३ श्रावण २०८३, आईतवार

 

सरुवा रोग अनुसन्धानलाई जीवनको ध्येय बनाएका डा. पुन

लाहुरेको गाउँ, पिता स्वंय ब्रिटिस आर्मी, तर थामेनन् पुनले पिताको बिँडो

सके ब्रिटिस आर्मी बन्ने, त्यो पनि नसके इन्डियन आर्मी । यस्तै हुन्थे उनका समवयीका सपना । मंगोलियन परिवार भएकाले त्यो स्वाभाविक पनि थियो ।

पिता स्वयं ब्रिटिस आर्मी थिए । तर, शेरबहादुर पुनले बाबुको बिँडो थामेनन् । उनी त सबैका घाउचोटमा मलम लगाउने डाक्टर पो बन्न पुगे ।

सानैदेखि पढाइमा अब्बल थिए उनी ।

समाजसेवी भावना थियो । सन् १९७५ मा बागलुङको गलकोट, पाण्डवखानीमा जन्मेका पुन सानै उमेरमा बुबासँग हङकङ पुगे । हङकङ जानुअघि गाउँमै आधारभूत कक्षा पढेका थिए तर उनलाई अहिले मधुरो झल्को मात्र छ ।

जिज्ञासु स्वभाव, पढाइमा अब्बल

जिज्ञासु स्वभावका पुन हङकङमा अध्ययन गर्दा कक्षामा सधैं प्रथम हुन्थे । तर एकपटक अर्कै प्रतिस्पर्धीले उछिनेपछि त्यो कुरा उनको मनमा गढेर बस्यो । उनी फेरि बेस्सरी परिश्रम गरेर प्रथम भइछाडे ।

हङकङमा उनी विभिन्न खेलकुदमा पनि भाग लिन्थे । स्विमिङमा विशेष सोख थियो । त्यही विधामा विभिन्न ट्रफीसमेत हात पारे । बुबा रिटायर्ड भएपछि भने उनी नेपाल आए ।

कीर्तिपुरस्थित ल्याब्रोटरी स्कुलमा पढ्न थाले । त्यहाँको अध्ययन सकिँदै गर्दा ब्रिटिस आर्मीबाटै छात्रवृत्तिमा पढ्न पाउने भए । त्यसपछि रुसमा चिकित्सा अध्ययन गरे ।

सुरुमा उनलाई लाग्यो खासै छैन सरुवा रोगको विरामी

अध्ययन सकिएपछि उनलाई नेपालमा सरुवा रोगबारे अनुसन्धान गर्ने रुचि जाग्यो । त्यही क्रममा टेकु अस्पतालमा काम गर्न थाले । सुरुमा उनलाई लागेको थियो– नेपालमा सरुवा रोग खासै छैन होला । तर टेकु अस्पतालमा कालाजार, टाइफाइडका बिरामी लामबद्ध देख्दा अचम्ममा परे ।

‘सरुवा रोग खासै केही होइन भन्ने लाग्थ्यो । तर यहाँ आएपछि जहाँ–त्यहीँ सरुवा रोगका बिरामी रहेछन्,’ उनले सम्झिए, ‘बिहान चाँडै आएर बिरामी जाँच्न थाल्यो, रातिसम्म पनि सकिँदैनथ्यो ।’

बस्ने अफर जापानको तर नेपालमै केही गर्ने हुतहुति

त्यसपछि सरुवा रोग नियन्त्रणलाई नै आफ्नो ध्याउन्न बनाएका उनी छात्रवृत्तिमै थप अध्ययनका लागि सन् २००४ मा जापान पुगे । उनलाई त्यहाँको काम गर्ने तरिका नै फरक लाग्यो ।

धेरैजसो दिनको २–३ घण्टा मात्रै सुत्थे । त्यहाँ पुगेपछि उनकोे अध्ययनको दायरा फराकिलो भयो ।पढाइमा यति दत्तचित्त थिए कि खाना खाएको समेत बिर्सन्थे । पुनले जापानमै सरुवा रोगसम्बन्धी विषयमा पीएचडी पूरा गरे, त्यहाँको सबैभन्दा उत्कृष्ट विद्यार्थी बनेर ।

उनलाई उतै बस्न अफर नआएको होइन । मेडिकल स्कुलका डिन उनलाई ‘जापानमै तिम्रो भविष्य छ’ भनेर फुक्र्याइरहन्थे । जापान बस्दा उनलाई अझ बढी सुख हुन सक्थ्यो । नेपालमा धेरै कुराको अभाव थियो ।

कालाजार, डेंगु, झाडापखालाका बिरामी निकै हुन्थे । तिनको जीवन भयावह थियो । अभावसँगै तिनलाई ठिक बनाउने कर्ममा खटिनु कम्ती चुनौतीपूर्ण थिएन । पुनले त्यही चुनौती स्विकारे । जापानमा अडिन उनको मन मानेन ।

जापानको फेलोसिप नै अस्वीकार, जापान सरकार र उनको गुरु नै आश्चर्यचकित

सन् २०११ मा जापान सरकारबाट उनलाई अर्को प्रतिष्ठित स्कलरसिपको अफर आयो– जेएसपीएस । ‘त्यो स्कलरसिपका लागि संसारभरका विद्यार्थीले एप्लाइ गर्छन्, त्यस्तो जेएसपीएस स्कलरसिप मैले पाएको थिएँ ।’

त्यो स्कलरसिपले उनको व्यक्तिगत जीवन आमूल परिवर्तन गरिदिन सक्थ्यो । जेएपीएसको फेलो हुँ भन्नु छुट्टै प्रतिष्ठाको विषय थियो । तर मध्यमवर्गीय परिवारका उनलाई आर्थिक समस्या खासै थिएन ।

त्यसैले स्वदेशमै बसेर टेकु अस्पतालमै संघर्ष गर्ने सोच बनाए ।स्कलरसिप अस्वीकार गरे । ‘त्यो निर्णय लिनै एक हप्ता लाग्यो, तीन दिन लगाएर इमेल गरेँ,’ उनले सम्झिए ।

इमेलमा लेखेका थिए– ‘नेपालमा सरुवा रोगका कारण धेरै नागरिक उपचार नपाएर मृत्युवरण गरिरहेका छन् । म आफूले त्यहाँ सिकेको सीप यहीँ बसेर नेपाली नागरिकको जीवनरक्षामा लगाइरहन चाहन्छु ।’

नेपालजस्तो गरिब मुलुकको नागरिकले फेलोसिप नै अस्वीकार गर्ने ? –जापानीहरू आश्चर्यचकित भए । इमेलको उत्तर आयो– ‘ठिक छ, भविष्यमा केही आवश्यक परे सहयोग माग्नू, तिम्रो प्रोफेसर तयार छ ।’

०००

डाक्टरको बोली–व्यवहारमा मिसिएको हुन्छ विश्वास, भरोसा र आशा

पुनकै कारण आज धेरै बिरामीले राहत महसुस गरेका छन् । उनी साधारण मिजाजका छन् तर ठूलाठूला रोग निको पारिदिन्छन् । सबैसँग मीठो बोल्छन् ।

बोतलको फर्मुलायुक्त रसायन, ट्याब्लेटले मात्र होइन उपचार हुने, बोली–व्यवहार पनि एउटा औषधि हो, जसमा विश्वास, भरोसा र आशाको मात्रा मिसिएको हुन्छ ।

जापान सरकारको फेलोसिपमा गएका भए संसारमै बिक्थे । आज आफ्नो देशमा चिनिएका छन् । टेकु अस्पताल निम्नवर्गको समेत पहुँच रहेको अस्पताल हो ।

त्यहाँ आउने बिरामी पनि बढीजसो निम्नवर्गकै हुन्छन् । उनीहरूसँगको कुराकानीमा रमाउँछन् डा. पुन । निको भएपछि उनीहरूले व्यक्त गर्ने सन्तुष्टिले उनलाई अपार आनन्द दिन्छ, जुन उक्त फेलोसिपले दिन सक्ने खुसीभन्दा कयौं गुणा बढी छ ।

दुई अमेरिकीले कानेखुसी गरे अमेरिकामा हुनुपर्ने मान्छे नेपालमा

पुन सार्वजनिक बिदाको दिनमा समेत बिरामीकै सेवा गरिरहेका हुन्छन् । अस्पतालमा हाकिम आउने–जाने चलिरहन्छ । तर उनलाई आफ्नै कामसँग मतलब छ । जे गरिरहेका छन्, आफू त्यसमा स्थिर छन् ।

अमेरिकाको स्वास्थ्यसम्बन्धी राम्रो स्कलरसिप मानिने सीडीसीका दुई प्रतिनिधिले पनि कुनै बेला उनलाई प्रश्न गरेका थिए– ‘नेपालमा यसरी काम गर्दा खुसी छौ त ?’ उनले जवाफ दिन सेकेन्ड पनि लगाएनन्– ‘हो, म मेरो काममा खुसी छु ।’ त्यसपछि उनीहरूले यो मान्छे त अमेरिकामा हुनुपर्ने भन्दै कानेखुसी गरे ।

नेपालको भूगोल काटेर देशदेशावरसम्म फैलिएको पुनको व्यक्तित्व

जसले जे भनोस्, उनले आफ्नो रुचि कहिल्यै मर्न दिएनन् । काममा रुचि र इमानदारी भए देश र भूगोल ठूलो कुरा होइन ।

उसको व्यक्तित्वको आभा भौगोलिक सीमा काटेर देशदेशावर पुगी नै हाल्छ । अस्टे«लियाका एक प्रोफेसर आफ्ना चेलाहरूलाई भन्दा रहेछन्–‘नेपाल गयौ भने डा. पुनलाई जसरी पनि भेट्नू ।’

सरुवारोग विशेषज्ञ पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिटको संयोजक हुन् । यही हो टेकु अस्पताल ।

स्वास्थ्य सेवामा समर्पित हुन बुबाआमा र परिवारको साथ

सुरुका दिन तलब नलिने उनी अहिले भने लिन्छन् । भन्छन्– ‘हामीलाई सरकारले जे तोकेको छ, त्यही लिन्छु । भत्ता पाउनेमा लाग्दिनँ, पैसा कमाउनकै लागि हुन्थ्यो त विदेशबाट विभिन्न अवसर आएकै थिए ।’

पुनकै कारण आज धेरै बिरामीले राहत महसुस गरेका छन् । सबैसँग मीठो बोल्छन् उनी । बोतलको फर्मुलायुक्त रसायन, ट्याब्लेटले मात्र होइन उपचार हुने, बोली–व्यवहार पनि एउटा औषधि हो, जसमा विश्वास, भरोसा र आशाको मात्रा मिसिएको हुन्छ ।

अहिले यसरी बिरामीको सेवामा दत्तचित्त हुन पाउनुमा बुबाआमाको ठूलो हात रहेको ठान्छन् पुन, जसले उनलाई अभाव हुन दिएनन् । आफू आर्मी भएकैले छोरो पनि आर्मी हुनुपर्छ भनेनन् । जे पढे पनि राम्रो गर्नुपर्छ भनी हौस्याई मात्र रहे ।

परिवारको आर्थिक सपोर्ट पनि रह्यो । आर्थिक अवस्था कमजोर हुन्थ्यो त उनलाई उति बेलै अर्कै फिल्डतिर मोडिनुपर्ने बाध्यता पनि हुन सक्थ्यो । यस्तै लाग्छ उनलाई ।

साथीहरू अहिले नेपालका विभिन्न नाम चलेका अस्पतालमा छन् । तर उनलाई त्यहाँ जानु छैन, टेकु अस्पतालमै बस्नु छ ।

०००

सरुवा रोगबारे पढ्ने असाध्यै कम

कोरोनाका बेला उनको धपेडी अझ बढ्यो । बाटैभरि बिरामीले भरिएको थियो । निको भएर गएका बिरामीहरू अडियोबाट भए पनि उनलाई आशीर्वाद दिन्छन् । धन्यवाद व्यक्त गर्छन् ।

पुनको बुझाइमा अहिले सरुवा रोगबारे पढ्ने असाध्यै कम छन् । यसमा धेरै आर्थिक प्रतिफल नहुने भएकाले सबैको ध्यान अरूतिरै छ ।उनलाई चाहिँ सरुवा रोगको उपचार र समाजसेवा उस्तै लाग्छ ।

भन्छन्, ‘संसारभर फैलिएको कोरोना नियन्त्रणका लागि खटिने सरुवा रोगसम्बन्धी डाक्टर नै हुन् । यसमा गाइनो, हाडजोर्नी, जनरल फिजिसियन जोडिन पर्दैन ।’ कोरोना नयाँ रोग भएकाले उनी यससम्बन्धी ताजा तथ्यहरूसँग अद्यावधिक हुन संसारभरका वैज्ञानिकसँग छलफल गरिरहन्छन् ।

डेंगु र कोरोनासँग लड्न टेकु अस्पताल सबैभन्दा अगाडि

सरकारले पनि सरुवा रोगको उपचारलाई त्यति प्राथमिकतामा राखेन ।गंगालाल अस्पताल पछि खुले पनि स्रोतसाधनमा धेरै अघि गयो । टेकु अस्पतालचाहिँ झाडापखाला उपचार गर्ने ठाउँ मात्र हो भन्ने मानसिकता रह्यो । त्यो स्थितिलाई परिवर्तन गर्न उनले ठूलो मेहनत गर्नुपरेको छ ।

अस्पताललाई नयाँ–नयाँ रोगसँग लड्न सक्ने क्षमताको बनाउन धेरै समय लाग्यो । डेंगु र कोरोनाको प्रभावकारी उपचारपछि टेकु अस्पताल धेरैको विश्वासको टेको भएको छ । यहाँ अहिले १ सय शय्या छन् ।

२१औं शताब्दीमा नयाँनयाँ भाइरस चुनौती बनेर थपिँदै छन् । तीसँग लड्न सक्ने टेकु अस्पताल नै भएकाले यसलाई थप प्रभावकारी बनाउनुपर्ने पुनको भनाइ छ । ‘यसका लागि सरकारले देशमै भाइरससम्बन्धी अनुसन्धान गर्ने वातावरण मिलाउनुपर्छ,’ उनले भने ।

पुनले आफ्नो अनुसन्धानबाट नेपालमा चिकोन्मिया भाइरस, लाइनडिजिज भाइरस, पहाडी क्षेत्रमा कालाजार, जारको पानीमा कोलिफर्म भएकोे पत्ता लगाए ।

उनी नेपाललाई यससम्बन्धी अध्ययनका लागि दक्षिण एसियाकै हब बनाउन चाहन्छन् । प्रयास पनि गरे । तर अरूको साथ नपाएपछि रोकिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung