१७ बैशाख २०८१, सोमबार

 

प्रेस सङ्गठनद्वारा पत्रकारलाई स्वास्थ्य सामग्री प्रदान

प्रेस सङ्गठन नेपाल, बागलुङ शाखाले जिल्लामा क्रियाशील पत्रकार ,सञ्चारकर्मीलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ ।कोरोना महामारीका बेला अग्रपंक्तिमा खटिएर समाचार सङ्कलन तथा सम्प्रेषण गर्ने पत्रकारको स्वास्थ्य सुरक्षाका लागि मास्क, सेनिटाइजर र सिटामल वितरण गरिएको हो ।

शाखा संयोजक थम्मन थापा, सदस्य बिमल खड्का र नेपाल पत्रकार महासंघ, बागलुङ शाखाका उपाध्यक्ष एवं सङ्गठनका सदस्य सरिता खत्रीले आज गलकोट नगरपालिका, ढोरपाटन नगरपालिका र बडिगाड गाउँपालिकाबाट सञ्चालित सञ्चार संस्थामै पुगेर स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको हो ।

पाँच वटा रेडियोसहित पत्रिका र अनलाइन माध्यममा कार्यरत पत्रकार,सञ्चारकर्मीका लागि स्वास्थ्य सामग्री प्रदान गरिएको संयोजक थापाले जानकारी दिनुभयो । उहाँका अनुसार स्वतन्त्र ढङ्गले कलम चलाइरहेका पत्रकारलाईसमेत स्वास्थ्य सामग्री उपलब्ध गराइएको छ ।

स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा रेडियो गलकोट, सारथी, परिवर्तन, ढोरपाटन, बुर्तिबाङ पत्रिकातर्फ गलकोटपत्र साप्ताहिक, अनलाइनमा बडिगाड, निसीखोला न्यूज र ढोरपाटन पोष्टका प्रमुख एवं पत्रकारको उपस्थिति रहेको थियो ।

रेडियोलाई पाँच.पाँच प्याकेट मास्क, पाँच वटाका दरले सेनिटाइजर र सिटामल, अनलाइनलाई दुई प्याकेटका दरले मास्क, सेनिटाइजरलगायत प्रदान गरिएको हो ।

“सङ्कटका बेला पत्रकारहरुप्रति सङ्गठनले दर्शाएको सानो सद्भाव हो यो, चरणबद्ध रुपमा जिल्लाका सबै पत्रकारलाई स्वास्थ्य सामग्री बाँड्छौँ”, संयाजक थापाले भन्नुभयो ।

सदरमुकामसहित जैमिनी नगरपालिका र बरेङ गाउँपालिकामा रहेका सञ्चार संस्था र पत्रकारलाई एक,दुई दिन भित्रैमा स्वास्थ्य सामग्री वितरण गरिने सङ्गठनले जनाएको छ । जिल्लाभरमा गरी रु. ५० हजार बराबरको स्वास्थ्य सामग्री वितरण गर्न लागिएको सङ्गठनका सचिव अनिष खातीले बताउनुभयो ।

सङ्गठनमा आबद्ध पदाधिकारी,सदस्य तथा शुभेच्छुकहरुबाट सङ्कलित सहयोग रकमबाट स्वास्थ्य सामग्रीको जोहो गरिएको उहाँको भनाइ छ ।

यसअघि सङ्गठनले पत्रकारको सुरक्षा र संक्रमित पत्रकारलाई सहयोग गर्ने उद्देश्यसहित ‘सहायता कक्ष’ पनि निर्माण गरेको थियो । उक्त कक्षमार्फत् सङ्क्रमित पत्रकारको उपचार र अन्य सहायताका लागि आवश्यक समन्वय गर्ने काम भइरहेको जनाइएको छ ।

सङ्गठनले संस्थागत विकास कोष, पुरस्कार कोष स्थापनासहित पत्रकारका लागि क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालनका लागि कार्ययोजना बनाएर काम थालिएको जनाएको छ । प्रेस सङ्गठन नेपाल पूर्ण प्रेस स्वतन्त्रताको रक्षासहित श्रमजीवी पत्रकारको हितका पक्षमा सक्रिय छ ।

प्रतिक्रिया दिनुहोस्