३ कार्तिक २०८३, सोमबार

 

‘असोजसम्म ८० प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको खोप’

गण्डकी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारी गुरुङले आगामी असोजसम्म गण्डकीका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइने बताएकी छन् ।

प्रेस संगठन नेपाल बागलुङ शाखाले मंगलबार बागलुङ सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री अधिकारीले आउँदो असोजसम्म १८ वर्षमाथिका ८० प्रतिशत नागरिकलाई खोप लगाएर सकिने बताएकी हुन् ।

कोरोनाको तेस्रो लहरलाई लक्षित गरेर प्रदेश सरकारले सबै अस्पतालहरुमा रहेका आइसोलेशन सेन्टरहरुलाई थप व्यवस्थापन गर्न आग्रह गरेको बताइन् ।

‘तेस्रो भेरियन्ट शुरु हुने र बालबालिकाहरुपनि जोखिममा रहने विशेषज्ञहरुले बताएका छन्’ मन्त्री अधिकारीले भनिन् – ‘बालबालिकालाई कोरोनाबाट जोगाउन यस अघि नै सबै अस्पतालमा आइशोलेशन तयार गर्न भनिसकेका छौँ ।

तेस्रो लहरबाट सजग हुनका लागि गण्डकी प्रदेश सरकार पूर्व तयारीमा लागेको छ ।’

मन्त्री अधिकारीले गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेहरुको परिवारलाई ५० हजार रुपैयाँ दिने निणर्य गरिएको बताइन ।

‘प्रदेश सरकारले कोभिड–१९ संक्रमणबाट मृत्यु हुनेहरुको परिवारलाई ५० हजार रुपैयाँ दिने निणर्य गरेका छ,’ मन्त्री अधिकारीले भनिन्– ‘कोभिडबाट मृत्यु भएका परिवारका आश्रित बालबच्चाहरुलाई मासिक पाँच हजार रुपैयाँ दिने निणर्य पनि गरेका छौं ।

उक्त रकम कति समयसम्म दिने भन्ने कार्यविधि बन्दै छ ।’ उनले प्रदेश सरकारले यस्तो अवस्था नओस भनेर पहिलो प्राथमिकता नै कोभिड नियन्त्रणका लागि राखेको बताईन ।

उनले स्वास्थ्य क्षेत्रमा विकृति र विसंगति रहेको भन्दै त्यसलाई अन्त्य गर्न लागि परेको बताइन् । प्रदेश सरकारले सहिद, बेपत्ता, घाइते, अपाङ्गहरुलाई निःशुल्क उपचार गराउने गरेको जानकारी दिइन ।

मन्त्री अधिकारीले धौलागिरी अस्पताल विगतको तुलनामा धेरै विकसित भएको र दरबन्दी अनुसारका डाक्टरहरु ल्याउनका लागि प्रदेश सरकारले पहल थाल्ने बताइन् ।

कार्यक्रम प्रेस संगठन नेपाल बागलुङका सचिव अनिश खातीको अध्यक्षता पुर्व अध्यक्ष एवं सल्लाहकार राम थापाको स्वागत र सदस्य सञ्जनकुमार सिंहको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung