बागलुङ। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व ९सीएसआर० अन्तर्गत काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (केआईओसीएच) लाई ५० लाख रुपैयाँ नगद सहयोग गरेको छ।
बालबालिकाको स्वास्थ्य सेवाको पहुँच विस्तार तथा आवश्यक पूर्वाधार विकासमा सहयोग पुर्याउने उद्देश्यले कम्पनीले उक्त रकम प्रदान गरेको हो।
कम्पनीका अध्यक्ष उदय नेपाली श्रेष्ठको उपस्थितिमा प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहोनीले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका अध्यक्ष डा. भगवान कोइरालालाई एक कार्यक्रमबीच सहयोग रकम हस्तान्तरण गरेका छन्।
बालबालिकालाई गुणस्तरीय, सहज र सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्थापना भएको केआईओसीएच हाल नेपालमा आधुनिक बहुविशेषज्ञ बाल अस्पताल निर्माणको प्रक्रियामा रहेको छ।
संस्थाले बाल हृदय रोग, क्यान्सर उपचार, मानसिक स्वास्थ्य तथा सघन उपचार सेवाजस्ता महत्वपूर्ण क्षेत्रमा विशेष ध्यान केन्द्रित गर्दै आएको छ।
रिलायबल नेपाल लाइफले उक्त सहयोगमार्फत बाल स्वास्थ्य सेवाको विस्तार, आवश्यक पूर्वाधार विकास तथा भविष्यमा हजारौं बालबालिका र परिवार लाभान्वित हुने विश्वास व्यक्त गरेको छ।
कम्पनीले स्वास्थ्य, शिक्षा तथा सामाजिक क्षेत्रलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।
यस सहयोगले संस्थाको सामाजिक प्रतिबद्धता र जिम्मेवारीलाई थप मजबुत बनाउने कम्पनीको भनाइ छ। कम्पनीले आगामी दिनमा पनि सामाजिक तथा मानवीय क्षेत्रमा सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।













































































































































































































