२० जेष्ठ २०८३, बुधबार

 

एमिकस क्युरीमा बारबाट वैद्य, मल्ल, घिमिरे र केसी

नेपाल बार एसोसिएसनले वरिष्ठ अधिवक्ता राघवलाल वैद्य र उषा मल्ल पाठकलाई एमिकस क्युरीमा मनोनयन गर्ने निर्णय गरेको छ । प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाइमा अदालतलाई सहयोग गर्न वैद्य र मल्ललाई पठाउने निर्णय गरिएको बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताए ।

वरिष्ठ अधिवक्ता वैद्य तात्कालिक पुनरावेदन अदालतका पूर्व न्यायाधीश हुन् । उनी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता भएका थिए ।

पाठक नेपाल बारकी पूर्वउपाध्यक्ष हुन् । सर्वोच्च अदालतको संवैधानिक इजलासमा असार ९ बाट विघटनको मुद्दामा निरन्तर सुनुवाइ हुँदै छ ।
जेठ ७ मा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेकी थिइन् ।

प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई सम्मिलित संवैधानिक इजलासले नेपाल बार र सर्वोच्च बारबाट दुई–दुईजना एमिकस क्युरी माग गरेको थियो ।

सर्वोच्च अदालत बार एसोसिएसनले वरिष्ठ अधिवक्ता कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसीलाई एमिकस क्युरीमा मनोनयन गर्ने निर्णय गरेको छ । एमिकस क्युरीमा छनोट भएका वरिष्ठ अधिवक्ताले संविधानको स्वतन्त्र व्याख्या गर्ने अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung