२१ बैशाख २०८१, शुक्रबार

 

‘कोरोनाले सरकारलाई पूर्वाधार तयार राख्नुपर्छ भन्ने सबक सिकाएको छ’

डा. शेरबहादुर पुनले सरुवा रोगको अध्ययन–अनुसन्धानमा लामै समय बिताइसकेका छन् । नेपालमा यो विधाको अध्ययनलाई नयाँ दिशामा अघि बढाएका उनले यहाँ देखिएका सरुवा रोगको चरित्रलाई नजिकबाट नियालेका छन् ।

एक दशकयता उनी सरुवा रोगको उपचार हुने नेपालकै एक मात्र टेकु अस्पतालमा कार्यरत छन् । कोरोना संक्रमण फैलिएपछि टेकु अस्पताल र डा. पुन दुवैको भूमिका झन् बढ्यो ।

अहिले कोरोनाको तेस्रो लहरको चर्चा छ । यही सन्दर्भमा नेपालमा सरुवा रोग अनुसन्धानको अवस्था र चुनौती, कोरोना नियन्त्रणको तयारी र व्यवस्थापनबारे डा. पुनसँग विमल खड्काले गरेकाे कुराकानी :

कोरोनाको पहिलो र दोस्रो चरणबीचको अनुभव र अभ्यास के–कस्ता रहे ?

पहिलो चरणमा कोरोना विश्वलाई नै नयाँ थियो । डाक्टरहरू के भन्छन्, डब्लू एचओले के भन्छ भनेर कुर्नुपथ्र्यो । पछिल्लो चरणमा हाम्रै आफ्नै अनुभवले पनि सिकाइरहेका छन् ।

पहिलो चरणमा मानिसहरू अत्यधिक तर्सिने, डराउने गर्थे । अहिलेको अवस्था त्यस्तो छैन । स्वास्थ्यकर्मीलाई छिःछिः दुर–दुर गरिन्थ्यो । डाक्टर, त्यसमाथि पनि टेकुको भन्दा मानिस झनै डराउँथे ।

अहिले डाक्टरलाई हेरिने दृष्टिकोण परिवर्तन भएको छ । त्यति बेला उपचार पनि के गर्ने, के नगर्ने भन्ने हुन्थ्यो । अहिले कसरी उपचार गर्दा बिरामीलाई बचाउन सकिन्छ भन्ने थाहा भयो । अक्सिजन तथा भेन्टिलेटर चाहिँदो रहेछ भन्ने सिकियो ।

अब तेस्रो लहर आउन लागेको हल्ला सुनिन्छ । यसविरुद्धको तयारी कस्तो छ ?

हामीले अस्पतालको क्षमताभन्दा बढी बेड थपेका छौं । तेस्रो लहर आए कसरी जुध्ने भन्ने नेपाल सरकारको पनि तयारी होला । हामीले केही समयअघि हटाएको बेड पनि तयारी अवस्थामा राखेका छौं ।

संक्रमण ह्वात्तै बढ्यो भने अस्थायी उपचार केन्द्र हुनुपर्छ । अहिलेको बेडले मात्रै थाम्दैन ।

नेपालमा सरुवा रोगसम्बन्धी अध्ययन गर्नेहरू निकै कम छन् । किन यस्तो हुन्छ ?

सरुवा रोगसम्बन्धी अध्ययन पनि पनि किड्नी, कलेजोजस्तै छुट्टै–छुट्टै हुनुपर्छ भन्छु म । यो विषय नै धेरै ठूलो छ । गहिराइमा पुग्नुपर्छ । सरुवा रोग धेरै छन् । जस्तै– एचआईभी पढ्दा कति गहिराइमा जानुपर्छ । नसुनिएका सरुवा रोगहरू कति आउँछन् ।

कति पुराना रोगहरू फेरि फर्किएर आउने हुन्छ । यससँग जुध्न जनशक्तिको आवश्यकता पर्छ । सरकारले ‘रियलाइज’ गरेको छ/छैन तर सरुवा रोगलाई प्राथमिकतामा राखिनुपर्छ ।

सुरुका दिनमा प्राथमिकतामा पर्दैनथ्यो । कोरोना नआएको भए अझै पनि टेकुलाई सरकारले हेर्न दृष्टिकोण उस्तै हुने थियो । कोरोना राम्रो कुरा होइन । तर यसले सरकारलाई समस्यासँग जुध्न पूर्वाधार तयार गर्नुपर्छ भन्ने सबकचाहिँ सिकाएको छ ।

अहिले नेपालमा आएका खोपहरूको प्रभावकारिता कस्तो छ ?

अहिले हामीले खोपहरूलाई भिन्न रूपले हेर्न हुँदैन । हामीसँग खोप मौज्दात हुन्थ्यो त बल्ल छुट्याउन सकिन्थ्यो, कुनचाहिँ खोप नेपाली जनताका लागि उपयुक्त छ भनेर ।

हामीसँग प्रशस्त रूपमा खोप भए तीन कुरा जोडिन्छ । पहिलो– आर्थिक, स्वास्थ्य सुरक्षा र प्रभावकारिताको कुरा आउँछ । अहिलेका खोप कडा अनुसन्धानपछि पास भएर आएका हुन् । त्यसैले यो वा त्यो नसोची लगाउनुस् ।

खोप लगाउँदैमा संक्रमण हुँदैन भन्नेचाहिँ हुँदैन । तर मृत्यु हुनबाटचाहिँ रोक्छन् । यति बेला यो राम्रो या त्यो राम्रो नभनी आफ्नो पालोमा लगाउनुपर्छ ।

अहिले कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका मौसमी रुघाखोकीका बिरामी पनि बढिरहेको भेटिन्छ । कोरोना र अन्य फ्लु कसरी छुट्याउने ?

पछिल्लो तथ्यांकअनुसार फ्लुका संक्रमितको संख्या दोब्बरले बढेको छ । केही दिनअघि मात्रै एक बिरामी आएका थिए ।

उनलाई घाँटी दुख्ने समस्या अनि रुघा, ज्वरो थियो । पीसीआर गर्दा उनको कोरोना नेगेटिभ आयो ।पछिल्लो समय फ्लु तीव्र रूपमा फैलिरहेको छ । लक्षण उस्तै भएकाले छुट्याउन गाह्रो हुन्छ ।

सर्ने तरिका पनि उस्तै हो । स्वाद र गन्ध थाहा नपाउनेबाहेक अरू लक्षण मिल्छ । त्यस्तो लक्षणका बिरामी आए फ्लु र कोरोना दुवै परीक्षण गर्छौँ । फ्लुको औषधि–उपचार निःशुल्क नै हुन्छ । रुघाखोकी लाग्दैमा नआत्तिऔं ।

यहाँले सरुवा रोगमै पीएचडी गर्नुभयो । नेपालमा यो विधाको अनुसन्धानको अवस्था कस्तो छ ?

कुनै पनि रोगको उपचार र नियन्त्रणको विधि अनुसन्धानबिना प्राप्त हुँदैन । मैले अनुसन्धानबाट पत्ता लगाएको कुरा विदेशीहरूले पढून् भन्ने हो ।

जस्तो– कोरोनाबारे अमेरिकाले यस्तो भन्यो, अर्कोले यस्तो भन्यो भन्नु हाम्रो बाध्यता हो । किनभने त्यसमा हामीले अनुसन्धान गरेका छैनौं । नेपालमा अनुसन्धानलाई त्यति महत्त्वपूर्ण तरिकाले हेरिँदैन ।

यसमा दुःख बढी हुन्छ, पैसा पर्याप्त हुँदैन । तर विदेशमा अनुसन्धानकर्तालाई प्राथमिकतामा राखेर उनीहरूको खर्च बेहोर्न व्यवस्था छ । नेपालमा अनुसन्धानलाई विलासको दृष्टिले हेरिन्छ । कुनै विश्वविद्यालयमा गरिने अनुसन्धान क्राइट एरिया पूरा गर्नका लागि मात्र हुन्छ ।

कुनै नयाँ प्रोफेसर नजिक आयो भने म सोध्छु– नयाँ कुरा के पत्ता लगायौ ? उसले गरेको भए म सम्मान गर्छु । जस्तो– मैले चिकनमेनिया भाइरस, ल्याङ डिजिज, नेपालमा कालाजारलगायत सरुवा रोग पत्ता लगाएँ ।

पहिले जारको पानी खाँदा हैजा फैलियो । यसमा कोलिफर्म रहेको पत्ता लगाएँ । तर मैले सोचेअनुसार काम गर्न सकिनँ । किनभने हाम्रो कल्चर बसेको छैन । यद्यपि मपछाडिको पिढीले रिसर्चका केही काम गर्ला कि भन्ने आश छ ।

अब तेस्रो चरणको कोरोनाले कस्तो जोखिम निम्त्याउला ?
तेस्रो लहर अझै आएको छैन । डेल्टा भेरियन्टजस्तो भाइरस आयो भने क्षति पु¥याउँछ । केही समयअघि स्वास्थ्य मन्त्रालयले विज्ञप्तिमा औंल्याएको भाइरस पुरानै हो, दोस्रो भेरियन्टको ।

अहिलेकै अवस्थामा नयाँ भेरियन्ट आए तेस्रो लहर सुरु हुने खतरा छ । कोरोनाको औषधि खाएर ठ्याक्कै निको भयो भन्ने छैन । जटिल अवस्थामा जान नदिन एक मात्र विकल्प खोप नै हो ।

याे पनि पढ्नुहाेस् :

सरुवा रोग अनुसन्धानलाई जीवनको ध्येय बनाएका डा. पुन

प्रतिक्रिया दिनुहोस्