५ असार २०८२, बिहीबार

 

बागलुङमा नेवारी भाषा लोप हुँदै

बागलुङमा नेवार समुदायको बाक्लै बसोबास रहे पनि उनीहरूको मातृभाषा भने लोप हुने अवस्थामा पुगेको छ । दैनिक जीवनमा प्रयोग घट्दै जाँदा र नयाँ पुस्ताले पनि नअँगाल्दा जिल्लामा नेवारी भाषाको अस्तित्व संकटमा परेको हो ।

अहिले यहाँ नेवार समुदायकै युवा पुस्ताले नेवारी भाषा बोल्दैनन् । पाका पुस्ताले पनि कमै बोल्छन् । अभिभावकले नै नबोलेपछि बालबालिकाले सिक्न पाएका छैनन् ।

काठमाडौंबाट व्यापार गर्न विक्रम संवत् १८४० ताका काठमाडौं उपत्यकाबाट नेवारहरू बागलुङ आएका थिए । उनीहरूसँगै भाषा,संस्कृति,कला,साहित्य,जात्रा,परम्परा,सीप पनि भित्रिएको थियो ।

पहिला हरेक कुरामा नेवारहरु नेवा भाषाको प्रयोग गथ्र्ये । रथ घुमाउदा होस कि व्यापार गर्दा होस,घरमा कुरा गर्दा होस कि खेतमा काम गर्न जाँदा होस,नाच निकाल्दा होस कि बालबालिकालाई काम गराउदा होस सबैले नेवारी बोल्थे ।

व्यापार होस कि राजनीतिमा गोप्य कुरा गर्नु पर्दो बागलुङका नेवारहरुले आफनै भाषा प्रयोगमा ल्याउर्थो ।यसले उनीहरुको सामाजिक,शैक्षिक,साँस्कृतिक र आर्थिक जीवनमा परिवर्तनमा सहयोग गरेको थियो ।

बागलुङका नेवारहरुले नेवार भाषाका साथसाथै अग्रेजी,नेपाली,हिन्दी, संस्कृति र थकाली भाषामा समेत दखल राख्थे ।

गुरुकुल शिक्षामा संस्कृत पुस्तकहरु पढ्नु पथ्र्यो।चण्डी,हितोपदेश र लघुसिद्धान्त कौमदी पुस्तक पढ्ने गथ्र्ये उनीहरु भने बुटवल,भैरहवा र भारतमा सामान चलाउन जादा हिन्दी भाषाको प्रयोग गर्ने गथ्र्ये ।

बागलुङ बजारमा व्यवसाय गर्न आएका थकाली व्यवसायीसँग उनीहरुले थकाली भाषा कुरा गर्ने गथ्र्ये भने थकालीहरुले पनि नेवारी भाषा मजाले बोल्ने गथ्र्ये ।

घरमा सम्पर्कभाषाका रूपमा नेपाली तथा विद्यालयमा पनि नेपाली र अंग्रेजीको प्रयोग बढी हुने गरेकाले नेपालभाषा ओझेल परेको हो । त्यसैको परिणाम– व्यापार, व्यवसायका सिलसिलामा अन्यत्रबाट आएर बसोबास गरेकाहरूको पछिल्लो पुस्ताले बिस्तारै आफ्नो भाषा बिर्संदै छ ।

बूढापाकाहरू आफूहरूबीच नेवारीमा बोलिहाले पनि छोराछोरी, बुहारी र नातिनातिनीसँग भने खस नेपाली भाषामै बोलिरहेका हुन्छन् ।

जुृन घरमा आमा,बुबा,बाजे,बजै,छोरी र छोरीहरु नेवारी बोल्छन् त्यहाँ ससाना बालबालिकाहरुले नेवारी भाषा बोलेको पाइन्छ । सबैभन्दा पहिले आमासहित सबैले सानो उमेरदेखि नै नेवारी भाषा बोलेको घरमा अहिले पनि सबैले नेवारी भाषा बोलेको पाइन्छ ।

हाम्रो घरमा दुई जना छोरी र छोराले सानै उमेरदेखि नै नेवारी भाषा बोल्छन शुभलाभ सहकारीका प्रबन्धक उत्तम श्रेष्ठले नयाँ विश्वलाई बताए ।

हामीले नेवारी भाषालाई उच्च महत्व दिएकोले परिवारका सबै सदस्यहरुले नेवारी बोल्छन श्रेष्ठले भने ।मैले मेरो बच्चाहरुलाई मसँग कुरा गर्दा नेपाली बौल्न दिन्न जस्तो आउछ उस्तै बोल भनेर नेवारी बौल्न लगाउछु श्रेष्ठले बताए ।

संविधानले १ सय २३ वटा भाषालाई मातृभाषाको मान्यता दिएको छ । तिनैमध्ये पर्छ नेवारी । बागलुङमा पहिले–पहिले बोलिने नेवारी भाषाको आफ्नै लवज र विशेषता रहेको मानिन्छ ।

बागलुङको नेवार समुदायका नयाँ पुस्तालाई मातृभाषाको लिपि चिनाउन काठमाडौंबाट प्रशिक्षक झिकाइए पनि निरन्तरता दिन नसकिएको नेपाल भाषा मंका खल बागलुङका पूर्वअध्यक्ष महेशचन्द्र प्रधानले बताए ।

काठमाडौंमा बोलिने नेवारी भाषा र बागलुङको लवज नमिलेकाले प्रशिक्षणमा समस्या परेको उनको भनाइ छ । आफू अध्यक्ष भएको बेला दैनिक बोलीचालीमा प्रयोग हुने करिब ५ सय शब्द र २ पेजको प्रश्नोत्तरसहित नेवारी, नेपाली र अंग्रेजी भाषामा समेटेर प्रकाशन गरेको उनले बताए ।

‘भाषा संरक्षणका लागि अहिले नेवा मिसा दबुले रुचि राखेकाले कोरोनाको समस्या हटेपछि बिस्तारै कक्षा सञ्चालन गर्ने तयारी छ,’ उनले भने ।

शाक्य कल्याण समाज बागलुङका सचिव मन्जुल शाक्यका अनुसार उनी सानैदेखि घरमा नेवारी बोल्थे । बाजे, बज्यै, बा, आमा पनि नेवारीमै कुरा गर्थे ।

‘जब स्कुल जान थाल्यौँ, पढाइ अनि कामकाजमा खसभाषा नै बोल्न पर्ने भयो,’ उनले भने, ‘हामी घरमा अझै नेवारी बोल्छौं । तर छोरा नेवारी बुझ्छ, बोल्न सक्दैन । त्यसैले घरमा ऊ नेपालीमै बोल्छ ।’

बागलुङ बजारका नेवारहरू धेरैजसो काठमाडौं बसाइँ सर्न थालेकाले पनि रैथाने भाषा, संस्कृति, जात्रा र परम्परा हराउन थालेको उनको बुझाइ छ ।

परिवार स्वयंले मातृभाषाभन्दा खस नेपाली भाषालाई प्राथमिकता दिनुको मुख्य अभिप्रायः बच्चाहरूलाई स्कुलमा पढ्न–लेख्न सजिलो होस् भन्ने हो ।

बच्चाहरू सानै उमेरदेखि विद्यालय जाने, घरपरिवारबाट दिनभरि छुट्टिने गर्दा उनीहरू बढीजसो नेपालीमै अभ्यस्त हुन्छन् । त्यसैले घरमा पनि नेपाली भाषा बोल्नमै सुबिस्ता मान्छन् ।

आफूआफू नेवारीमा बोल्ने आमाबाबु–बाज्येबज्यै पनि स्वाद फेर्न बच्चाहरूसँग चाहिँ नेपालीमै बोल्छन् ।साना बालबालिकाहरू टिभी, कम्युटर, मोबाइलमा कार्टुन हेर्छन् । त्यो कि नेपाली कि हिन्दी वा अंग्रेजी भाषामै हुन्छ ।

यस्ता सामग्रीले बालबालिकाको दिमागमा गहिरो छाप पर्ने भएकाले त्यहाँ जुन भाषा प्रयोग हुन्छ, उनीहरूले त्यही छिट्टै टिप्छन् । उनीहरूको आकर्षण पनि तिनै भाषाका कार्टुन र गेममा देखिन्छ ।

अहिले आएर संविधानले नेपालमा बोलिने सबै भाषालाई राष्ट्रिय भाषा भनेको छ । खस नेपाली भाषालाई राष्ट्रभाषा अर्थात् कामकाजको साझा भाषाको मान्यता दिइएको छ ।

नेवार मात्र होइन, जिल्लामा बसोबास गर्ने मगर, छन्त्याललगायतको मातृभाषा पनि हराउँदै जान थालेको छ । नेपालमा सूचीकृत १२७ भाषामध्ये अधिकांशको नियति लगभग यस्तै छ । तीमध्ये कतिपय लोपोन्मुख मात्र होइन, लोप नै भइसकेको अवस्थामा छन् ।

सयभन्दा बढी भाषा भएको मुलुकमा तिनलाई फेरि ब्युँताउन कसरी सम्भव होला रु यो असम्भव भने छैन । बरु सरल छ । जसको जुन मातृभाषा छ, उसलाई कक्षा १२ सम्म त्यो भाषा अनिवार्य गरिदियो भने सहजै जोगिन्छ । यसका लागि सरकारी तबरबाट व्यवस्था हुनुपर्छ ।

पछिल्लो समय सहर–बजारमा अंग्रेजी भाषाको प्रयोग बढ्दो छ । तर जर्मनी, फ्रान्सलगायत धेरै युरोपेली मुलुकमा अंग्रेजी बुझे पनि बोल्दैनन् । जापान, चीन, कोरियालगायत मुलुकका बहुसंख्यक मानिसले अंग्रेजी भाषा जान्दैनन् ।

यसमा समयकाल र भूराजनीतिबाट उत्पन्न स्वाभिमान र अहंकारको मिश्रण छ । माथि उल्लिखित मुलुकहरू आज समृद्ध छन् तर कतिपय अन्तर्राष्ट्रिय क्षेत्रमा भाषाकै कारण अलि पछि पनि परे । यो यथार्थ हो ।

अहिले तिनै मुलुकहरू अंग्रेजी भाषालाई प्राथमिकता दिइरहेका छन् । यसको अर्थ यो होइन कि तिनले आफ्नो भाषालाई छोडे । अरू भाषालाई अँगालेर पनि आफ्नो भाषालाई जोगाउन सकिने दृष्टान्त ती देशले दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung