३ कार्तिक २०८३, सोमबार

 

तेस्रो लहरविरुद्ध बागलुङको तयारी : डाक्टर झन् घट्दै, बल्ल बजेट माग्ने सुरसार,कोभिड निमोनियाको बिरामी बढ्यो

कोरोना पहिलो लहरबाट तेस्रो लहरसम्म आइपुग्दा जोखिम झन् थपिएको छ । तर बागलुङमा जोखिम न्यूनीकरणका संयन्त्र अलिकति पनि थपिएका छैनन् ।

खुकुलो पारिएको निषेधाज्ञामा स्वास्थ्य मापदण्डको पालना नहुँदा संकट अझ बढे पछि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको मंगलबार बैठकले २८ गते बिहान ५ बजेदेखि भदौ ५ गते राति १२ बजेसम्म जिल्लाभर निषेधाज्ञा गर्ने निर्णय गरेको छ।

पहिलो लहरकै बेला पर्याप्त चिकित्सक र स्रोतसाधनको अभाव रहेकामा त्यो स्थितिमा अहिले पनि सुधार भएको देखिँदैन ।

जबकि विज्ञहरूले कोभिडको तेस्रो लहर आउन सक्ने र त्यसले बालबालिकालाई बढी गाँज्न सक्ने भन्दै तयारी थाल्न पहिल्यैदेखि सुझाइरहेका छन् ।

तर जिल्लाका सरोकारवालाले बालबालिकालाई सम्भावित जोखिमबाट जोगाउन प्रभावकारी कदम चालेका छैनन् । गण्डकी प्रदेशकै पहिलो कोभिड अस्पताल हो धौलागिरि अस्पताल ।

यहाँ पर्वत, म्याग्दीसम्मका सेवाग्राही आउँछन् । तर अस्पतालमा बल्ल बालबालिकाका लागि १० बेडको आइसोलेसन कक्षको तयारी भइरहेको मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र बी पोख्रेलले बताए ।

बच्चाका लागि आईसीयू कक्ष नभएकाले बजेट माग गरिएको उनले जनाए । ‘तेस्रो लहरमा बालबालिका प्रभावित हुने आकलन गरिएकाले

आईसीयू कक्ष निर्माणका लागि प्रदेश र केन्द्र सरकारसँग बजेट माग गरिएको छ,’ उनले भने, ‘अहिलेको एचडीयू कक्षलाई बालबालिकाका लागि आईसीयू कक्ष बनाउने, अक्सिजन प्लान्ट जडान गर्ने र अक्सिजन पाइपलाइन विस्तार गर्ने योजना छ ।’

जनशक्ति र स्रोतसाधनको जहिल्यै अभाव

डा. पोखरेलका अनुसार कोरोना संक्रमित बिरामीका लागि अत्यावश्यक पर्ने अक्सिजन अभाव हुन नदिन थप १ सय ७० सिलिन्डर क्षमताको अक्सिजन प्लान्ट जडानको तयारी पनि भरहेको छ ।

यसअघिको प्लान्टले अपुग भएकाले थप्न लागिएको हो । त्यसबाहेक १ सय ६४ सिलिन्डर मौज्दात रहेको पोखरेलले बताए । धौलागिरि अस्पतालमा अहिले ४ बेड आईसीयू कक्ष छ ।

भएका एक स्थायी मेडिकल डाक्टरको स्याङ्जामा सरुवा भइसकेको छ । करारका तीन मेडिकल डाक्टरमध्ये दुई जनाको दुई महिनापछि करार अवधि सकिँदै छ । प्रदेशबाट आएका अरू दुई जना छन् ।

यी जनशक्ति इमरजेन्सी चलाउनलाई मात्र चाहिन्छ । कोभिडको आइसोलेसन कक्ष भरिँदा इमरजेन्सी वार्डमा पनि उपचार गर्ने गरिएको छ ।
डा पोखरेलका अनुसार अस्पताललाई १५ जना मेडिकल अफिसरको आवश्यकता छ ।

बालबालिकाको आईसीयू संचालन गर्न पनि ५ जना मेडिकल डाक्टर चाहिन्छ । बिरामी ओसार्न जम्मा एउटा एम्बुलेन्सको भर पर्नुपर्ने अवस्था छ ।

अस्ट्रेलियामा रहेका प्रवासी नेपालीले एम्बुलेन्स खरिदका लागि २८ लाख रुपैयाँ पठाए पनि व्यवस्थापन समितिले कार्यविधिलाई कारण देखाएर प्रक्रिया नै अघि बढाउन सकेको छैन ।

कोरोना संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई संघीय सरकार र प्रदेश सरकारले ५०,५० प्रतिशत जोखिम भत्ता दिने घोषणा गरेका छन् । तर हालसम्म पनि उक्त भत्ता नपाएको स्वास्थ्यकर्मीहरू बताउँछन् ।

जोखिममा बालबालिका

पछिल्लो समय १४ वर्षमुनिकालाई बालबालिकामा संक्रमण दर बढेको स्वास्थ्य कार्यालयले जनाएको छ । बालबालिकाका लागि खोपसमेत तयार नभएकाले उपचार केन्द्रमा जनशक्ति र स्रोतसाधन अझ थप्नुपर्ने देखिन्छ ।

तर त्यसतर्फ खास तयारी थालिएको छैन ।अमेरिकामा १२ देखि १५ वर्ष उमेरसमूहका लागि फाइजरको खोप लगाउन सुरु भएको छ । तर त्यो तत्काल यहाँ आउने सम्भावना छैन ।

भारतमा २ देखि १८ वर्ष उमेरसमूहमा बायोटेकको कोभ्याक्सिन खोपको ‘क्लिनिकल ट्रायल’ चलिरहेको छ ।

विज्ञहरूका अनुसार बालबालिकाको छेउछाउमा रहने सबै व्यक्तिलाई कोभिडविरुद्घको खोप सुनिश्चित गरिँदा पनि उनीहरूमाथिको जोखिम हुन्छ । तर बागलुङमा सबै नागरिकले तत्काल खोप पाउने अवस्था छैन ।

होम आइसोलेसनबाटै संक्रमण

कोभिड–१९ पहिलोदेखि दोस्रो लहरसम्म आउँदा बागलुङमा ६३ जनाको ज्यान गएको छ ।

पहिलो र दोस्रो लहरमा गरी यहाँका २३ हजार ८ सय ३९ जनामा कोरोना परीक्षण गर्दा ६६७२ बढी व्यक्तिमा सङ्क्रमण पुष्टि भइसकेको छ । स्वास्थ्य कार्यालयको पछिल्लो आँकडाअनुसार मंगलबारसम्म जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ६ सय ३० जना पुगेको छ ।

कार्यालयका कोभिड–१९ स्रोत व्यक्ति देवप्रकाश घिमिरेले मंगलबार ४५ जना नयाँ सङ्क्रमित फेला परेका छन् ।

जिल्लामा गरिएको कूल पिसिआर परीक्षणमध्ये सङ्क्रमण दर २७.९ प्रतिशत छ जबकि नेपालको सङ्क्रमण दर १९.०४ प्रतिशत मात्र छ । देशभरको तुलनामा निको हुने दर पनि यहाँ कम छ ।

होम आइसोलेसनमा रहेकाहरूबाट सर्ने दर बढेको जिल्ला स्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले बताए ।

संक्रमितको बढ्दो संख्यालाई ध्यानमा राखेर अहिले बागलुङ नगरपालिकाका साथै कुस्मीसेरा, बरेङ, गलकोट, ताराखोला, बडिगाड, बुर्तिवाङ, निसीखोलामा रहेका कोभिड अस्पताल तथा आइसोलेसन केन्द्रलाई पुनः सक्रिय बनाइँदै छ । जिल्लामा १ सय ८५ बेड क्षमताका आइसोलेसन केन्द्र छन् ।

लापरबाहीले क्षति

जिल्लामा मृत्यु भएकामध्ये अधिकांश संक्रमित गम्भीर लक्षण देखिँदा पनि अटेरी गरेर घरै बसेकाहरू छन् । ढिलो गरी अस्पताल पुगेकैले उनीहरूको ज्यान जोगाउन नसकिएको चिकित्सकहरू बताउँछन् ।

समयमै उपचार पाउनेका हकमा भने जुनै प्रकारको निमोनिया भएका ज्येष्ठ नागरिक, दीर्घरोगीहरू पनि निको भएर फर्किएका छन् ।

चिकित्सकका अनुसार संक्रमितलाई सास फेर्न गाह्रो भए, ज्वरो सय डिग्रीभन्दा बढी रहे, अक्सिजनको मात्रा ९२ प्रतिशतभन्दा कम भए वा धेरै तलमाथि भइरहे तुरुन्त अस्पताल जानुपर्छ ।

संक्रमण नियन्त्रणमा लिन सबै पालिकामा स्वाब परीक्षण, कन्ट्याक्ट टे«सिङमा तीव्रता दिइनुपर्छ ।

स्वास्थ्य मापदण्डको पालना, बाहिरी जिल्लाबाट आएका व्यक्तिहरूको विवरण राख्ने, लक्षण देखिएकाहरूको तत्काल उपचार, चिकित्सक र स्वास्थ्यकर्मीेको व्यवस्था, खोपको सुनिश्चितता हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

कोभिड रोकथाम र नियन्त्रणका लागि दिगो रणनीति बनाउन सके मात्र मानवीय क्षति रोकिने उनीहरूको बुझाइ छ ।

अहिले कोरोनाको विरामीको फोक्सोमा निमोनियाको समस्या बढ्न थालेको छ । होम आइसोलेसनमा बसेर आफूखुशी औषधी खाने र स्वास्थ्य समस्या भएर अस्पताल आउनेको संख्या बढेको छ ।

धेरै संक्रिय संक्रमित व्यक्तिहरुलाई कोभिड निमोनियाको समस्या देखिन थालेको धौलागिरि अस्पतालले जनाएको छ।रुधा,खोकी र ज्वरो नरोकिदा फोक्सामा निमोनिया फैलिने र श्वासप्रवासमा समस्या हुने र त्यस्ता संक्रिय संक्रमित बिरामीलाई कोभिड निमोनियाको हुने मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र बी पोख्रेलले बताए ।

केहि विरामीलाई थप उपचारको लागि हेलिकप्टरबाट ललितपुर, भैसिपाटीको मेडिसिटि अस्पताल,काठमाडौको हेम्स अस्पताल लगिएको छ भने धेरै विरामीहरुलाई पोखराको अस्पतालमा लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung