२७ बैशाख २०८१, बिहीबार

 

कोरोना खोप माग्दै प्रदेशको पर्यटन मन्त्रालयमा होटल व्यवसायीको ज्ञापन

होटल व्यवसायी महासंघ गण्डकी प्रदेशले कोरोनाविरुद्धको खोप उपलब्ध गराउन माग राखी प्रदेशको पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा ज्ञापनपत्र बुझाएको छ ।

महासंघ प्रतिनिधिले सरकारले विभिन्न क्षेत्र र उमेरसमूहलाई खोप दिइरहे पनि आफूहरूलाई उपेक्षा गरेको भन्दै पर्यटनमन्त्री मणिभद्र शर्माको ध्यानाकर्षणसमेत गराएका छन् ।

अन्य क्षेत्रमा लगाइएको निषेधाज्ञा दिनप्रतिदिन खुकुलो बनाइए पनि होटल व्यवसायीप्रतिको सरकारको नजर भेदभावपूर्ण देखिएको उनीहरूको आरोप छ ।

होटल व्यवसायी र कर्मचारीहरूलाई कोरोना संक्रमणको जोखिम बढेकाले खोपको मागसहित मन्त्रीको ध्यानाकर्षण गराइएको महासंघ गण्डकी प्रदेशका अध्यक्ष अर्जुन चोखालले नयाँ विश्वलाई बताए ।

‘कोरोना संक्रमण र लकडाउनले होटल व्यवसाय सबैभन्दा बढी मारमा परेको छ,’ उनले भने, ‘होटल सञ्चालक एवं कर्मचारीलाई कोरोनाविरुद्धको खोप लगाउने सवालमा राज्यले उच्च प्राथमिकता नदिएपछि पर्यटन क्षेत्रलाई धेरै मार परेको छ ।’

चोखालले होटल व्यवसायीलाई खोपको प्राथमिकतामा नराखिएकोमा आपत्ति जनाए ।

कामविशेषले घरबाहिर निस्कने मानिसलाई सेवा दिन होटल व्यवसायको महत्त्वपूर्ण भूमिका हुने भएकाले राज्यले त्यसैअनुरूप हेर्नुपर्ने उनको भनाइ छ ।

‘साउन १५ गतेसम्म पनि हाम्रा माग सम्बोधन नभए १६ गते धर्ना बस्न बाध्य हुनेछौं, २० गते प्रशासनलाई व्यवसायीहरूले चाबी हस्तान्तरण गर्नेछन्,’ उनले भने ।

ज्ञापनपत्र बुझ्दै मन्त्री शर्माले तत्काल खोपको व्यवस्थापन गर्न आवश्यक पहल गर्ने बताए । सरकारले कोरोना नियन्त्रणका लागि हदै प्रयास गरिरहेको उनको भनाइ छ ।

मन्त्री शर्माले आफ्नो मन्त्रालयले पर्यटन व्यवसायीको राहतका लागि एक करोडको राहत प्याकेज छुट्ट्याएको जनाउँदै पर्यटन क्षेत्रमा काम गर्ने मजदुर तथा कर्मचारीलाई खोपको व्यवस्था गर्न लागेको बताए ।

लकडाउन खुकुलो भएसँगै मानिसको चहल–पहल बढेकाले होटल व्यवसायी र कर्मचारीलाई खोप नलगाउँदासम्म अन्य क्षेत्र पनि सुरक्षित नहुने व्यवसायीहरूको तर्क छ ।

होटल व्यवसाय पनि उच्च जोखिम क्षेत्र भएकाले सरकारले यसलाई उच्च प्राथमिकतामा राख्नुपर्ने उनीहरूको भनाइ छ ।

विगतमा कोरोना संक्रमित तथा वैदेशिक रोजगारीबाट घर आएकाहरूलाई होटलहरूमा क्वारेन्टिनमा बस्ने व्यवस्था गर्ने होटल व्यवसायीलाई खोपका बेला बेवास्ता गरिनु दुःखद भएको होटल व्यवसायी महासंघ गण्डकी प्रदेशका सचिव देवेन्द्र लम्सालले बताए ।

कोरोनाका कारण गण्डकी प्रदेशका जिल्लामा अर्बौंको नोक्सानी बेहोरिसकेकाले तत्काल खोपको व्यवस्था गरी व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउनुपर्नेमा उनीहरूले जोड दिएका छन् ।

गण्डकी प्रदेशको पर्यटन क्षेत्रमा हालसम्म ५ खर्ब १५ करोडको लगानी छ। महासंघका अनुसार हाल कोरोना कहरले ३० प्रतिशतभन्दा बढी पर्यटन व्यवसायी पलायन भइसकेका छन् ।

होटल तथा रेस्टुरेन्ट बन्द हुँदा हजारौं बेरोजगार बन्न पुगेका छन् ।

‘हाम्रो सेवा जोखिमले भरिएकाले होटल, रेस्टुराँमा काम गर्ने कर्मचारी र सञ्चालकलाई कोरोना भ्याक्सिनको व्यवस्था, सरकारले कर र कर्जामा छुट र आर्थिक राहतको व्यवस्था गर्नुपर्छ,’ अध्यक्ष चोखालले भने ।

प्रतिक्रिया दिनुहोस्