ता पौडेलले बताए ।
उनका अनुसार यसअघि फाउन्डेसनले वैदेशिक रोजगारीमा रहँदा मृत्यु भएका नेपालीका परिवारको सहयोगार्थ ‘भरोसा कोष’ स्थापना गरी करिब १ सय परिवारलाई प्रतिव्यक्ति ५८ हजारका दरले करिब ६० लाख राहत उपलब्ध गराएको थियो ।
फाउन्डेसनले मुलुकमा आइपर्ने स्वास्थ्य तथा प्राकृतिक प्रकोपहरूमा सरकार तथा विभिन्न गैरसरकारी संघसंस्थासँग हातेमालो गरेर अघि बढि रहेको छ ।
आईएमई फाउन्डेसन आईएमई ग्रुपअन्तर्गत सञ्चालित मुनाफारहित परोपकारी संस्था हो । फाउन्डेसनले शिक्षा, स्वास्थ्य, खेलकुदलगायत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ ।































































































































































































