२१ बैशाख २०८१, शुक्रबार

 

फेसबुकले तालिबान समर्थित सामग्रीमा प्रतिबन्ध लगाउने

फेसबुकले तालिबान र उक्त लडाकू समूहलाई समर्थन गर्ने सबै सामग्रीमाथि प्रतिबन्ध लगाएको छ । तालिबानलाई आफूले आतंकवादी संस्था मानेका कारण यस्तो प्रतिबन्ध लगाइएको फेसबुकले जनाएको भनाइ छ ।

तालिबानसँग सम्बन्धित सामग्री पहिचान गर्न र हटाउन फेसबुकले अफगान विज्ञहरूको समूह नै बनाइएको बताएको छ । तालिबानले वर्षौंदेखि सामाजिक सञ्जाल प्रयोग गरेर आफ्नो सन्देश प्रवाह गरिरहेको छ ।

‘तीव्र गतिमा अफगानिस्तानलाई नियन्त्रणमा लिएपछि प्रविधि कम्पनीहरूलाई तालिबानका सामग्रीलाई कसरी हेर्ने भन्नेमा समस्या परेको छ, अमेरिकी कानुनले तालिबानलाई आतंककारी संस्था मान्छ र हामीले उनीहरूलाई हाम्रो सेवा प्रयोग गर्न प्रतिबन्ध लगाएका छौँ ।

यसको अर्थ उनीहरू वा उनीहरूका लागि बनाइएका अकाउन्टहरू बन्द गर्ने र उनीहरूको प्रशंसा, समर्थन वा प्रतिनिधित्व गर्ने सामग्री हटाउने हो,’ फेसबुकका एक प्रवक्ताले बीबीसीलाई भने ।

‘हामीसँग पास्तो र दारी मातृभाषा भएका र अफगानिस्तानको स्थानीय विषय बुझेका विज्ञहरूको एउटा समूह छ जसले त्यस्ता कुराहरूको पहिचान गरेर हामीलाई सचेत गराउँछ,’ उनले भने ।

फेसबुकले यो नीति इन्स्टाग्राम र ह्वाट्सएपमा पनि लागु हुने जनाएको छ । तर तालिबानले सन्देश आदानप्रदानका लागि ह्वाट्सएप प्रयोग गरिरहेको विवरणहरू आएका छन् ।

फेसबुकले बीबीसीलाई ह्याट्सएपमा तालिबानसँग सम्बन्धित अकाउन्ट हटाउने बताएको छ । यसले गर्दा अन्य सामाजिक सञ्जाल पनि तालिबानसम्बन्धी सामग्रीका बारेमा निर्णय गर्न दबाबमा परेको बताइएको छ ।

तालिबानका प्रवक्ताले ट्विटरमार्फत समूहको गतिविधि जानकारी गराउँदै आएका छन् । बीबीसीको प्रश्नमा ट्विटरका एक प्रवक्ताले हिंसात्मक संस्था र घृणायुक्त व्यवहारलाई नसहने नियम रहेको बताए ।

नियममा ट्विटरले आतंकवाद र नागरिकविरुद्ध हिंसा प्रवर्धन गर्ने सामग्री राख्न अनुमति दिँदैन । युट्युबले भने तालिबानसम्बन्धी सामग्रीका बारेमा बीबीसीको प्रश्नको उत्तर दिएको छैन ।

प्रतिक्रिया दिनुहोस्