कोरोना महामारीमा अपनाउनुपर्ने स्वास्थ्य मापदण्डबारे स्थानीयलाई सचेत गराउँदै पत्रकार महासंघ बागलुङले ताराखोला गाउँपालिकालाई स्वास्थ्य सामग्री प्रदान गरेको छ ।
तत्काल जिल्लाका दुई पालिकामा स्वास्थ्य चेतना र सामग्री बाँड्ने कार्यक्रम रहेकोमा मंगलबार ताराखोलामा कार्यक्रम गरिएको महासंघले जनाएको छ ।
ताराखोलामा नागरिक तहमा पुगेर स्वास्थ्यका मापदण्ड अपनाउन र कोरोनाबाट बच्न आग्रह गरिएको अध्यक्ष नरेश कँडेलले बताए । उनका अनुसार अब अर्को कार्यक्रम काठेखोला गाउँपालिकामा हुनेछ ।
महासंघका पदाधिकारीसहित स्वास्थ्यकर्मीको समूहले सचेतना फैलाउनुका साथै स्वास्थ्य सामग्री हस्तान्तरण गर्नेछ ।महासंघले गलकोट नगरपालिकामा पनि केही मास्क र सेनिटाइजर प्रदान गरेको छ ।
ताराखोलामा एक थान अक्सिजन कन्सन्ट्रेटर, दुई थान डिजिटल थर्मल गन, पाँच थान अक्सिमिटर र ३ हजार थान मास्क वितरण गरिएको थियो ।
‘हामीले महामारीको ठूलो चाप बेहो¥यौं, अहिले केही कमी भएको छ,’ स्वास्थ्य सामग्री ग्रहण गर्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले भने, ‘सचेतना र स्वास्थ्यका मापदण्ड अपनाउँदै सुरक्षित रहन अझै आवश्यक छ, सहयोगले हामीलाई साथ दिनेछ ।’
गाउँपालिकाले अस्थायी कोभिड अस्पताल निर्माण गरेको छ । गाउँपालिकाको स्वास्थ्य शाखा र अस्पतालमा प्रयोग गर्ने गरी सामग्री हस्तान्तरण गरिएको उपाध्यक्ष नवीनशिशिर विकले बताए ।
काठेखोला गाउँपालिकामा पनि यिनै सामान प्रदान गरिने उनले जानकारी दिए ।आफ्नै भवनमा पत्रकारहरूका लागि आइसोलेसन कक्ष निर्माण गरेको महासंघले विभिन्न संघसंस्थाको समन्वयमा स्थानीय तहलाई सहयोग गर्दै आएको छ ।
‘हाम्रो काम स्थानीय सरकारलाई खबरदारी गर्नु र गलत बाटोमा लाग्नबाट बचाउनु हो,’ अध्यक्ष कँडेलले भने, ‘महामारीसँग जुध्न एक्लैले सम्भव छैन, सबैको साथ चाहिन्छ भनेर स्वास्थ्य सचेतनामा सहकार्य गरेका हौं ।’





























































































































































































